१ फागुन, काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ११औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा बिहीबार दोहोरो उपाधिनजिक पुगेको छ । एक्सेल्सियर यू–१४ र यू–११ उमेरसमूहमा फाइनल पुगेको हो ।
यू–१४ मा एक्सेल्सियर ‘नीलो’ ले आफ्नै ‘रातो’ टोलीलाई ३–२ गोलले पराजित गर्यो । विजेताका साहिलराज थापा, निर्माण घिमिरे र कृष पाण्डेले समान १–१ गोल गरे । एक्सेल्सियर ‘रातो’ का आयाज गोलेले १ गोल फर्काए भने बाँकी गोल आत्मघाती थियो ।
फाइनलमा एक्सेल्सियर ‘नीलो’ को भेट विद्यावाणी पाठशालासंग हुनेछ । विद्यावाणीले काठमाडौं लिङकनलाई २–० गोलले हरायो । विद्यावाणीका प्रज्ज्वल गौतमले दुवै गोल गरे ।
यू–११ मा एक्सेल्सियरले राई स्कुललाई १–० गोलले पाखा लगायो । ओजस पाठकले निर्णायक गोल गरे । एक्सेल्सियरले उपाधिका लागि स्वस्तिश्री गुरुकुलको सामना गर्ने छ । स्वस्तिश्रीले न्यु जेनिथलाई ३–१ गोलले पाखा लगायो । स्वस्तिश्रीका प्रसिन कोइरालाले १ गोल गरे । बाँकी २ गोल आत्माघाती रह्यो । न्यु जेनिथका प्रजेश श्रेष्ठले १ गोल गरे ।
यू–१६ मा बोधीसत्व र रिब्सले उपाधि भिडन्त पक्का गरे । बोधीसत्वले स्वस्तिश्रीको चुनौती ४–२ गोलले समाप्त पार्यो । बोधीसत्वका लाक्पा तामाङले २ तथा निमेश तामाङ र शान्ता तामाङले समान १–१ गोल गरे । स्वस्तिश्रीका दीप खत्री र भैभव ताम्राकारले गोल गरे ।
रिब्सले निःसर्ग वाटिकामाथि ३–१ को जित दर्ता गर्यो । रिब्सका रिसन लामाले २ र आर्यन केसीले १ गोल गरे । निःसर्ग वाटिकाका अक्सिनदास श्रेष्ठले सान्त्वना गोल गरे । यु–९ मा संस्कृतिले एक्सेल्सियरलाई २–१ तथा राई स्कुलले काभ्यालाई २–१ गोल निराश पार्दै फाइनलमा स्थान पक्का गरे ।
त्यसैगरी बास्केटबलको सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक स्कुलले एक्सेल्सियरलाई ५०–३१ तथा भ्याली भ्युले एलआरआईलाई ६१–२५ ले पराजित गर्दै फाइनलमा पुगे । रेडियन्टका सुशनराज न्यौपानेले १७ तथा भ्याली भ्युका गणेशबहादुर विष्टले २९ अंक जोडे ।
सिनियर गर्ल्समा रिब्सले रेडियन्ट पब्लिकलाई ३१–२७ तथा स्वर्णिमले एक्सेल्सियरलाई १६–१० ले हराउदै फाइनल यात्रा तय गरे । रिब्सका निमिशा धामीले १५ तथा स्वर्णिमकी नितिशा महर्जनले १२ स्कोर गरे ।