मकवानपुर । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले पत्रकारिता क्षेत्रमा युवापुस्ताको आकर्षणसँगै चुनौती पनि थप भइरहेको भन्दै यसको सुदृढीकरण अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
शनिबार पत्रकार महासङ्घ मकवानपुरको नियमित कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले पत्रकारहरू व्यावसायिक र जिम्मेवार नहुँदा प्रश्नहरू उठ्न थालेको बताउनुभयो ।
स्वतन्त्रताको नाममा पत्रकारहरूले आफ्नो व्यावसायिकतालाई बिर्सन नहुने भन्दै उहाँले सामाजिक सञ्जाल र न्यु मिडियाहरूको आगमनसँगै पत्रकारिताको प्रकाशन तथा प्रसारणका सामाग्रीहरू कमजोर बनेको बताउनुभयो ।
अध्यक्ष शर्माले कन्टेन्टहरू परिमार्जन गरी आम पाठक तथा दर्शकहरूको आवश्यकता अनुसारको व्यावसायिक पत्रकारिताको आवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले नागरिकहरूमा पत्रकारिता र सामाजिक सञ्जालको फरकपन बुझाउन जरुरी रहेको भन्नुहुँदै नागरिकहरूमा सामाजिक सञ्जालमा लेखेका कुरा र समाचारमा आएका विषयलाई एउटै रुपमा लिँदा थप समस्या भएको बताउनुभयो ।
उहाँले सत्यतथ्य समाचारहरू सम्प्रेषण गरेर जनताको सही सूचना पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष शर्माले पत्रकारहरूको समस्या, हकहित, सेवा सुविधा लगायतका विषयमा बहस गर्ने गरी कार्ययोजना निर्माणको तयारी भएको समेत बताउनुभयो ।