म १३ जून २००० मा थाइल्यान्डको विमानस्थलबाट पक्राउ परें । पाकिस्तानबाट लागूऔषध हिरोइन ७०० ग्राम बोकेर जाँदै गर्दा पक्राउ परेको थिएँ । हिरोइन शरीरमा बाँधेको थिएँ । म पाकिस्तानबाट कम्बोडिया जाँदै थिएँ । बैंकक् ट्रान्जिट थियो ।
पर्यटकीय भिसामा रहेको नेपाली पाकिस्तानबाट कम्बोडिया जान लागेको भनेपछि उनीहरूले शंका गरे । थाई विमानस्थलका अधिकारीले शंका गरेर खानतलासी गरे, मलाई पक्राउ गरियो । म पक्राउ पर्नुअघि लागूऔषध बोकेका अरू नेपाली पनि पक्राउ परेका रहेछन् ।
मलाई एक पटक हिरोइन पुर्याएको १६०० डलर दिने भनेका थिए । पैसा पाउने भएपछि म यो बोक्न तयार भएको थिएँ । थाइल्यान्डको अदालतले मलाई मृत्युदण्डको सजाय तोक्यो । तर, पछि अपराध कबुल गरेपछि मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गरियो । १६ वर्ष ७ महिना जेलमा विताएपछि आममाफी पाएर म छुटें ।
जेलको अवस्था गोठमा गाईबस्तु बाँधेको जस्तो थियो । भाषा, संस्कृति र खानपान नमिल्ने भएकोले अत्यन्तै कठिन हुन्थ्यो । पाँच वर्षसम्म त म पागल जस्तै भएको थिएँ । आफूलाई कन्ट्रोल गर्न सक्ने अवस्थामा थिइनँ । म कसरी यहाँ आएर कस्तो काममा लागें भन्नेमा ‘रिग्रेट’ फिल हुन्थ्यो ।
पछि म जेलमा परेकाहरूलाई सहयोग गर्न थालें । मलाई थाई र अंग्रेजी दुवै आउने हुँदा जेल पर्ने विदेशीलाई सहयोग गर्दथें । जेलभित्रै अनौपचारिक रूपमा दोभाषे काम गर्थें । जेलका साथीहरूका लागि माफीका लागि चिठ्ठीहरू लेखिदिन्थें ।
जेल पर्दा २१ वर्षको म छुट्दा ३७ वर्षको थिएँ । पूरै जवानी जेलमा बित्यो । भरिया बनेर जाँदा राम्रो–नराम्रो कुरा छुट्याउने अवस्था थिएन । शिक्षाको कमीले पनि यस्तो भयो भन्ने लाग्छ । अर्को चाहिं गरिबीले पनि यस्तो बनायो । भरिया भएर जाने सबै मानिसलाई यो जोखिमयुक्त काम हो, पक्राउ पर्दा म मारिन पनि सक्छु भन्ने थाहा नपाएको अवस्था छ ।
जेलबाट छुटेर आएपछि बुबाको नाममा रहेको जग्गा बेचेर १ लाख ५० हजार रुपैयाँ ऋण तिरें । यसमा कमाउने एक दुई जना होलान् तर सबै जस्तोले दुःख पाएका छन् ।
प्रायःजसोलाई पैसाको बारेमा मात्रै थाहा हुन्छ । अर्को कुरा कुन देशमा कस्तो कानून छ भन्ने पनि थाहा हुँदैन । मैले पनि जेलमा पुगेपछि मात्रै सबै कुरा थाहा पाएँ । तर यतिबेला ढिलो भइसकेको थियो । त्यो बेला साथीहरू थिए । लहलहैमा लागियो । पक्राउ पर्नेहरू पनि म जस्तै उमेरका थिए ।
पहिले भारी बोक्नेहरूले केही कमाएर खर्च गरेको पनि देखियो । त्यसले पनि लोभ्यायो । अर्को कुरा विदेश गएको ऋण तिर्नुपर्ने थियो । म पहिला वैदेशिक रोजगारीका लागि साउदी अरब गएको थिएँ । त्यहाँ क्लिनरको काम गर्थें । अंग्रेजी अलिअलि आउने भएकोले सेल्सम्यान बनाए । ६ महिनापछि सुपरभाइजर भएको थिएँ ।
साउदीमा काम गर्दा ५ हजार रियाल दिन्थ्यो । मलाई ५० बढाइ देउन भन्दा पनि मानेन, त्यसमा कुरा मिलेन । झगडा गरेर ९ महिनामा नेपाल फर्किएँ । त्यो समय तलब ३०० रियाल मात्रै थियो । २०५६ सालमा जाँदा ७० हजार रुपैयाँमा गएको थिएँ । त्यो पनि ऋण गरेर । त्यति पैसा तिर्ने एउटा मात्रै उपाय भरिया भएर जाने हो भन्ने भयो ।
ऋण तिर्ने होइन कि झण्डै ज्यानै गुमेको । जेलबाट छुटेर आएपछि बुबाको नाममा रहेको जग्गा बेचेर १ लाख ५० हजार रुपैयाँ ऋण तिरें । यसमा कमाउने एक दुई जना होलान् तर सबै जस्तोले दुःख पाएका छन् । कमाउनेलाई पनि कुन समयमा पक्राउ पर्छु वा मारिन्छु भन्ने डर भइरह्यो ।
जेलबाट छुटेर आउँदा समाजले स्वीकार गर्ला कि नगर्ला भन्ने ठूलो चिन्ता थियो । जेलमा रहँदा थाई वा अंग्रेजी भाषाको प्रयोग हुन्थ्यो । आफ्नो भाषा पनि बिर्सिन्छु जस्तो हुन्थ्यो । बिहे भएको थिएन । छुटेर आएपछि बिहे गरें । अहिले छोरी छ ।
पछिल्लो ६ महिनादेखि गाउँकै खानेपानीमा अपरेटरको काम गरिरहेको छु । त्यसले दुई वटा वडामा खानेपानी दिन्छ । श्रीमती सहकारीमा काम गर्छिन्, पैसा धेरै नभए पनि जीवन चलेको छ । त्यो बेला गल्ती भयो । अरू मानिस पनि यस्तो कुलतमा नफसुन् भनेर म त मानिसहरूसँग कुरा गर्छु । म त बिग्रिएँ बिग्रिएँ, अरू नबिग्रिउन् भन्ने मलाई लाग्छ । लागूपदार्थको भरिया भएर विदेशमा कोही पनि नमारिउन् भन्ने लाग्छ ।
(२४ वर्षअघि लागूपदार्थ बोकेको अभियोगमा थाइल्यान्ड विमानस्थलबाट पक्राउ परेपछि मृत्युदण्डको फैसला भएकोमा त्यसलाई आजीवन कारावासमा परिणत गरिएपछि १७ वर्ष जेल बसेर नेपाल फर्केका तामाङसँग मणि दाहालले गरेको कुराकानीमा आधारित ।)