काठमाडौं । नेपाल प्रहरीका दुई एसपीमाथि गम्भीर प्रकृतिको घटनामा छानविन अघि बढेको छ ।एसपी कमल थापा र नवराज कार्कीमाथि छानविन अघि बढेको हो ।
एसपी थापाको हनि ट्रयापिङ गिरोहसँग साँठगाँठ देखिएको छ भने एसपी कार्कीले क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाउने गिरोहसँग पैसा असुल्ने गरेको प्रमाण भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी प्रमुखका रुपमा उनले बदमासी गरेका हुन् । उनलाई त्यहाँबाट हटाएर छानविन सुरु भएको छ ।
एसएसपी भिमप्रसाद दाहालको नेतृत्वमा छानविन सुरु भएको छ । इन्स्पेक्टर विक्रमबहादुर भट्टराईमार्फत उनले पैसा असुलेको पुष्टि भइसकेको छ ।सो कुरा भट्टराईले स्वीकार गरिसकेकाले यसमा एसपीको समेत जागिर जाने देखिएको छ।साथै एसपीले खटाएका घुमुवाहरु हवल्दार राजकुमार श्रेष्ठ र खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर छानविन सुरु भएको स्रोत बताउँछ ।एसपी थापालाई पनि अख्तियारबाट हटाइएको छ । ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलिएको घटनामा एसपी थापा मुछिएका हुन् ।
सो गिरोहका नाइके ताज इस्लामसँग उनको निकटतम सम्बन्ध देखिएको छ ।उनै एसपी थापाले भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीलाई चिनजान गराएर पैसा असुल्न सघाएका थिए ।पैसा असुलिएकै दिन इस्लाम र एसपी थापाबीच आधा घन्टा गोप्य भेटघाट भएको प्रहरी छानविनमा खुलेको छ ।इन्सपेक्टर शाही अझै फरार रहेकाले पनि एसपी थापामाथिको अनुसन्धान अघि बढ्न सकेको छैन ।ललितपुर प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । विस्तृतमा छानविन र कारबाही भएमा दुवै एसपीको जागिर जाने केस रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
अनलाइन नेपाल