काठमाडौं । ‘डोली’ रिलिजको ५ वर्षपछि अभिनेता पृथ्वीराज प्रसाईं फिल्ममा कमब्याक गर्दैछन् । उनको पछिल्लो फिल्म ‘इश्वर’ साउन ११ गतेदेखि प्रदर्शन तयारीमा छ ।
राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा देखिँदैछन् । ‘ग्रे’ चरित्रमा उनी प्रस्तुत छन् । पारिवारिक कथावस्तुको यो फिल्ममा उनले सहरमा बसेर गाउँ फर्किएको युवाको भूमिका निर्वाह गरेका छन् ।
उनको अपोजिटमा अभिनेत्री अनु शाह चित्रित छिन् । अनुसँग प्रसाईंले केही भिडियोमा सहकार्य गरेका छन् । तर, फिल्ममा यी दुईको पहिलो सहकार्य हो ।
‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि फिल्ममा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्यौं’ उनी सुनाउँछन् । ‘इश्वर’मा उनले पहिलोपटक यस्तो खाले पात्र निर्वाह गरेका हुन् ।
‘यो क्यारेक्टर यसभन्दा अघि मैले गरेको थिइनँ । स्क्रिप्ट पढें अनि सिधै फ्लोरमा गएर काम सुरु गरें’, प्रसाईं भन्छन् ।
‘डोलीपछि म आफ्नै व्यवसायिक काममा व्यस्त थिएँ । घर, व्यवसाय र जिममै समय बिताएँ । तर अफर आयो भने चाहिँ फिल्ममा काम गर्छु भन्ने सोच थियो’, उनी सुनिए ।
उनलाई कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा छ । ‘किस्मत २’मा एक्सन, ‘मंगलम’मा फ्यामिली ड्रामा र ‘वीरंगना’मा एक्सन भूमिका गरे । डोलीमा एउटा कन्टेन्टमा काम गरियो । अब कमेडी जनरामा काम गर्ने मन छ’, उनी भन्छन् ।