काठमाडौँ / बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ। गत जेठ २४ गतेको मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स स्थानान्तरणका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनौटका लागि इओआई निकाल्ने गरि तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिए।
२०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो। त्यसलगत्तै हेडबक्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो।अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधै पहिरो बगिरहने ठूलो पहाड रहेको छ। विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनहरुले हेडवक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ।
दातृ निकाय एशियाली विकास बैंकले २ वर्षअघि नै हेडबक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भएपनि सरकार ले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक हेडबक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन। हेडबक्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रवन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्श पछि आयोजनाले हेडबक्सलाई झन्डै १ हजार मिटर माथि सार्ने भएको हो।
दुईवटा पहाडका बीच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्त भित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिए।
उनले भने, ‘अहिले हामीले अल्टरनेट डाईभर्सन टनेलबाट हिउँदको समयमा काठमाडौंमा पानी पठाउने काम गरिरहेका छौँ। यो २०७८ सालको बाढी पछि सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते भरिएको हो। यहाँ देखिएको टावरभएको क्षेत्र हेडबक्सको क्षेत्र हो। यहाँको पारी पटी बगिरहने पहिरो छ। त्यसैले यही स्थानमा हेडबक्स बनाएर काठमाण्डौमा दिर्घकालिन रुपमा पानी लगिरहने अवस्था देखिँदैन। बाढी ल्याएर ठूलो गेग्राान थुपारेकाले यसको तहमा आईपुग्न ५ किलोमिटर देखि नदीको च्यानल खोल्दै ल्याउनुपर्ने हुन्छ र यसका लागि असाध्यै धेरै लगानी गर्नुपर्ने हुन्छ। तर पछि माथिबाट आउन सक्ने गेग्रान र देब्रेसाईटमा रहेको निरन्तर पहिरो आईरहेन पहाडका कारण जो जोखिम रहित हुनसक्ने अवस्था देखिदैन। त्यसैले यसका लागि नेपालका विज्ञ,प्रोफेसर लगायत संग हामीले परामर्श गरेका छौ।’
उनले थपे, ‘त्यसैले हेडबक्सलाई ८ सय मिटर देखि १ हजार मिटरको दूरीमा र दुवै पट्टी रक भएको स्थानमा टावर इन्टेक बनाएर टनेल भित्र नै संरचना बनाएर १२ महिना काठमाण्डौ पानी पठाउन सक्छौँ। हेडबक्सलाई सुरक्षित क्षेत्रमा स्थान्तरण गर्न मन्त्रीपरिषद् बैठकले पनि सैद्धान्तिक सहमति दिने भन्ने निर्णय भएकाले अहिले हामीले हेडबक्स सार्ने कामका लागि अन्तराष्ट्रिय परामर्श दाताहरु छनौट गर्ने प्रक्रियामा इओआई निकाल्दै छौ। हेडबक्स सार्नका लागि विस्तृत अध्ययनका लागि परामर्श दाताहरुहरुको छनौट प्रक्रियामा अघि बढ्दछौँ।’
पुरानो हेडबक्स भन्दा झन्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडबक्सका लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ। असार भित्रै हेडबक्सको डिपिआरका लागि परामर्शदाता छनौट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा ४ वर्ष भित्र हेडबक्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ।