२०८१ चैत्र २९ गते, शुक्रबार १६:०५

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले बाल सुधार गृहहरूमा तत्काल स्वास्थ्य कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिका रहेको र उनीहरू मानसिक र शारीरिक रुपमा अस्वस्थ भएको भन्दै त्यसको उचित व्यवस्थापन गर्न  सरकारको ध्यानाकर्षण गराएपछि समितिले  सरकारले सञ्चालन गरेका ९ वटै बाल सुधार गृहमा तत्काल स्वास्थ्यकर्मी पठाउन निर्देशन दिएको हो । 

समितिले बाल सुधार गृहमा रहेका बालबालिकालाई सफा पिउने पानीको प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । 

बैठकमा सांसदहरुले बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राखिएको, राम्रो खानेकुरा र पानी नपाउँदा उनीहरू बिरामी परेर मानसिक अवस्थासमेत कमजोर भएको भन्दै त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्नुभयो । 

बैठकमा गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले बालबिज्याँईका मुद्दामा फैसला भइसकेका १८ वर्षभन्दा माथिका  एकसय आठ जना बालबालिकालाई छुट्टै राखिएको जानकारी दिनुभयो । 

स्थान अभावका कारण बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिका राख्नुपरेको बताउँदै गृह प्रवक्ता भट्टराईले तनहुँ, नुवाकोट र मोरङमा सरकारले थप सुधारगृह निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । 

त्यसैगरी कारागार व्यवस्थापन विभागका महानिर्देशक काशी राज दाहालले बसोबासको समस्याका कारण सुधार गृहमा रहेका बालबालिकामा आपराधिक मनोभावना वृद्धि भएको बताउनुभयो । 

हाल देशभर सरकारले सञ्चालन गरेका नौवटा बाल सुधार गृहहरूमा १ हजार २ सय ४६ बालबालिका रहेका छन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्