काठमाडौं । गृहमन्त्रालयले आधा दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा निकालेको छ । कामचलाउ सरकारका चुनावमा पराजीत गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा प्रजिअहरुको सरुवा गरिएको हो । खाँणका सल्लाहकार भएर पनि मन्त्रीलाई सल्लाह नै नदिई आफ्नै दुनो सोझ्याउँदैआएका सुनिल खनालले यो सरुवामा पनि तर मार्न सफल भएका छन् ।
खाँणले मन्त्री बनेलगत्तै हालका बागमती प्रदेशका प्रमुख सचिव(सहसचिव हुँदा) मुकुन्द निरौलाललाई पन्छाएर खनाललाई गृहको महत्वपूर्ण मानिने प्रशासन महाशाखाको प्रमुख बनाएका थिए । ब्रान्डेड कांग्रेस भनेर केपी ओली सरकारबाट खेदाईमा परेका भन्दै बिलौना गर्दा पनि निरौलाको जोड चलेन । उनी वातावरण विभागको महानिर्देशकमै सीमित रहे । गृहमन्त्री खाँणको नकारात्मक सूचीमा रहेका निरौलालाई पछि बाध्य सचिव बढुवा हुने समयमा गृहमा भित्र्याएर शान्तिसुरक्षा महाशाखाको जिम्मेवारी दिइएको थियो ।
शान्तिसुरक्षा महाशाखा प्रमुख प्रवक्ता हुने प्रचलन पनि निरौलाकै कारण तोडिएको थियो । मन्त्री खाँणको रोजाइमा नहुँदानहुँदै पनि निरौला भने गृहप्रशासन आफैंले चलाएको जस्तो रवाफ देखाउने गरेका थिए । त्यस्तो अवस्थामा गृह छिरेका खनालले भने आउनेवित्तिकै श्रीमती सुप्रभा खनाललाई काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिल बनाए । भाइ अनिल खनाललाई सोलुखुम्बुको प्रजिअ बनाउन सफल भएका थिए । भरखरै शाखा अधिकृतबाट बढुवा भएर गृह मन्त्रालय प्रवेश गरेका अनिल खनाललाई सुनिलकै जोडबलमा सोलुखुम्बु पठाइएको थियो । जसका कारण कांग्रेस निकट बरिष्ठ उपसचिवहरु नै चिढिन पुगेका थिए ।
कर्मचारी प्रशासन महाशाखामा रहँदै सुनिल खनाल अनिवार्य अवकाश पाएसँगै खाँणले उनलाई सल्लाहकारमा नियुक्ति दिए । आफ्नो राजनीतिक नियुक्तिसँगै श्रीमतीलाई काठमाडौंको सहायक प्रजिअ, भाइलाई सोलुको प्रजिअ बनाउन सफल भएका खनालले त्यहाँ रहँदा मन्त्री खाँणलाई असल सल्लाह कुन दिन दिए, त्यसको अभिलेख उनैसँग पनि छैन । आफ्नै स्वार्थमा मग्न खनालले गठबन्धनमा आवद्ध दलनिकट कर्मचारीहरु कसैलाई पनि केही सहयोग गरेको भन्नेहरु अहिले कहीँ कतै भेटिंदैनन् ।
खनाल जस्तालाई काखी च्यापेका गृहमन्त्री खाँणले आफ्नै जिल्लाका बहुसंख्यक कांग्रेस नेता कार्यकर्तासमेत रुष्ट पार्ने काम गरे, फलस्वरुप दीपक बोहरा जस्ताले नबोली नबोली हराइदिए । मन्त्रीको कार्यकाल सकिन लाग्दा उनै खनालले अर्को तमासा देखाएर खाँणलाई विवादमा पार्ने काम गरेका छन् । श्रीमती सुप्रभालाई काठमाडौंको सहायक प्रजिअबाट झिकेर आकर्षक मानिने मनाङको सीडीओ बनाउन सफल भएका छन् । भाइ अनिललाई सोलुबाट झिकेर उनकै रोजाइमा इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङमा सरुवा गरिएको छ ।
अब कार्यकालको अन्तिममा खनालले अझै के के काम गर्न लगाएर मन्त्रीलाई विवादमा पार्ने हुन् भन्ने चिन्ता गृहका कर्मचारीमा छ । थोरै र मिठो बोलेर प्रभावमा पार्ने खुबी भएका खनालले गृहमन्त्री खाँणको कार्यकालभरी कुनै भाषण लेखिदिएको र हेरिदिएको रकेर्डमा नभएको गृहस्रोत बताउँछ ।