Tuesday, November 26, 2024
घरसमाचारअपराध नियंत्रण गर्न प्रहरीलाई तालिम आवश्यक: गृहमन्त्री बालकृष्ण खाण

अपराध नियंत्रण गर्न प्रहरीलाई तालिम आवश्यक: गृहमन्त्री बालकृष्ण खाण

निकाभ्रेपलाञ्चोक/गृहमन्त्री बालकृष्ण खाणले समाजमा नयाँ-नयाँ अपराध र आपराधिक प्रकृतिहरूको विकास भइरहेको र शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको दायरा समेत फराकिलो हुँदै गईरहेको अवस्थामा यस्तो परिवेश र परिस्थितिसँग जोडिएर आउने सुरक्षा र आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ ।

भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतिस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उक्त कुरा बताउनुभएको हो । समारोहमा गृहमन्त्री बालकृष्ण खाण तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना काभ्रेको भूमि पूजन गर्नुभएको थियो ।

सम्बोधनको क्रममा गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका अपराधहरूको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने र देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण र जटिल जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न गुणस्तरीय प्रशिक्षण महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षणको माध्यमद्वारा प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी समग्र प्रहरी संगठनको क्षमता विकास हुने र समष्टिगत रुपमा सिंगो संगठनको उत्पादकत्व वृद्धि हुने बताउनुभयो । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने उक्त प्रतिष्ठानले दक्ष र सक्षम प्रहरी जनशक्ति उत्पादन गरी जनअपेक्षा बमोजिम गुणस्तरीय र भरपर्दो प्रहरी सेवा प्रदान गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपाल प्रहरीको तालिमको गुणस्तर वृद्धि गरी नेपाल प्रहरीका अधिकृतहरूलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन मद्दत गर्नुका साथै नेपाल प्रहरीमा सकारात्मक परिवर्तनको लागि महत्वपूर्ण सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाणले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि निरन्तर सौहार्द र सुमधुर रहेको, दुवै राष्ट्रबीच राजनीतिक, व्यापारिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत हेरक क्षेत्रमा साथ र सहयोग रहेको चर्चा गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने कार्यमा भारतीय सहयोगमा निर्माण हुन गइरहेको परियोजनाले इँटा थप्ने कार्य गरेको उल्लेख गर्नुभयो । यस परियोजना नेपाल प्रहरीको लागि एक गौरवशाली र महत्वपूर्ण परियोजनाको रूपमा रहेको बताउँदै उहाँले परियोजना सम्पूर्ण निर्माण कार्य समय सीमाभित्रै सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । साथै यस परियोजना निर्माणमा सहयोगको लागि भारत सरकार, भारतीय दूतावास काठमाडौं, स्थानीय सरकार, सम्बद्ध अन्य निकाय तथा पदाधिकारीहरू र स्थानीयबासीलाई धन्यवाद दिँदै परियोजनामा आवद्ध निर्माण व्यवसायी कम्पनीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच राम्रो सम्बन्ध रहेको चर्चा गर्दै नेपाल र भारतबीच भौतिक संरचना निर्माण लगायत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत आपसी सहयोग हुँदै आएको बताउनुभयो । यस परियोजना निर्माण पनि भारत र नेपालबीचको आपसी सहयोग र सम्बन्धको उदाहरण रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट संचालन हुने विभिन्न तालिमहरू तथा आवश्यक प्रविधिको सहयोगको लागि भारतीय दूतावास सदैव तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य नेपाल प्रहरीको ड्रिम प्रोजेक्टको रूपमा रहेको बताउनुभयो । साथै उहाँले आधुनिक भौतिक संरचनाको अभावले अन्तर्राष्ट्रिय स्तरको तालिमहरू संचालन गर्न नसकिएको उल्लेख गर्दै यस परियोजना निर्माण पश्चात अन्तर्राष्ट्रिय स्तरको तालिमहरू समेत संचालन गर्नमा यस परियोजना कोसेढुंगो सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

२५ नोभम्बर २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा भएको MOU र भर्चुअल माध्यमबाट गरिएको शिलान्यास कार्यक्रम विभिन्न चरणमा हुँदै कार्यान्वयनको अवस्थामा आइपुगेको हो । Central Public Works Department (CPWD) Govt. of India सल्लाहकार रहेको उक्त परियोजना सन् १२ जुलाई २०२५ सम्ममा अनुमानित १० अर्ब १ करोड ५१ लाख १ रूपैयाँ लगातमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख, धुलिखेल नगरपालिकाका प्रमुख, पनौति नगरपालिकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, धुलिखेल, बनेपा तथा पनौति नगरपालिकाका उपप्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, भारतीय राजदूतावासका पदाधिकारीहरू,काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -