चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १८ माघ ।
सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले बाराबाट दुई लाख ९६ हजार नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।
रौतहट मौलपुर नपा वडा नं. ७ पिपरिया बस्ने ३२ वर्षीय युवा किशोरी साहलाई सो परिमाणको नक्कली नोट सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।
डीआईजी मगरले चन्द्रसूर्य वाणीलाई दिनु भएको जानकारी अनुसार मंगलवार साँझ ५ बजेको समयमा बाराको सिम्रौनगढ़ नयका टोला बजारदेखि हरपुर जाने बीच सड़क खण्डमा बोर्डर आउट पोस्ट गोलागंजबाट सशस्त्र प्रहरी नायब निरीक्षक हिमलाल कुमालको कमाण्डमा खटिएका ५ जना, छिन्नमस्ता बहिनीबाट सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार अशोक कुमार सुनारसहितको ५ जनाको स्क्वाड टोली र इलाका प्रहरी कार्यालय सिम्रौनगढ़का प्रहरी नायब निरीक्षक महानन्द कुर्मीको कमाण्डमा ७ जनाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ना२५प १९७८ नम्बरको यामाहा मोटरसाइकिलमा सवार किशोरी साहको साथबाट नेपाली १ हजार दरको २९६ थान नक्कली नोट र १२ हजार १ सय ४५ रुपियाँ सक्कली नोट बरामद गरिएको थियो ।
बरामद मोटरसाइकल, नक्कली र सक्कली नोट सहित पक्राउ परेका युवक किशोरीलाई आवश्यक कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ़मा बुझाईएको डीआईजी मगरले बताउनु भयो ।