उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अचानक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको समाचारले राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । मन्त्री पोखरेल शुक्रवार बिहान निर्मल निवास छिरेको पुष्टि भएपनि उनले शाहसँग भेट गरेको वा नगरेको प्रमाणित गर्न दुवै पक्षले आनाकानी गरेका छन् ।
श्रोत भन्छ, ‘ निर्मल निवास छिरेको पक्का हो, भेट भयो वा भएन भन्ने आफै पत्ता लगाउनुस । पोखरले निर्मल निवास त्यत्तिकै घुम्न गएका होलान र ? ’
पूर्व प्रधानमन्त्री एवम नेकपा अध्यक्ष पुष्पकमल दाहाल पारिवारिक भ्रमणका नाममा दुबई गएपनि उनको भ्रमणलाई विदेशीसँगको भेटघाटको योजना अन्तर्गत लिइएको छ । विश्लेषक भरत दाहालका अनुसार प्रचण्डलाई विदेशीले केही मुद्दामा कसम खुवाएपछि सिंगापुरमा प्रधानमन्त्री केपी ओलीसँग अर्को बैठक हुनेछ । प्रधानमन्त्रीले स्वास्थ्य उपचारसँगै विदेशीसंग पनि भेटघाट गर्नेछन् ।
यहीबेला ईश्वर पोखरेल किन निर्मल निवास छिरे ? कि त्यसक्षेत्रको जनप्रतिनिधि भएकाले जनताको हालखबर बुझ्न पसे त ? यो प्रश्नले नेकपा भित्रै हल्लीखल्ली मच्चिएको छ । केही कार्यकर्ताले नेकपा ‘होशमा आउ’ भन्दै स्ट्याटस पनि लेखेका छन् ।
पछिल्लो केही समययता मुलुकमा विदेशी चलखेल निकै तीव्र भएको र यसले राजनीतिक परिवर्तनको स्पष्ट संकेत गरेको छ । यहीबेला भारतीय विदेशमन्त्री जयशंकर भदौमा नेपाल आउने हल्लाले सनसनी मच्चाएको छ । यहाँको सरकार, राजनीतिक दल र तिनका नेताहरुमा त जयशंकरको नामले नै भूकम्प ल्याएको छ । हुनपनि संविधान जारी गर्नुअघि नेपाल भ्रमण गर्दा उनले जे जस्तो हर्कत देखाए त्यसले यत्तिको तरंग ल्याउनु स्वाभाविक हो । उनकै भूमिकापछि भारतले अघोषित नाकाबन्दी पनि लगायो ।
केही हप्ता अघि भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समन्त गोयलको काठमाडौं भ्रमण र उनको गोप्य भेटघाटले राजनीतिक वृत्त तरंगित भयो । सरकारका प्रवक्ता गोकुल बास्कोटा पत्रकार सम्मेलन गरेरै प्रधानमन्त्रीसँग गोयलको भेट नभएको भन्न बाध्य भए । यद्यपी, प्रधानमन्त्री र गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमै भेट भएको लगभग थाहा भैसकेको छ ।
यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पनि विज्ञप्ती जारी गरी शाह र गोयलबीच भेट नभएको भनी सफाइ दिनुपर्यो । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफनै निवासमा भेटेको कुरालाई खण्डन नगरेपछि त्यो स्वतः सिद्ध भयो । कांग्रेस सभापति शेबहादुर देउवाले पनि गोयलसँग विशेष भेट गरेका थिए ।
निकै गोप्य रुपमा चीनका अधिकारीहरु पनि आन्तरिक भेटघाटमा व्यस्त भएको बुझिएको छ । खासगरी नेपालमा हिन्दु राष्ट्र स्थापना, संघीयताको खारेजी र राजसंस्थालाई भूमिका दिन भारत र चीन एकै ठाउँमा उभिएका छन् । यो कुरालाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पटक–पटक भन्दै आएका छन् ।
यस्तै, सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद डा. सुब्रमण्यन स्वामीले केही दिनअघि नेपाल हिन्दुराष्ट्र हुनुपर्ने भन्दै भारत सरकारको चाहना काठमाडौंमै प्रकट गरिसकेका छन् । उनले विश्व हिन्दु संघ र वल्र्ड हिन्दु फेडरेसनले गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा यो कुरा स्पष्टसंग भनेका थिए ।
केही घन्टाका लागि मात्र काठमाडौँ आएका डा. स्वामीले गोष्ठीमा आफ्नो ‘कि नोट’ मन्तव्यलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेका थिए । डा. स्वामीले नेपालको इतिहाससँगै उसको भौगोलिक अवस्थितिका कारण र भारत तथा चीन पनि सकारात्मक रहेको वर्तमान अवस्थामा नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताएका थिए ।
पहिले हिन्दु राष्ट्र र त्यसपछि राजसंस्थाको स्पेसको बहस चलाउने योजनामा भारत र चीन रहेका छन् । नेपालमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताले पश्चिमा चलखेल बढेको र त्यसले दुवै मुलुकलाई क्षति पुर्याउन थालेको निष्कर्षमा भारत र चीन पुगेका छन् ।
यसैबीच, भारतीय विदेशमन्त्री जयशंकर आउँदो महिना चीन भ्रमणमा पनि जाने भएका छन् । सो भ्रमणमा नेपाल मामिलामा पनि कुरा हुने निश्चित छ । जयशंकरको चीन भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जानेछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र मोदीबीचको भेटले नेपालको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता उल्टिनसक्ने अनुमान धेरैले गरेका छन् ।
नेपालमा पश्चिमा गतिविधि निकै तीब्र भएपछि आ–आफनो सुरक्षा मामिलामा भारत र चीन निकै गम्भीर भएका छन् । नेपालमा पश्चिमा गतिविधि धर्मनिरपेक्षता र संघीयतामा माध्यमबाट फैलिरहेकाले सबैभन्दा पहिले यसलाई रोक्नुपर्ने उनीहरुको निष्कर्ष छ । राजनीतिक दलका नेताहरुमा पनि पश्चिमा प्रभाव बढेको उनीहरुको बुझाइ छ । खासगरी नेकपा पार्टीका नेताहरु, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पश्चिमाले विभिन्न प्रलोभन देखाएर प्रयोग गर्न खोजेका छन् । अझ ‘इण्डो प्यासिफिक स्ट्राटिजी’ मा अमेरिका आक्रामक ढंगले आएपछि नेपालमा आफनो नियन्त्रण बढाउन भारत र चीनलाई बाध्यता परेको हो ।
चीनलाई तिब्बत तथा हङकङमा बढिरहेको अस्थिरताले टाउको दुखिरहेको छ भने भारत सरकार (भाजपा) ले हिन्दुत्वलाई प्राथमिकता दिएको छ । यो अर्थमा राजसंस्थालाई भूमिका दिने प्रयास उनीहरुको छ ।
अहिले नेपालमा पूर्वराजा शाहले विभिन्न तह र तप्काका मानिसहरुसँग एक–एक गरी भेट गरिरहेका छन् । भेट गर्ने सबैले शाह र राजसंस्थाको बारेमा सकारात्मक कुरा गरिरहेका छन् । प्रमुख नेताहरु विदेशीलाई भेट्न विदेश हानिएका बेला शाहले आन्तरिक भेटघाट तीब्र पार्नु ‘केही न केही पाकिरहेको छ’ भन्ने कुराको प्रष्ट संकेत हो । अझ, रक्षा मन्त्री नै भेटका लागि गएपछि त प्रश्न उठ्ने नै भयो, ‘गणतन्त्र चल्ला कि नचल्ला ? ’
साभार: नेपाल आज