मंगलबार दिउँसोपख ललितपुर लबिम मल पल्लोपट्टि छङछङ गर्ने कृत्रिम पानीको फोहोरा वरपर कोही परालको गुन्द्रीमा बसेका थिए, कोही भुइँमा ।
कोही फोटो खिच्दै थिए त कोही चिया पिउँदै । पानीको फोहोरा छेवैमा बसेका एकजना कल्साउँरा अधबैंसेका आँखा भने मनपखेटाले बेलाबेला भुर्रभुर्र उड्थे । घरी शहरका अग्ला घरमा उक्लन्थे घरी लबिम मलमा । घरी हतारमा हिँडेका मानिसमा त घरी घरीघरी चिल्ला र चिप्ला सवारीमा सवार मानिसमा लरक्क लर्कन्थे ।
पत्नी, साढुभाइ र भतिजी भने कुनै बेला राजधानीको चिनो चियाउन होला कि भन्ठानेर फोटो सेसन गर्दै थिए ।
अन्तरजातीय बिहे गरी राजधानी पसेका उनका साली र साढुभाइ दम्पतीका पाइला पोहोरमात्र आफ्नो गाउँ फर्केका थिए । त्यो पनि छोराछोरीको नागरिकता बनाइदिन ।
‘पेट र नशाको समस्या छ, यसपालि त एन्जाइटी पनि थपिएछ । चाहेको कुरा पूरा नहुँदा यस्तो एन्जाइटी भन्ने भयो भने । म फलोअपमा आएँ,’ कल्साउँरा मानिसले रोल्पाको उत्तरी गाउँ भालुकोटबाट राजधानीसम्मको यात्रामेसो लगाए । माओवादीले घोराहीस्थित सेना ब्यारेक कब्जा गरेपछि माओवादी पछ्याउँदै रोल्पामा पुगेको सरकारी सेनाले लखेट्दा उनको देब्रे गोडाको गाँठा लर्केको थियो । मौलाबोटमुन्तिर जामासी भीरमा कसरी लडेको थिएँ भनेर उनले सम्झिए पनि ।
त्यसपछि उनले पत्नीको स्वास्थ्य सुनाए ।
‘रुकुम महतमा डिएसपी ठूले राईलाई माओवादीले कब्जा गरे, छिमेकी गाउँ मेरो गाउँ भालुकोटमा ठुले खोज्दै पुलिस आएछ । बा र बड्डीलाई पुलिसले कुट्नु कुट्यो । दुई/अढाइ घण्टा कब्जा गर्यो । शारीरिक र मानसिक यातनाले होला, बड्डीको मुटुको समस्या छ ।’
छड्केधुरीको काखमा रहेको भालुकोट पल्लोपट्टि रुकुम चुनबाङ थियो, अझ पल्लोपट्टि रुकुम महत ।
२०५२ मा माओवादीले जनयुद्ध थाल्दा उनको जुँगाका पनि रेखी बस्न थालेका थिए । आफ्नै गाउँका शिक्षक कमरेड जुनकिरी (जनक खड्का) ले एक दिन उनलाई माओवादी बनाए । मोहवीर बिक भए, कमरेड केशव । जनयुद्ध सुरु भएको एक वर्षपछि डब्लुटी (पूर्णकालीन) भूमिगत माओवादी भए । संगठनमा काम गरे । जनमिलिसिया भए । आरएचक्युमा काम गरे । किसान, सूचनासञ्चार, व्यवस्थापनमा काम गरे ।
एक दिन उनको एचक्यु (हेडक्वाटर, माओवादीको हेडक्वाटर भनेको प्रचण्ड) भारतविरुद्ध सुरुङयुद्ध गर्ने भनेर भारतबाट रोल्पा पस्यो । त्यसपछि बाह्रबुँदे बाटो खन्न प्रचण्ड भारत नजाँदासम्म एचक्युको भान्से भए ।
‘हामीजस्ता गरिब र दलितका दिन आउला भनेर जनयुद्धमा लागेको हो । फर्केर उही संसदीय व्यवस्थामा आइयो । पहुँच हुनेको मात्र यो व्यवस्था भयो,’ कमरेड केशव (४६) ले भने । जनयुद्ध सम्झौतामा नटुंगिएको भए के हुन्थ्यो होला ? एकछिन गम खाए । त्यसपछि थपे, ‘वार कि पार गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । कि सिद्धिन्थ्यौँ होला कि सोचेको व्यवस्था आउँथ्यो । यस्तो त हुन्नथ्यो ।’
माओवादी सैद्धान्तिक रूपमा जात-भात नमान्ने पार्टी थियो । तर अहिले उनलाई म भान्से दलित थिएँ भन्ने कुरा एचक्युलाई थाहा थियो कि थिएन ? आशंका छ ।
‘म बिक हुँ भन्ने त थाहा थिएन । म त कमरेड केशव थिएँ नि । छुवाछुतलाई मान्ने कमरेडहरूले पनि म बिक भन्ने थाहा पाएनन् होला । म बिक हो भन्ने सीएमलाई थाहा नहुन सक्छ । बिक हो भन्ने उहाँहरूलाई थाहा नहुन सक्छ वा थाहा भएर पनि जनयुद्धको रापतापको परिस्थिति थियो त्यसबेला,’ उनले भने ।
आठ वर्षअघि उनै मोहवीरले उनको गाउँ नजिकैको गोरीचौरमा प्रचण्डको भान्साबारे बयान गरेका थिए ।
त्यसबेला उनी एचक्युको भान्से भएका थिए जुन बेला प्रचण्ड ‘भारतविरुद्ध सुरुङयुद्ध’को नारा दिई भर्खरै भारतबाट रोल्पा पसेका थिए । टाकुरा र अग्ला डाँडामा सुरुङ खन्ने काम तीव्र थियो । ‘एक घर, एक छापामार’ नारा जवान थियो । ‘संगठनका कमरेड सेनामा जाने’ पार्टी निर्देशनले माओवादी भित्रै खैलाबैला मच्चिएको थियो ।
यो थियो, २०६० तिरको कुरा ।
प्रचण्ड नेपाल फर्केलगत्तै असोज या कात्तिक महिना हो भनी सम्झँदै उनले सुनाएका थिए ।
दुई शब्द लेख्नपरे या बोल्नपरे पनि माओवादी नेता/कार्यकर्ताले प्रचण्डको भनाइ उद्धृत गर्नुपर्ने याममा कमरेड केशव सीएमको भान्से भएका थिए । सीएम भनेको चेयरम्यान हो । माओवादीमा एचक्यु, सीएम शब्द खुबै चल्तीमा थियो ।
कमरेड केशव कसरी प्रचण्डको भान्से छानिए ? न खाना पकाउन तालिम लिएका थिए न त सिप नै थियो । अहिलेसम्म यसको उत्तर उनले खोजेका छैनन् ।
व्यवस्थापन विभागमा कमाण्डर कमरेड विजय (रोल्पा पाछाबाङका नन्दबहादुर बुढामगर) थिए । भान्सामा पाँच जना- रोल्पा तेबाङका कमरेड दिलिप, रोल्पा जेलबाङका कमरेड ढुंगाना, रोल्पा कुरेलीका कमरेड साभार र रोल्पा कोटगाउँका कमरेड दिनेश ।
नाम मात्र व्यवस्थापन विभाग थियो, काम भने सञ्चारदेखि सुरक्षासम्म थियो । कहिले त कम्ब्याट ड्रेस लगाएरै पकाउँथे । भान्से भएर जाँदा कमरेड केशव जनमुक्ति सेना सेक्सन कमान्डर थिए ।
पाक्थ्यो, एचक्यु सुरक्षाका लागि खटेको तुलसी डाँगी (कमरेड मिलन) को सेक्सनसहित सीएम, मेडम (सीता दाहाल), प्रकाश र नन्दकिशोर पुन पासाङका लागि खाना ।
रोल्पाका विभिन्न ठाउँमा ‘सेल्टर’ फेर्दै जाने प्रचण्डसँगै कमरेड केशवको विभागले भान्सा पनि बिरालोले बच्चा सारेजस्तै सर्थ्यो।
कमरेड केशव कसरी प्रचण्डको भान्से छानिए ? न खाना पकाउन तालिम लिएका थिए, न त खास सीप नै थियो । अहिलेसम्म यसको उत्तर उनले खोजेका छैनन् । प्रचण्ड दम्पती र प्रकाशलाई त्यसबेला कमरेड केशव बिक हुन् भन्ने थाहा थियो कि थिएन ? उनले कसैलाई सोधेका छैनन् ।
‘पहिलो दिन कुखुराको मासु, दाल र सागसित भात खुवायौँ,’ खाना खुवाएको त्यस दिन सम्झँदै उनले सुनाएका थिए ।
एचक्यु भान्सामा सोना मन्सुली चामलको भात पाक्थ्यो । भान्साबाट प्रेसर कुकरमा पाकेको भात र तरकारी बोकेर प्रचण्डको सेल्टरमा लान्थे । थालमा पस्कन्थे । खाइसकेपछि थाल तान्थे ।
‘बचेपछि हामी पनि सीएमकै लागि पकाएको भात खान्थ्यौँ । हामीले खाने र सीएमले खाने खानामा भिन्नता भनेको प्रेसरकुकर र डेक्चीमा पकाएको मात्र हो । सेल्टरसम्म लान कुकर सजिलो हुन्थ्यो । त्यसैले सीएमको लागि कुकरमा पाक्थ्यो,’ उनले सम्झेका थिए ।
‘तरकारीमा सबैभन्दा बढी त मासु पाक्यो होला । खसी र लोकल कुखुरा,’ कमरेड केशवले सुनाएका थिए, ‘बाहिर फर्मेसन (जनमुक्ति सेना) का साथीले त अन्य मासु खान्थे । तर हेचक्युमा गाईको मासु पाकेन ।’
जनमुक्ति सेनाका लागि गाईको मासु पाक्थ्यो ।
‘तरकारी समस्या हल गर्न पनि मासु बाध्यता थियो,’ उनको आँखाबाट अलप हुन थालेका ती दिन सम्झेर उनले सुनाएका थिए, ‘हरियो साग पाक्थ्यो । नास्तामा हलुवा, पुलाउ र रोटी पकाउँथ्यौँ । कागती चिया पकाउँथ्यौं ।’
कमरेड केशव खसी र भाले खोज्न अघि सर्थे । कहीँ तौलेर किन्थे भने कहीँ मोलेर ।
‘प्रायः मोल्ल्वा नै किनेको हो । झिन्वा साइडतिर भने तौलमा पनि किनेँ । त्यसबेला भाले अढाई सय रुपैयाँ किलो थियो,’ उनले सम्झिए । सीएम राङ्कोटमा बस्दा खसी र भाले खोज्न उनकै गाउँ भालुकोट, दाउनीभीर र जैपा जान्थे ।
मासु काट्न प्रचण्डलाई रहर थियो । खसी काटेको दिन उनी भान्सामा आउँथे । र, आफैँ मासु काट्न कस्सिन्थे ।
‘त्यसबेला ठूलो भालेको मोल १२ सयभन्दा माथि थिएन । त्यसबेला खसी ८/१० हजारसम्मको खाइयो । लास्टतिर त महँगो भएको थियो ।’
माओवादीले भाले र खसी किन्न गएपछि चल्तीको मूल्य पाउँथे त गाउँलेले ?
‘गाउँलेले किन्ने मूल्यभन्दा बढी नै हालिन्थ्यो । माओवादी भन्दैमा आफ्नो मूल्य छाड्दैनथे, गाउँलेले,’ उनले सुनाए ।
‘भान्सामा प्रायः मेडम (सीता) आउनुहुन्थ्यो । सुझावको रूपमा खाना यसरी पकाउने, उसरी पकाउने भन्नुहुन्थ्यो,’ भान्सामा आउने प्रचण्ड परिवारका सदस्यबारे सम्झँदै उनले भने, ‘कम्प्युटरमै बिजी देखिने प्रकाश पनि कहिलेकाहीँ भान्सामा घुम्न आउनु हुन्थ्यो ।’
मासु काट्न प्रचण्डलाई रहर थियो । खसी काटेको दिन उनी भान्सामा आउँथे । र, आफैँ मासु काट्न कस्सिन्थे ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/prachanda-chunwang-rolpa.jpg)
‘मासु काट्न उहाँलाई रहर लाग्छ रे । त्यसैले खसीको मासु काट्नुहुन्थ्यो । हामीसित गफिँदै सीएमले घोरनेटीको तुसारापानीमा खसी काट्दाखेरि भन्नुभएको थियो, ‘मलाई सानैदेखि मासु कटिङ गर्न रहर लाग्छ,’ केशवले सम्झँदै सुनाएका थिए ।
भान्सामा बाहेक प्रचण्डसँग उनको कुराकानी भएन । टाढैबाट भेटे । प्रचण्ड माथि मन्चामा हुन्थे, उनी तल । पछिल्लोपालि केही महिनाअघि दलित मुक्तिमोर्चाको बैठकमा उनले प्रचण्ड देखे ।
‘जहिले खाना पकाउँदाखेरि भेटमा कुरा भयो, त्यसपछि भेटघाट र कुराकानी भएको छैन,’ मोहवीरले सम्झिए, ‘दलित मुक्तिमोर्चाको बैठक थियो । प्रदेशको रिपोर्ट सुन्नुभयो, अलिकति बोलेर जानुभयो । चिट लेखेर पठाउँछु र भेट्छु भन्ने सोचेको थिएँ । उहाँ हिँडिहाल्नुभयो ।’
फोनभेट भयो ?
‘साना नेताको फोन त उठ्दैन, उहाँको झन के उठ्ला । सीएम बड्डाका छोरा प्रकाश हुँदासम्म त फोन उठाउँथे । कहिलीकसो प्रकाशसँग कुरा हुन्थ्यो । उनी मरिसके,’ उनले सुनाए ।
लडाइँ थापिएको २० वर्षमा लाग्यो । तर सपनामा भने जनयुद्ध जागा छ ।
‘जनयुद्ध नै सपना देख्छु । मुटु ढुकढुक गर्छ । बन्दुक बोकेको हुन्छु । एलएमजी पड्काएको हुन्छु । ग्रिनेड बनाएको सपना देख्छु,’ सपना सम्झेर एकछिन टोलाए । त्यसपछि थपे, ‘सीएम बड्डासँगको पनि कहिलेकाहीँ सपनामा आउँछ । भात खुवाएको सपना देख्छु । सेल्टर बनाएको पनि देख्छु । कहिले भागाभाग गरेको पनि सपनामा आउँछ ।’
उनले रोल्पा राङ्सी डाँडागाउँको प्रचण्ड निवासमा भएको हवाई आक्रमण सम्झिए । बाँकी रहेका सरसामान पोको पारेर डाँडागाउँबाट केशव र उनका केही साथी साभारसहित हिँडेको एक घण्टा हुँदै थियो । सञ्जोगले प्रचण्ड भने करिब एक घण्टा पैदल ओरालिएपछि पुगिने ढाङढुङ्गार पेदीमा बिहानै गइसकेका थिए ।
आठ वर्षअघि उनले सुनाएको सम्झिएँ-
चरण-चरणमा नापजाँप गरी प्रचण्ड बस्ने ठाउँ र घर छानिन्थ्यो । सुरक्षाको आँखाले बाह्रपालि नापिन्थ्यो ।
सुरुको चरणमा प्रचण्डको सेल्टर ‘अग्ला डाँडा या टाकुरा’ रोजिए । वारिपारि नजर डुलाउन र फोन सम्पर्कका लागि अग्ला डाँडा र टाकुरा छानिए । पछिल्लो समयमा सेनाले हवाई आक्रमण चर्कायो । त्यसपछि भने अग्ला डाँडा र टाकुराबाट सेल्टर खोल्सा र लुकालो ठाउँ रोज्जा भए । ठाउँको पालो सकिएपछि सेल्टर लिने घरको पालो आउँथ्यो । खासगरी घरको अनुहारको । ढुंगाले छाएको घर रोजाइमा पर्थ्यो । यसको कारण थियो, खरले छाएको घर आगलागी हुने खतरा । सेल्टर बनाउन कि खाली घर रोजिन्थ्यो कि त्यस घरका मानिसलाई वैकल्पिक बसाइँसराइ गराउँथे ।
घर छानेपछि घरछेउमा बंकर र सुरुङ खन्थे । बंकर र सुरुङ खन्ने चलन भने हवाई आक्रमण सुरु भएपछि चलेको थियो ।
प्रचण्डको सेल्टर बन्ने घरले ‘चोला’ फेर्थ्यो ।
जस्तोः
रंगरोगन हुन्थ्यो ।
घरछेवैमा अस्थायी ट्वाइलेट बन्थ्यो ।
सुत्नलाई खाटको व्यवस्था हुन्थ्यो ।
कोठाको भित्ता र सिलिङले सेतो कपडा ओढ्थे ता कि कोठा उज्यालो र सफा देखियोस् ।
केशवकै टिमले प्रचण्डको सेल्टर ठाउँठाउँमा बनाउँथ्यो ता कि अप्ठेरो परे धेरै विकल्प बचून् । अर्कोतिर धेरै सेल्टर बनाउँदा माओवादीको भाषामा ‘दुश्मन’ लाई झुक्याउन पनि हुन्थ्यो ।
‘सेल्टर धेरै ठाउँमा बनाउँथ्यौँ- जाने ठाउँबाहेक चार/पाँच ठाउँमा। हामीले नसोचेको ठाउँमा पनि बड्डा बस्थे,’ उनले त्यसबेला भनेका थिए ।
डेपुटी कमान्डर एवं प्रचण्डको सुरक्षाको सम्पूर्ण कमान्ड सम्हाल्ने नन्दकिशोर पुन अर्थात् कमरेड पासाङ प्रायः टेन्टमै बस्थे ।
‘हामी भने भान्सामै सुत्थ्यौँ,’ उनले सुनाएका थिए ।
प्रचण्डलाई ‘दुई पेग’ घरपाला रक्सी
जनयुद्धकालमा प्रचण्डको ‘दुई पेग’ खुबै चल्तीमा थियो । कुनै मिडियालाई दिएको अन्तर्वार्तामा प्रचण्डले रक्सी ‘दुई पेग’ सम्म पिउने भनेका थिए ।
‘सीएमको रोल्पा बसाइको अन्ततिर कहिलीकहिली (रक्सी) ल्यायौँ । त्यो घरपाला (लोकल रक्सी) हो,’ उनले भने, ‘तर सीएमले खाएको भने देखिनँ ।’
माओवादीले जनयुद्धमा रक्सीका घैटा फुटायो । त्यसैले माओवादी कार्यकर्ताले थाहा नपाऊन् भनी प्रचण्डको व्यवस्थापन विभागको ‘माथ्लो तह’ले नै रक्सीको चाँजोपाँजो मिलाउँथ्यो ।
‘रक्सी पाइन्छ ? भन्दै गाउँमा जाने कुरा पनि भएन नि । ‘डाइरेक्ट माथि’बाट सप्लाई भइहाल्थ्यो,’ उनले भने ।
त्यसपछि सम्झिए, पश्चिम रोल्पाको आरुनेटा/आरुडाँडा । त्यसबेला माओवादीले सरकारी सेनालाई ‘शाही अमेरिकी सेना’ भन्थ्यो । खारा प्रचण्ड आफैंले कमान्ड गरेको पहिलो र अन्तिम लडाइँ थियो, खारा (दोस्रो आक्रमण) । त्यसबाहेकका लडाइँ हुँदा प्रचण्ड कि भारतमा थिए कि त लडाइँस्थल भन्दा नौडाँडापारि । खारा आक्रमणमा ह्यान्डसेटबाट लडाइँको कमान्ड गरिरहेका डेपुटी कमान्डर पासाङलाई प्रत्यक्ष कमान्ड गरे प्रचण्ड र विप्लवले (खारा आक्रमणको प्रत्यक्ष प्रसारण गरेको माओवादीको रेडियोको अडियो) । भलै उनीहरू तीन/चार घण्टा पैदल दुरी टाढा रहेको रोल्पाको घर्तीगाउँ र ओतको सिमानामा थिए ।
‘खारा हान्दा सेल्टर लिएको आरुडाँडाको घरदेखि माथि टाकुरामा गयौँ । रातभर त्यही बस्यौँ । सँगै थिए, प्रचण्ड, मेडम (सीता), विप्लव (नेत्रविक्रम चन्द) र दीवाकर (पोष्टबहादुर बोगटी) पनि,’ खारा आक्रमणको त्यो रात सम्झँदै उनले सुनाएका थिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/Keshab-BK-prachandako-bhanse-1.jpg)
खारा हान्ने साँझ प्रचण्डले खाना पनि टाकुरामै खाए ।
‘रातमा त देख्ने कुरा भएन । बिहान भने सीएम निराश हुनुहुन्थ्यो । त्यस दिन त साग र दाल मात्र थियो खाना पनि,’ उनले भने ।
खारा आक्रमण तयारी गरेको रोल्पाको गैरीगाउँस्थित दुम्लाबाट जनमुक्ति सेना खारातिर लागेको थियो भने प्रचण्ड टोली आरुडाँडातिर ।
खारा आक्रमणपछि प्रचण्ड र बाबुराम गोटीखोलामा भेट भए । त्यसबेला बाबुराम कारबाहीमुक्त थिएनन् । मुक्त नगरी बाबुरामलाई प्रचण्डले ‘मेसो’ मिलाउन भारत पठाए ।
‘सीएम जति समय रोल्पा बस्नुभयो, त्यसबेलासम्म म सीएमसितै रहेँ । १० महिनाजति बसेँ कि ?’ उनले सम्झिए, ‘सीएम आफैँले त घर-व्यवहार र परिवारबारे कहिल्यै सोध्नुभएन ।’ कहिलेकाहीँ फुर्सद भएका बेला प्रचण्डले सेक्युरिटी र व्यवस्थापनलाई संयुक्त रूपमा बैठक बस्न भन्थे । दुई-तीन महिनाको अन्तरालमा पार्टी योजना सुनाउँथे ।
‘हामी राति अबेरसम्म पनि तातोपानी, चिया लिएर जान्थ्यौँ । सीएम कमरेडलाई जहिल्यै ल्यापटप कम्प्युटर, किताब र कलमसित देखेँ । सामान्यतः राति ९ देखि १२ बजेसम्म हुन्थ्यो । आवश्यक परे राति १-२ बजेसम्म पनि जान्थ्यौं। बिहान तीन बजेपछि जान्थ्यौं । बिहानै जाँदा पनि जस्तो साँझमा देख्थेँ उस्तै देख्थेँ सीएमलाई,’ प्रचण्डको सेक्युरिटीले आवश्यकता पर्दा बोलाएपछि राति जुनबेला पनि जानुपरेको स्मरण गर्दै केशवले सुनाएका थिए ।
उनले प्रचण्ड दम्पतीले रुकुम दहबाङमा हिउँ खेलेको सम्झिए । दहबाङ त थबाङ र लाबाङको बीचमा थियो । त्यही लाबाङ बैठक जाँदाखेरि थियो । लाबाङमा बसेको माओवादी पोलिट्ब्यूरो बैठकले बाबुरामलाई कारबाही गरेको थियो ।
‘बड्डालाई घोडामा लगेको हो । लास्टै चिसो थियो । दहबाङमा बास बस्यौँ, राति हिउँ पर्यो । भोलिपल्ट बिहान सीएम कमरेड र सीता मेडम हिउँ खेल्नुभयो ।’
उनले कुराकानी मेलोमा केही थान बाख्रा र कुखुरा सम्झिए । धेरी मजदुरीका काम पनि । त्यसपछि उनकी पत्नीले गर्ने भाङ्ङु (चल्तीको बजारे भाषामा गाँजा) र पुवा (अल्लो)को धागो । भाङ्ङु र पुवा रेसाको धागो कात्ने र बोल्ला बुन्ने । अहिले बोल्ला पनि बुन्न पर्दैन, धागो नै बिक्री हुन्थ्यो । उनका जीवनयापनका साधन यिनै थिए ।
‘लगानी गरेको पार्टी पनि छोड्न नसक्ने भइयो, घरको व्यवस्था पनि गर्न नसक्ने भइयो,’ केशवले लामो सास फेरे ।
दुई छोरा एक छोरी छन् । प्लस टु गरेको जेठा छोरा खाडी जान भिसा हानेर उड्न ठिक्क परेका थिए ।
उनले पाँच कक्षा पढेका थिए, पत्नी गनमायाले प्रौढ पढेकी थिइन् । उनको गाउँ भालुकोटमा पाँच घर दलित, बाँकी क्षेत्री ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/Keshab_Mohabir-bika.png)
‘स्कुल पढ्ने बेला पानीधारा थिएन । पिउनले जर्किनमा पानी लिएका हुन्थे । तिर्खा लागेपछि हात थाप्थेँ, छोइएला कि भनेर माथिबाट पानी हालिदिन्थे । खाजा छोइएपछि हामीलाई फालिदिन्थे । बेन्च थिएन । हामी बस्ने फल्याक नै अलग्गै थियो ।’
एक त गरिब, त्यसमाथि दलित । पढ्ने मन पनि मर्यो ।
‘अहिले सोच्दा अलि बढी पढिन्थ्यो कि जस्तो लाग्छ । पाँच त चट्टै कम भएन र ? स्कुलमा पनि हेला भयो नि । जान मन लागेन । स्कुल जामजाम लाग्ने वातावरण नै थिएन । तिर्खा लागे पनि पिउनलाई भन्नुपर्ने, हात थापेर खाने । खेल्दाखेरि पनि खाजा छोइएला कि भन्ने जगजगी । छोइएपछि हप्काउँथे, कुट्थे । आर्थिक हिसाबले पनि दलित विपन्न भए । पाँचमै सकियो ।’
२०७४ को चुनावमा मुस्किलले टिकट पाएको सुनाए, ‘पार्टीले ‘जनयुद्धकालमा तैँले त ठेका पनि फालेको छस्, गैरदलितका भनारकुनामा पनि पसेको छस्, भोट दिन्नन्’ भन्यो । बल्लबल्ल टिकट दियो,’ एक कार्यकाल वडा सदस्यको याम सम्झिए । वडा सदस्यको हातमा केही थिएन । थपनामात्र थियो ।
‘हामीलाई त जनयुद्धपछि पनि उस्तै त भयो,’ उनले तौलिए ।
१२ बुँदेको बाटो हुँदै प्रचण्ड काठमाडौं पुगे । नयाँ बजार बसे । लाजिम्पाट बसे । खुमलटार बसे । तीनपालि त बालुवाटार पसे । प्रचण्डका शब्दमा त ‘क्रान्तिकारी छलाङ’ भयो । केशव भने प्रचण्डले छाडेको रोल्पाको एचक्यु रुँगेर एक वर्षसम्म बसे । रुँगेका सामान बुझाएपछि बल्ल आफ्नो गाउँ भालुकोट फर्किए ।
दम्पती नै उपचारको लागि काठमाडौं आएका प्रचण्ड भान्सेमन फोहोरासँगै तलमाथि गरिरहेको थियो, घर फर्कने गोडाचिन्ताले । आफ्नो एन्जाइटी फलोअप र पत्नी गनमायाको मुटु उपचार गर्न राजधानी आउँदाखेरि गरेर ल्याएको रिनपान त ‘अस्पताललाई भेटी’ भइसकेको थियो ।
फेन्सी पसल रुँघ्छिन् शुभकुमारी
प्रचण्डका भान्से कमरेड केशव घर फर्कने गोडा चिन्तारत रहेको बेला कमरेड सीमा (शुभकुमारी गुर्माछान मगर) भने सिन्धुली ढुंग्रेबास चोक बजारको फेन्सी पसल रुँगेर बसेकी थिइन् । बनेपा बर्दीबास सडकछेवैमा उभिएको चित्रनारायण श्रेष्ठको घरमा पसल थापेकी थिइन् उनले।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/seema_shuvakumari.jpg)
‘पसलमा छु,’ मोबाइल फोनमा शुभले मंगलबार भनिन् । श्रेष्ठलाई जनयुद्धकालमा सरकारले बेपत्ता पारेको थियो ।
२०५२ फागुन १ गते सिन्धुलीगढी आक्रमणमा सहभागी ३३ जनामा कमरेड सीमा एकमात्र महिला थिइन् । १८ वर्षकी सीमा ११ कक्षाको परीक्षा दिएर हिँडेकी थिइन् ।
२०४८ मै पार्टी सदस्य भएकी सीमाले सम्झदैँ सुनाइन्, ‘ट्रयाकसुट, क्याप लगाउँदा पुरुषजस्तो थिएँ । पहिलोपालि सहभागी हुन पाउँदा एकदमै उत्साहित पनि ।’
जनयुद्धका लागि मौसमी चन्दा उठाएको, कपिलाकोट सुँगुरे जंगलमा भरुवा बन्दुक पड्काउन सिकेको, सुतली बम बनाउने तालिम गरेका सम्झना कतिकति उनका दिलदिमागमा लस्कर लागे । दाजु र मामासँगै तालिम गरेको सम्झिइन् । जनयुद्धमा सहभागी हुन झोला, लुगा बोकेर रामचन्द्र ठाडामगरको घर तेर्छेमा बसेको त्यो पहिलो सेल्टर सम्झना पनि सम्झिइन् ।
‘म मणि थापाको टोलीमा थिएँ । मेरो जिम्मा थियो, पुलिसपत्नीहरूलाई सम्झाउने,’ कमरेड सीमाले सम्झिइन्, ‘नआत्तिनुहोला भनेर सम्झाएँ ।’
सीमा पूर्वको रोल्पा भनेर परिचित सिन्धुली मरिनकी थिइन् । उनले सिन्धुलीगढीको पुलिसचौकी सम्झिइन्, ‘जस्ता छानावाल घर थिए । एउटामा पुलिस बस्थे, एउटा घरमा तिनका परिवार ।’
२९ वर्षअघि के सोचेर जनयुद्ध थालनी मोर्चामा भाग लिएकी थिइन् ? उनलाई यो प्रश्न गाह्रो थियो ।
‘समाज परिवर्तन गर्नुपर्छ भन्ने थियो,’ उनले सम्झिइन् ।
आफू जस्तैलाई जनयुद्धमा हिँडाएका गाउँका अनुहार सम्झिइन् । आफ्नो भन्दा पनि तिनका प्रश्नले भतभती पोलेको सुनाइन् । तिनका अधुरा र अपूरा सपनासामु उनी जहिल्यै हायलकायल थिइन् ।
‘खोक्रो आदर्शमा मात्र ज्यान गएछ भन्छन् । हामीलाई वास्ता गर्दैनन् । बाटामा हिँड्दा पनि नचिनेजस्तो गर्छन् भनेर गुनासो आउँछ नि । हिँडाए पनि तिनलाई जवाफ दिने ठाउँमा छैन,’ उनले सुनाइन् ।
०००
२९ वर्षअघि माओवादीले जनयुद्ध थाल्दा माओवादीसँग (माओवादी शब्दमा) ‘ग्रामीण वर्गसंघर्ष’कालीन लडाइँ र झडपले भूमिगत जीवनशैली र लडाइँ ज्ञान/अनुभव मात्र थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरण प्रतिकूल थियो । माओवादीले जनयुद्ध गर्ला र पार लाउला भनेर पत्याउन गाह्रो थियो । जसका कारण थिए- एक, समाजवादी केन्द्र मानिएको सोभियत संघ भर्खरै ढलेको थियो । फिलिपिन्स, पेरुलगायत देशका जनयुद्ध धर्मराएका थिए । पेरु कम्युनिष्ट पार्टी(साइनिङ पाथ)का अध्यक्ष गोञ्जालो पक्राउ परिसकेका थिए । भलै माओवादीले ‘पेरुमा हाम्रो लालझन्डा फर्फराउँदैछ’ र जलजलालाई आयाकुचो पहाडसँग तुलना गर्दै कार्यकर्ता जोस्याउँदै थियो ।
दुई, कांग्रेस र झापा आन्दोलनका ‘रहलपहल’ नजिरका रूपमा बाँकी थिए । रहलपहल भन्नाले कांग्रेस र झापा विद्रोह शक्तिआर्जन मात्र भए भन्ने संशय । २०४८ को संसदीय चुनावमा तेस्रो भएकाले माओवादीले बन्दुक बोक्न रहर गरेको भन्ने परेको थियो । कारण थियो, संयुक्त जनमोर्चा नेपाल तेस्रो दल त थियो, तर दोस्रोलाई भेट्न नसक्ने । त्यस कारण संसदीय चुनावबाट दोस्रो र पहिलो क्रमशः एमाले र कांग्रेस भेट्न बन्दुकको बाटो रोज्यो भन्ने भान भयो ।
आशंका मेट्ने कसरी ? माओवादीले सात बुँदे बाचा बाँध्यो । नेपालमा भएका आन्दोलन नजिरलाई माओवादीले नाइँ भन्ने बनाउँछ भन्न तीन नम्बरको वाचा सम्झनीय थियो-
हाम्रो योजना सामान्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा अधिनायकत्वको क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णिम भविष्य साम्यवाद स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ ।
‘एक पटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढता बिना सशस्त्र संघर्ष थाल्नु सर्वहारावर्ग एवं आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौ ।’ यो संघर्ष जनताको मनास्थितिमा आंशिक सुधार गर्ने प्रतिक्रियावादीहरूलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपूँजीवादी, संकीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातिवादी बिभ्रमहरूबाट पूर्णरूपले मुक्त हुनेछ ।
जनयुद्धमा जानअघि संयुक्त जनमोर्चामार्फत अध्यक्ष बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चालीस सूत्रीय मागपत्र बुझाए । जो माग जनताका जनजीविकाका सवालमा थिए । भारत र नेपालका सन्धि-सम्झौताका सवालसमेत समेटिएका थिए । जनमोर्चाले माग पूरा गर्न सरकारलाई दिएको म्याद गुज्रनुभन्दा चार दिनअघि नै २०५२ फागुन १ गते रोल्पा होलेरी, रुकुम रारीजिउला र सिन्धुली सिन्धुलीगढी पुलिसचौकीमा हमला गरी माओवादीले जनयुद्धको फायर खोल्यो । झापा विद्रोहको २४ वर्षपछि नेकपा (माओवादी)ले नेपालमा जनयुद्ध थाल्यो ।
लडाकु दल बनाएर जनयुद्ध थालेको माओवादीले स्क्वाट, प्लाटुन हुँदै कम्पनी बनाउँदै २०५८ भदौ १६, १७, १८ गते रोल्पा कुरेली गाविसको उपाबाङ स्कुलमा भएको भेलाले जनमुक्ति सेना नाम राख्यो । बटालियन घोषणा गर्यो । बटालियन कमान्डर नन्दबहादुर पुन पासाङ र सहकमान्डर धनबहादुर मास्कीमगर राजेश भए (पृ.१७, २०६६, जनयुद्ध र जनमुक्ति सेना, उदयबहादुर चलाउने) । त्यसपछि ब्रिगेड हुँदै पछि सात डिभिजन बने । माओवादीको सैन्य प्रत्याक्रमण चरणकै बीचमा सरकारसँग शान्तिवार्ता भयो । सात संसदीय दल र माओवादी विद्राहीबीच दिल्लीमा भएको १२ बुँदे जगमा शान्ति सम्झौता भयो । २०६३ मंसिर ५ गतेदेखि मुलुकका विभिन्न भागमा सात मुख्य र २१ सहायक गरी २८ अस्थायी शिविरमा जनमुक्ति सेना बसे । संयुक्त राष्ट्र संघको रोहबरमा जनमुक्ति सेना प्रमाणीकरण हुँदै सानो संख्या सरकारी सेनामा समायोजन भयो, बाँकी अवकाश लिएर घर फर्के ।
शान्ति प्रक्रियाको एउटा भाग सेना समायोजन सकियो । बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोग बने, तर अहिलेसम्म टुंगिएको छैन ।
जनयुद्धकालमा माओवादीले विद्रोही सत्ता चलायो । भन्यो, जनसरकार । ८० प्रतिशत देशको भूभाग कब्जा गरेको माओवादी दाबी थियो ।
शान्ति सम्झौतापछिका बाँकी १९ वर्ष माओवादी सरकारमा रह्यो । तीनपालि माओवादी आन्दोलनका सुप्रिमो प्रचण्डले सरकार नेतृत्व गरे, एकपालि बाबुरामले । बाँकी समय माओवादी कहिले एमाले त कहिले कांग्रेस नेतृत्व सरकारमा रह्यो ।
०००
माओवादी मुक्खे प्रचण्डका भान्से घर फर्कने गोडा चिन्ताग्रस्त भएको बेला, कमरेड सीमा ढुंग्रेबासमा पसलमा रुँगिरहेको बेला बाग्लुङ गलकोटका कमरेड प्रभात (पूर्णबहादुर रानामगर, ८३) भने माओवादी मुख्यालयमा थिए । भलै मंगलबार दिउँसो माओवादी मुख्यालय पेरिसडाँडामा माओवादी मुक्खे प्रचण्ड थिएनन् । कार्यालय मुख्यसचिव गणेशमान पुनको कार्यकक्षमा रानामगर आफ्नो पनाति सलिमसँग पुनको कार्यकक्षमा पसेका थिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/keshab-and-pun.jpg)
‘आफूले लगानी गरेको ठाउँको माया लाग्छ । आज जान्छु पार्टी कार्यालय भनेर आएँ,’ पुनसँग हात मिलाएपछि सोफामा बस्दै वयोवृद्ध रानामगरले भने ।
मुख्यसचिव पुन पछिल्तिर भित्तामा ससाना काँटीका मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओका फोटा थिए । अन्तर्राष्ट्रिय कमरेडहरूका फोटोभन्दा त्रिपल ठूलो काँटीको प्रचण्डको फोटो भित्तामा तुर्लुंग झुण्डिएको थियो ।
पुनसँग सन्चो-बेसन्चो समाचार साटासाट हुँदा वृद्धआँखा चिमचिमाउँदै घरी साना काँटीका माओ त घरी प्रचण्डका फोटोमा टाँसिन्थे ।
रानामगर सन् १९६० मा भारतीय सेनामा भर्ती भएका थिए । भर्ती भएको दुई वर्षपछि सन् १९६२ मा भारत-चीन लडाइँ लडे । भारतका नागा, खालिस्तान लडाइँ त झन् नलड्नु कसरी ? लडे । नुनको लडाइँ लड्नु लडे । नेपालको शासन व्यवस्था त रानामगरहरूलाई सस्तो-मस्तोमा बेचेर मोजरत थियो ।
उनको जिन्दगीको सबभन्दा स्वप्नमय समय भारतको नुन सोझो गर्दागर्दै बित्यो ।
पेन्सन पाक्यो, आफ्नै थातथलो गलकोट फर्के ।
नेपालमा माओवादी जनयुद्ध सुरु भयो ।
पुलिसले बाग्लुङ, हरिचौर, पर्वत, म्याग्दीका पुलिस चौकीहरूमा फनफनी रिङायो । पर्वतमा मुद्दा चलायो ।
माओवादीले केही त गर्छजस्तो लाग्यो । बचेको जिन्दगी बोकेर जनताको मुक्ति र गरिबको दिन ल्याउन भन्दै माओवादीमा मिसिए ।
उनीसँग लडाइँ लडेको अनुभव थियो । हतियारसम्बन्धी सिप थियो । त्यसैले उनलाई माओवादीले जनमुक्ति सेनाको हेडक्वार्टरमा राख्यो । २३ जना माओवादी प्राविधिक प्रमुख भए । माओवादी सेनालाई हतियार बनाउने र पड्काउने तालिम दिए । रोल्पा, रुकुमका डाँडाकाँडामा कहिले सिस्नो खाँदै त कहिले गाईको मासु खाँदै कहिले भोकै जनयुद्धकालीन दिन बिते ।
‘आधा जोवन सेना (भारतीय सेना)मा फालियो, आधा जोवन माओवादीमा,’ गलकोटी वृद्धले भने ।
राना र पुनले सन्चो-बेसन्चोका समाचार सुनाउँदा सुनाउँदै २९ वर्ष लागेको जनयुद्ध सम्झिए ।
अहिलेसम्म पर्वतमा बाँचेको उनले मुद्दा सम्झिए । रानामगरले पुनलाई सोधे, ‘अब म मुद्दासँगै मर्ने हो ?’
जिन्दगीको उत्तरार्द्धमा पार्टी सम्झेर राना पेरिसडाँडा पसेका थिए । पेरिसडाँडा र उनको सम्बन्ध भने रोल्पा रुकुमतिर गाइने गीतको फलजस्तो थियो, ‘म मायाले मर्ने, साइँ काँराले कोर्ने ।’
‘पार्टीले सोध्दैन,’ राज्यसत्ताको कुर्सीमा बिराजमान आफ्ना कमरेडका नाम लिँदै अन्तमा पुलुक्क भित्तामा तुर्लुंगिएको सीएम फोटो पुलुक्क हेर्दै भने, ‘प्रचण्डले भुले ।’
पेन्सन पाकेका पाका के फारम्ला भनेर माओवादी भएका थिए ? के देखेका थिए, सपना ? पुनलाई पुनःस्मरण गराए, ‘आमूल परिवर्तन गर्न भनेर लागियो । समाजवाद ल्याउने भनेर लागियो ।’
थप व्याख्या पनि गरे ।
‘रोल्पाको थबाङ, गाम, घर्तीगाउँ रुकुमका लुकुम त्यतैतिर सात वर्ष बिते,’ जनयुद्धकालीन बिकट सम्झना सम्झिए ।
उनका आँखामा सरकारी सेना, पुलिस छाडेर माओवादी सेना बनेका अनुहार आए । उनले बेनी लडाइँपछि फर्कंदाका ताराखोला सम्झिए । रत्नेचौर सम्झिए ।
‘कमरेडहरूका फिला, साप्रा भाँचिएको छ, च्यातिएको छ । रगत चुहिएको छ । गोलीले छट्पटाएका छन् । सुई लगाए पनि फेरि छट्पटाएका छन् । घाइते बनभरि लत्र्यान्न छन् । उताबाट विप्लव र जनार्दन आएर मलाई ‘के छ बा’ भन्दै लुरुक्क उठेर हिँड्न लागे । मैले भनेँ, ‘रुक । सबै घाइते उठाएर मात्र जान पाइन्छ । कमान्डर यसरी अलपत्र पारेर हिँड्न पाइन्छ ?’
सिस्नो खाँदै हिँडेको सम्झिए । कहिले चित्रोमा सुतेको सम्झिए । कहिले गोठमा सुतेको त कहिले भोकै हिँडेको सम्झिए ।
‘यस्तै होला भनेर हो आम जनतालाई होमेको,’ मुख्यसचिवको कार्यकक्षमा रानामगरको बोली होइन, हिँक्का झर्यो ।
मुख्यसचिव पुनका आँखा घरी आफूले लेखिरहेको डायरी त घरी रानामगरको वृद्ध आँखामा बसे । उनका ओठ फर्फराए तर बोली झरेन । रानामगरको वृद्ध हिँक्का झरिरह्यो । झन्डै दुई मिनेटपछि हिँक्का गति अलि मध्यम भएको बेला उठे । ट्वाइलेट कहाँ छ भने ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/purnabahadur-ranamagar_ganeshbahadur-pun-and-sabin.jpg)
ट्वाइलेटबाट फर्केपछि पनि एकछिन सन्नाटा छाइरह्यो । न पनाति बोले न त पुन ।
केही समयपछि वयोवृद्ध बाले सन्नाटा तोडे, ‘सन्चो-बेसन्चो पार्टीले सोध्दैन । पार्टीमा मेरो नाम ठेगान नै हरायो । घारा, डोला, डोकामा हालेर बोकेका घाइते अपांगका हालत र शहीद-बेपत्ताका रगत के भयो ? सम्झेर हृदय धर्कियो । कोही कारमा सयर, कोही अर्काको देशमा पसिना बगाउँदैछन्, कोही भोकभोकै छन्, जनयुद्ध लडेको यसैको लागि हो ? किन बादलहरू लाखापाखा लागे ? आम जनताले युद्धलाई कसरी बुझ्दैछन् ? जनयुद्ध केपी ओलीले भनेजस्तै हो त ? हामी रोएको रोयै, हाम्रो दिल धर्केको धर्क्यै हो त ? यही अवस्थामा बसम्ला भनेर हो त ? के एमाले-कांग्रेस जस्तै खै परेको (खिया परेको) पार्टी हो, माओवादी पनि ?’
आज जति भागे पनि प्रभातहरूका आँसुको उत्तर इतिहासले खोजिरहनेछ ।
तस्बिरहरु – नवीन विभास ।
पुराना तस्बिर – माओवादी हेडक्वार्टरमा रहेका फोटोकर्मी दिनेश श्रेष्ठबाट ।