काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्युओर्कमा आयोजित चौथो संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको सम्मेलन (युएनकोप्स)मा भाग लिन गृहसचिव एक नारायण अर्यालसहित प्रहरी प्रमुख बसन्त कुँवर पनि अमेरिका पुगेका छन् । सरकारी खर्चमा अमेरिका भ्रमणमा जानेहरुमा गृहसचिव र आइजी मात्रै छैनन् प्रहरीकै प्रवक्ता डिआइजी दान बहादुर कार्की दम्पत्ति पनि छन् ।
आइजी बसन्त कुँवरले पनि श्रीमतीसहित अमेरिकामा छन् । तर, युएनकोप्सको सम्मेलनमा पुगेका गृहसचिव, आइजी र प्रहरीका हाकिमहरुले अमेरिकामा मात्रै होइन नेपालमा समेत ठगी अपराधका नाइकेहरुसँग कुम जोडेर तस्विर खिचाएका छन् । तस्विरमात्रै खिचाएका छैनन्, आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले गृहसचिव, आइजी, डिआइजी र उनका पत्नीहरुलाई धार्मिक यात्रा समेत गराएको खुलेको छ ।
तस्विरमा देखिएका नेपाल प्रहरीका डिआइजी सेतो टिसर्ट लगाएका दान बहादुर कार्की, कालो सर्ट लगाएका आइजी बसन्त कुँवर र कालो छिर्केविर्के सर्ट लगाउने व्यक्ति गृहसचिव एक नारायण अर्याल हुन् । उनीहरुको अगाडी रोहमा छन्–आइजी बसन्त कुँवरको श्रीमती लक्ष्मी पराजुली (पिंक कलरको कपडामा) र दान बहादुर कार्कीको श्रीमती नविना कार्की (रातो टिसर्टमा) लगायत । डिआइजी दान बहादुर कार्कीको दायाँ तर्फ उभिएका कालो चस्मा लगाएका व्यक्ति हुन्– मोहन थापा ।
नेपालको म्याग्दीबाट अमेरिका पुगेका थापा बाल्टिमोरमा बस्छन् । २५ वर्षदेखि अमेरिकामा रहेका थापा आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।
उनी विरुद्ध अमेरिकामा ५० भन्दा बढी मुद्दा चलेको छ । अधिकांश मुद्दामा थापा दोषी ठहर भएका छन् । उनले अमेरिकामा फर्जी लाइसेन्स र परिचय पत्र बनाएको घटनामा अमेरिकाको एफआईले अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सोही अभियोगमा थापा दोषी ठहर भई २ वर्षभन्दा बढी जेल बसेर आएका थिए ।
थापा विरुद्ध अहिलेपनि ६ वटा आपराधिक मुद्दा चलिरहेको छ । सन् १९९९ देखि २०२२ सम्म उनी विरुद्ध ५० भन्दा बढी मुद्दा दर्ता भएका छन् । सन् २००२ अक्टोबरमा पक्राउ परि जेल पठाइएका मेरिल्याण्ड एमभिए परिचय पत्र र सवारी लाइसेन्स ५ सय जनालाई बनाएको अभियोग लागेको थियो ।
मेरिल्याण्ड मोटर भेहिकल एड्मिनिस्ट्रेसनका कर्मचारी मेलरी एल चिसमसँग मिलेर नक्कली कार्ड र नक्कली लाइसेन्स जारी गर्ने धन्दामा थापा संलग्न थिए । यो अभियोगमा चिसम भने धरौटीमा छुटे तर, थापा दोषी ठहर भए । अमेरिकामा उनले लेनदेनको नाममा धेरै व्यक्तिलाई ठगी गरेका छन् । कर छलीमा समेत अमेरिकामा ३२ हजार अमेरिकी डलरसम्म जरिवाना भएको रेकर्डहरु भेटिएका छन् ।
हाल नेपालमा गृहमन्त्री रहेका रवी लामिछानेका अति निकट मित्र थापाले गृहसचिव, आइजी र डिआइजीसहितको टोलीलाई बाल्टिमोरको हिन्दु बौद्ध मन्दिर घुमाएका छन् । न्युओर्कको नांग्राफल, वासिंटन डिसी, बाल्टिमोर लगायत क्षेत्रमा यीनै थापा र अर्का दलाल रमेश भट्टले सयर गराएको स्रोतले जनाएको छ । आइजी सहितको समुहलाई उनले अमेरिकाको बाल्टिमोरस्थित प्रेम राजा महतको रेष्टुरेन्टमा खाना खुवाउन समेत लिएर गएका थिए ।
नेपालमा समेत थापाको ठगीधन्दा !
गृहसचिव र आइजीसहितको जम्बो टोलीलाई अमेरिकामा खानपान र घुमाउने विवादास्पद व्यक्ति थापाबाट नेपालमा समेत केही व्यक्ति ठगीएका छन् । नेपाल प्रहरीकै एक पूर्व अधिकृतलाई घर बैना गराइदिने नाममा २५ लाख रुपैयाँ ठगी गरेको सुचना सार्वजनिक भएको थियो । ठगीबाट पीडित भएका व्यक्तिहरु प्रहरीमा उजुरी गर्न जाँदा तत्कालिन काठमाडौं प्रहरी प्रमुख एसएसपी हाल डिआइजी दान बहादुर कार्कीले समेत सुनुवाई गरेका थिएनन् ।
थापाले डिआइजी कार्कीलाई आफूले नै अमेरिका लिएर गएको भन्दै पीडितलाई धम्की दिने गरेका थिए । अहिले दानबहादुरसँगै थापाको तस्विर देखिएपछि उक्त पीडितले लगाएको आरोप पुष्टि भएको छ ।
थापाले अमेरिकामै व्यावसाय गर्दै आएका केसी थरका एक व्यक्तिको पनि ७५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । दियोपोस्ट