[ndu_today_date]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

‘शून्य समयको सदुपयोग’ भन्दै हाँसेका सांसदको भाइरल भिडियो, के हो सत्यता ?

१५ चैत, सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद कलबहादुर हमालको १५ सेकेन्डको एउटा भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ । जसमा प्रदेश सभामा बोल्दै उनले ‘माननीय सभामुख ज्यू, शून्य समयको सदुपयोग गरिहालौँ भनेर हजुर ! हा…हा…हा…’ भन्दै हाँसेको देखिन्छ ।

सांसद हमालले बोल्दै गर्दा सभामुख नन्दा गुरुङ र सचिवालयका कर्मचारी पनि हाँसेको देखिन्छ । भिडियो झट्ट हेर्दा, अर्गानिक लाग्ने खित्का छाडेर लामो हाँसो हासेका हमालले प्रदेश सभाको शून्य समलाई नै मजाक गरेको जस्तो देखिन्छ ।

त्यही १५ सेकेन्डको भिडियो यति बेला सामाजिक सञ्जाल फेसबुक, एक्स र टिकटक लगायतमा भाइरल बनेको छ । जसले गर्दा यति बेला सांसद हमालको चर्को आलोचना भइरहेको छ । उक्त भिडियो साझा गर्दै सांसद हमालले प्रदेश सभालाई ‘मजाकको थलो’ बनाएको र संसदीय गरिमा मिचेको भन्दै आलोचना गरिरहेका छन् ।

त्यो दिन के भएको थियो ?

कर्णाली प्रदेश सभाको सोमवारको बैठक सुरु भए लगतै सभामुख नन्दा गुरुङले सार्वजनिक सरोकारका विषय राख्न चाहने सांसदहरूलाई शून्य समयको व्यवस्था गरिएको बताउँछिन् । र, सुरुमा सांसद इन्द्रा कुमारी शाहीलाई आफ्नो धारण राख्न समय दिन्छन् ।

त्यस लगत्तै उर्मिला विश्वकर्मा बोल्छिन् । उर्मिला पछि तेस्रो नम्बरमा धारणा राख्न भन्दै सभामुखले सांसद कलबहादुर हमाललाई समय दिन्छिन् ।

हमालले माइक्रोफोन हातमा लिने बित्तिकै सभामा भएका सबैजसो सांसदहरू एक्कासि खित्का छाडेर हाँस्न थाल्छन् ।

सभामा अन्य सांसदहरू हाँस्नुका कारण थियो, हमालका पहिलेका सम्बोधनहरू । ‘म प्राय बोल्दा उखान टुक्का हालेर बोल्ने मान्छे । त्यो दिन पनि म बोल्न मात्र के लागेको थिएँ, सबै गलल हाँसे’ सांसद हमालले अनलाइनखबरसँग भने, ‘सबै हाँस्न थालेपछि म पनि हाँस्न थालेँ, हाँसो थाम्न सकिनँ ।’

आफू सदनमा बोल्न उठेपछि ‘यसले के बोल्ला’ भन्ने सबैलाई कौतुहलता हुने गरेको हमाल बताउँछन् । ‘मेरो मन सफा छ । म कतिपय जटिल कुराहरू पनि सदनमा उखान टुक्का हालेर सरल रूपमा बुझाउँछु,’ उनले भने, ‘मैले त्यो दिन पनि केही गम्भीर विषय सदनमा राखेको थिएँ । तर सुरुको १५ सेकेन्ड काटेर अहिले हाँसो मात्र भाइरल बनाइयो ।’

सांसद हमालले त्यो दिन सदनको शून्य समयमा बोल्दै तीन वटा मुद्दा उठाएका थिए । पहिलो, हुम्लाको ग्रामीण विकासका लागि बजेट सुनिश्चित गर्नुपर्ने विषय । दोस्रो, ठेक्का लिने तर काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्दै विकासका कामलाई प्रभावकारी बनाउनुपर्ने । तेस्रो, आईएनजीओ र एनजीओहरू सुर्खेतमा मात्र सीमित नभई दुर्गम जिल्लाहरूमा जान प्रेरित गर्न सरकारलाई अनुरोध गर्ने मुद्दा उठाएका थिए ।

हेर्नुहोस् भिडियो-

अहिले उनको हाँसोको भिडियो चर्चामा आए पनि आफूले उठाएका विषयहरूमा पनि ध्यान दिनुपर्ने सांसद हमाल बताउँछन् । ‘यो मेरा विरोधीहरूले गरेको फन्डा हो । अहिलेसम्म त  यसमा मेरो केही आपत्ति छैन,’ उनले भने, ‘तर यसलाई अझ धेरै अतिरञ्जित गरियो भने कानुनी उपचार भने खोज्छु ।’

संसदीय मर्यादा विपरीत हो ?

सांसद हमालले सदनमा हाँसेर संसदीय मर्यादा उल्लंघन गरेको, सदनलाई मजाकको थलो बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

तर प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने सांसद हमालको हाँसो संसदीय मर्यादा विपरीत नभएको बताउँछन् ।

‘माननीयज्यूहरूका आ–आफ्नै प्रस्तुति शैली हुन्छन् । उहाँ माननीयज्यूको पनि आफ्नै शैली छ,’ सचिव बुढाथोकीले अनलाइनखबरसँग भने, ‘त्यो दिन पनि उहाँले धेरै कुरा बोल्नु भएको थियो । तर सानो भिडियो क्लिप भाइरल बनाइएछ ।’

हुम्लाका हमाल नेकपा एमालेबाट समानुपातिक सांसद हुन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा हमालको हाँसो नै प्रमुख विषय बनेको देखिए पनि उनले सदनमा भने महत्त्वपूर्ण विषयहरू उठाएका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्