११ चैत, काठमाडौं । आशुतोष शर्माले आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार जित निकालेको छ ।
सोमबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई १ विकेटले हराएको हो । लखनउले दिएको २१० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो ।
अन्तिम ३ ओभरमा ३९ रन आवश्यक रहँदा विकेट गुम्न थालेपछि आशुतोषले जिम्मेवारी लिँदै खेल जिताए ।
सुरुवातमै ३ विकेट गुमाएपछि दबाबमा आएको दिल्लीका लागि अक्षर पटेल, फाफ डु प्लेसी र ट्रिस्टन स्टब्सले केहीबेर सम्हालेका थिए । आशुतोष ६६ रनमा अविजित रहे भने विप्राज निगमले ३९ रन बनाए । आशुतोष र विप्राजले सातौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।
त्यसअघि स्टब्सले ३४, डुप्लेसीले २९ तथा अक्षरले २२ रन बनाए । लखनउका लागि शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राथी र रवि विश्नोइले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनाएको थियो । निकोलस पूरनले सर्वाधिक ७५ तथा मिचेल मार्शले ७२ रन बनाए ।
दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने कूलदीप यादवले २ तथा मुकेश कुमार र विप्राज निगमले १-१ विकेट लिए ।