१० चैत, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित भएका स्वयं श्रेष्ठले चुनावमा ६ हजार ४ सय ९० रूपैयाँ खर्च गरे ।
स्वतन्त्र उम्मेदवार स्वयंको यो रकम पनि सोचेभन्दा बढी हो । ‘यति पनि खर्च नहोला भनेको अझै बढी भयो,’ स्वयं सुनाउँछन् ।
निर्वाचित भएपछि स्वयंले आफ्नो खर्चको विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार यो खर्च उम्मेदवारी दर्तादेखि समाजिक सञ्जालमा प्रचार प्रसारको लागि गरिएको हो । स्वयंले ६ हजार खर्च गर्दा पुल्चोकका भातृसंस्थाका उम्मेदवारले भने होटल होटलमा लगेर विद्यार्थी राखेको आरोप लाग्यो ।
‘संगठनले होटलमा विद्यार्थी राखे । मैले त्यसो गरिनँ । मेरो उद्देश्य जित हार एउटा कुरा हो । तर चुनावी क्याम्पियनमा कुकर्म नगरौं भन्ने थियो,’ स्वयंले भने ।
पद्मकन्या क्याम्पसमा नेविसंघबाट बागी उठेर चुनाव जितेकी भुपेश्वरी ऐर (भुपी) पनि स्वतन्त्र उठेर कम खर्च गरेको बताइन् । तर, संगठनबाट उठ्दा बढी खर्च हुने उनको बुझाइ छ ।
‘यो पटक मैले विद्यार्थीकै मतबाट जितेको हुँ,’ ऐर भन्छिन्, ‘संगठनबाट उठ्दा धेरै खर्च हुन्छ भन्ने मैले यसअघिनै देखिसकेको छु ।’
अनलाइनखबरले उपत्यकाका आधा दर्जन क्याम्पसका उम्मेदवारहरूसँग कुराकानी गर्दा अधिकांशले ५ देखि ३० लाखसम्म खर्च गरेको बेहोरा सुनाए ।
तर, संगठनका उम्मेदवारहरू खर्च विवरण सार्वजनिक गर्न तयार देखिँदैनन् । यीनै संगठनका विद्यार्थीलाई चुनौती दिएका पुल्चोक क्याम्पसका स्वयंले भने खर्चको फेहरिस्त सामाजिक सञ्जालमै सार्वजनिक गरिसकेका छन् ।
‘चुनावमा ३० लाखसम्म खर्च भएको छ । विद्यार्थी पनि जसले जहाँ जसले लगे पनि खाइदिन जाने परम्परा छ,’ एक भ्रातृसंस्थाका उम्मेदवारले भने, ‘यो विकाउ विद्यार्थीको कमजोरी हो । विद्यार्थीले जान चाहेपछि उम्मेदवारले जित्ने होडमा होटलमा राख्न पनि तयार हुन्छन् ।’
उनको यो भनाइले स्ववियु चुनाव पनि भड्किलो भएको प्रष्ट देखाउँछ । भ्रतृसंस्थाका प्रमुखहरू पनि स्ववियुको चुनाव खर्चिलो भएको स्वीकार गर्छन् । तर आफ्नो संगठनले कम र अर्को संगठनले बढी खर्च गर्ने गरेको आरोप उनीहरू एक अर्कालाई लगाउँछन् ।
‘चुनाव भड्किलो भएको छ । एउटै टीओआर बनाउनुपर्छ । स्ववियुलाई भड्किलो नबनाउन टीओआर बनाउन भनेका हौं,’ नेविसंघ सभापति दुजाङ शेर्पाले भने, ‘स्ववियुलाई प्रतिस्पर्धाको विषय बनाउनु हुँदैन । नेतृत्व विकासको रुपमा लिुनपर्छ ।’
‘हाम्रो समाज जस्तो छ त्रिविको स्ववियु चुनावमा पनि त्यस्तै भएको’ उनको तर्क छ । दुजाङ पनि आफ्नो संगठनले कम खर्च गरेको दाबी गर्छन् ।
‘अन्य संगठन भन्दा हामीले कम खर्च गरेका छौं । पार्टीबाट पनि हामीलाई आर्थिक सहयोग छैन । पकेटबाट थोरै खर्च गर्नुपर्ने स्थिति छ,’ उनले भने, ‘अरु संगठनले पार्टीमा भोज गरे, होटल रिसोर्टमा राखे । ठूला संगठनले यस्तो गर्नुहुँदैन ।’
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडाल पनि स्ववियु चुनावमा भद्दा खर्च हुने गरेको स्वीकार गर्छन् । ‘स्ववियु चुनाव महंगो भयो । पैसा हुनेले चुनाव जित्ने स्थिति बनेको छ,’ बडालले भने ।
तोकिएको मितिमा चुनाव नहुँदा पनि खर्च बढेको बुझाइ बडालको छ । ‘चुनाव स्थगित हुने र फेरि गर्ने गर्दा खर्च बढेको छ । तोकिएको मितिमा चुनाव भयो भने कम खर्च हुन्छ,’ बडालले अर्को तर्क गरे ।
तर, अखिल क्रान्तिकारीका महासचिव रोशन थापाले भने फरक मत राखे । ‘पहिलेकोभन्दा कम खर्च हुन्छ । प्रचार प्रसार पनि डिजिटल भएको छ,’ उनले भने ।
क्रान्तिकारीले काठमाडौं उपत्यकाको क्याम्पसको हकमा २० देखि २५ हजारसम्म चुनावी खर्च उपलब्ध गराएको थापाले बताए ।
२०७९ को चुनावमा विजयी भएका स्ववियु अध्यक्षहरूको पनि फरक फरक मत छ । स्ववियु मात्र होइन हरेक चुनाव महंगो भएको तर्क उनीहरूको छ ।
‘सबै चुनाव महंगो भएको छ । उपभोक्ता समितिको चुनावमा त बढी खर्च हुन्छ । विश्वविद्यालयको चुनावले अन्तर्राष्ट्रियस्तरमा सन्देश नै जान्छ,’ विश्वविद्यालय क्याम्पसको २०७९ मा नेविसंघबाट निर्वाचित श्यामराज ओझाले भने ।
विद्यार्थीको एजेन्डा बोकेकामा चुनावी खर्च कम हुने उनको तर्क छ । ‘स्ववियुमा मैले कम खर्च गरेको छु । पर्चा, पम्प्लेट र खानामा खर्च हुने हो । सामान्य तहले गर्दा पनि दुई चार लाख हुन्छ,’ उनले भने ।
पुल्चोक क्याम्पसमा अघिल्लो चुनावमा अनेरास्ववियुबाट निर्वाचित भएका विराज अर्याल यसपटक पनि उम्मेदवार थिए ।
‘काम गरेका साथीलाई खाना, प्रचार प्रसारमा खर्च हुने हो । उम्मेदवार आफैंले खर्च गर्नु पर्दैन । संगठन र शुभेच्छुकको सहयोगमा खर्च गर्ने हो,’ उनले भने ।
अघिल्लो चुनावमा ल क्याम्पसबाट निर्वाचित भएका अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विचार नभएकाले पैसा खर्च गर्ने गरेको टिप्पणी गर्छन् । ‘अन्य संगठनले होटलमा कार्यकर्ता राख्ने गरेको यथार्थ हो । यसले खर्च बढ्ने हो । विचार भएपछि खर्च गर्नुपर्दैन,’ उनले भने, ‘मैले सामान्य खर्चमा चुनाव जितेको हुँ । पैसाले होइन एजेन्डाले चुनाव जित्ने मान्यता स्थापित हुनुपर्छ ।’
डिजिटल प्रचार प्रसारमा अलि बढी खर्च हुने उनको अनुभव छ । भक्तपुर क्याम्पसमा नेविसंघबाट अघिल्लो र यसपटक पनि विजयी भएका पुकार पराजुली विद्यार्थीको मुद्दामा काम गरेकाले खर्च नभएको दाबी गर्छन् । ‘दुई पटक निर्वाचित भएँ । विद्यार्थीसँग ग्राउन्डमा बसेर काम गरेमा खर्च गर्नुपर्दैन,’ उनले भने ।
‘क्याम्पसले गर्ने चुनावमा विद्यार्थीले खर्च गर्ने होइन’
स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालयले गराउने हो । त्यसैले त्रिविले उम्मेदवारले खर्चको बारेमा केही बोलेको छैन । निर्देशिकामा पनि उम्मेदवारले खर्च गर्ने वा नगर्ने केही भनिएको छैन ।
‘हामीले खर्चको कल्पना नै गरेको छैन । चुनाव क्याम्पसले गर्ने हो । विद्यार्थीले खर्च गर्ने होइन भनेर बुझ्ने हो,’ विद्यार्थी कल्याण परिषद्का सदस्यसचिव पशुपति अधिकारीले भने ।
योसँगै आफैं लाखौं खर्च गरेर स्ववियु अध्यक्ष बन्न विद्यार्थीहरू किन लडाईं गर्छन् ? भन्ने प्रश्न उठेको छ ।
राजनीतिमा प्रोफाइल बनाउनकै लागि स्ववियु अध्यक्ष बन्न जोडबल हुने गरेको स्ववियुका अध्यक्षहरू बताउँछन् । ‘राजनीतिको जग निर्माण गर्ने हो । विद्यार्थीबाट निर्वाचित भएको कुरा समाजले पनि स्वीकार गरेको हुन्छ,’ ओझाले भने ।
कसरी चल्छ स्ववियु ?
निर्वाचित स्ववियुको कार्यकाल दुई वर्षको हुन्छ । स्ववियु चलाउन आर्थिक आवश्यक पर्छ । कसरी जुट्छ त आर्थिक भन्ने प्रश्नमा विश्वविद्यालय क्याम्पसमा स्ववियु सभापति ओझा भर्नाको समयमा स्ववियु कोषमा प्रत्येक विद्यार्थीबाट १ सय रुपैयाँ आउने बताउँछन् ।
‘भर्ना हुँदा विद्यार्थीबाट स्ववियु कोषमा आएको रकमबाट कार्यक्रम गर्ने हो । क्याम्पसमा फन्डिङको अभाव छ । बाहिरबाट कार्यक्रम खोज्न भने सकिन्छ,’ उनले भने ।
भक्तपुर क्याम्पसका स्ववियु अध्यक्ष पराजुली पनि भर्ना गर्ने समयमा कलेजले तोकेको रकम स्ववियु कोषमा आउने बताउँछन् ।