९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले अब देशमा राजतन्त्र फर्कन नसक्ने जिकिर गरेका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्ने क्रममा उनले देशमा राजतन्त्र फर्कन्छ भनेर प्रचार भएपनि त्यो सम्भवन नभएको बताए ।
‘अरु देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरूको कस्तो दुर्गति भएको छ नमान्दाखेरी त्यो इतिहासमा प्रमाणित छ । त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्यो । तत्कालीन राजाले,’ निधिले भने, ‘राजा अपदस्त भइसकेको मात्रै होइन, अस्वीकृत भइसकेको छ । नेपालमा राजतन्त्र समाप्त भइसकेको छ । नेपालमा जनताद्वारा निर्वाचित सार्वभौम संसदद्वारा राजतन्त्र अस्वीकृत भइसकेको छ । रिजेक्टेड भइसकेको छ । र ज्ञानेन्द्र अन्तिम राजा हो ।’
अरु देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्नेकुरा आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्ने निधिको भनाइ थियो ।
गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने उनले बताए ।
‘कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ । यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन,’ निधिले भने, ‘नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन् । सबै बोलिरहेका छन् । तर नेपालमा म भन्छु, नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन ।’