काठमाडौं । गायक दुर्गेश थापाले नेपाल सुपरलिगको उद्घाटन समारोहमा प्रस्तुति दिने भएका छन् । चैत १६ गतेदेखि दशरथ रंगशालामा हुने ओपनिङ समारोहमा उनले प्रस्तुति दिने तय भएको हो ।
एनएसएलसँग दुर्गेशको सम्झौता भैसकेको छ । आफूले पहिलोपटक दशरथ रंगशालामा प्रस्तुति दिन लागेको जानकारी पनि दुर्गेशले टिकटकमार्फत दिएका छन् । केही दिनअघि उनी रंगशाला पुगेर कार्यक्रम स्थल अवलोकन गरेका थिए ।
‘प्रस्तुति दिनेबारे उहाँसग सहमति भैसकेको छ’ एनएसएल स्रोतले अनलाइनखबरसँग भन्यो । दुर्गेशले पनि आफूले स्टेजमा धेरै प्रस्तुति दिएपनि पहिलोपटक स्टेडियममा प्रस्तुति दिन लागेको बताए । ‘यसलाई लिएर म उत्साहित छु’ उनले भने ।
रंगशालामा उपस्थित हुने अपेक्षा गरिएका १५ हजारभन्दा धेरै दर्शकसामु दुर्गेशले प्रस्तुति दिनेछन् । चैत १६ गते अपरान्हदेखि एनएसएलको उद्घाटन समारोह सुरु हुनेछ । खेलअघि कलाकारको प्रस्तुति राखिएको छ ।
पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्यै’को कारण दुर्गेश यतिबेला चर्चामा छन् । उनको यो गीत युट्युबलको ग्लोबल ट्रेन्डिङमा समेत परेको छ ।