Friday, March 21, 2025
घरसमाचार‘हामी मैलोधैलो भयौं, सच्चिन जनताकोमा गएका हौं’

‘हामी मैलोधैलो भयौं, सच्चिन जनताकोमा गएका हौं’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र यतिबेला जागरण अभियानमा छ । गत १२ फागुनदेखि नै अभियान थालेको यो पार्टी राजावादीहरुको प्रदर्शनपछि २४ फागुनमा एक्कासि कार्यक्रम स्थगित गरी काठमाडौँ फर्किएको थियो ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल अब धुलो टक्टक्याउँदै अघि बढ्नुपर्छ, रुपान्तरण हुनुपर्छ भन्ने निष्कर्षका साथ पार्टी नेतृत्वले जनतासँग साक्षात्कार गर्ने र आफ्ना गल्ती-कमजोरी आत्मसात गर्ने बताउँछिन् । अघिल्लो चरणको अभियान सकारात्मक भएको उनको दाबी छ । तराई/मधेशमा माओवादी केन्द्रको खस्किँदो जनाधार, पार्टीले सुरु गरेको जागरण अभियान, राजावादीको बढ्दो सक्रियता र पार्टीभित्रको आन्तरिक लोकतन्त्र लगायत विषयमा केन्द्रित रहेर माओवादी केन्द्रकी उपाध्यक्ष भुसालसँग अनलाइनखबरका सुदर्शन खतिवडाले गरेको कुराकानी:

तराई/मधेशमा माओवादी जनाधार त्यति उत्साहप्रद देखिँदैन । तैपनि, तपाईंहरूले अभियान त्यतै केन्द्रित गरिरहनुभएको छ, किन ?

२०६४ सालमा तराई/मधेशतिर हाम्रो जनाधार एकदमै राम्रो थियो । झापादेखि कञ्चनपुरसम्म परिणाम पनि राम्रो आयो । तर क्रमशः जनाधार घट्दै गयो । यस्तो दुई कारणले भयो- एउटा, पार्टीमा टुटफुट भयो । अर्को, गठबन्धनबाट चुनाव लडियो, कहिले कांग्रेससँग त कहिले एमालेसँग मिलेर । उम्मेदवार नै नभएपछि हामीलाई मत दिने कुरा भएन । हामीले समीक्षा गरेको तेस्रो कारण- माओवादी जनताबाट अलि टाढा भयो भन्ने हो । त्यसैले जनतामा जाने निर्णय गर्‍यौं ।

जनसंख्याको ठूलो घनत्व तराईमा छ । राष्ट्रियता र राष्ट्रको हिसाबले पनि बडो रणनीतिक महत्व राख्ने भूभाग । यस्तो ठाउँमा हिजोको माओवादी जनाधार आज किन रहेन भन्ने कुरालाई आत्मसात गरेर जनतामा जाने नीति लिएका हौं ।

तपाईंले आत्मसात भन्नुभयो । केके गल्ती गर्नुभएछ, के भन्दै हुनुहुन्छ जनतालाई ?

पछिल्लो समयमा हामी जनतासँग अलि कट्यौं । सबै क्षेत्रमा हाम्रो उम्मेदवार नहुँदा पार्टी त्यहाँसम्म पुग्ने कुरा पनि कम भयो । पटक-पटक सरकारमा गयौँ, कहिले सरकारको नेतृत्व गरेर त कहिले सहयात्री भएर । अनि सरकार सञ्चालन गर्दा इलाइट क्लासलाई प्राथमिकता दिएजस्तो भयो । कहीं न कहीं बिचौलियाको घेराबन्दी पनि भयो । सरकार बसेर जनतातिर फर्कने कुरा कम गर्‍यौं । यसरी हामी मैलोधैलो भयौं । अब धुलो टक्टकाएर अघि बढ्नुपर्छ, रुपान्तरण हुनुपर्छ भन्नेमा पुगेका छौँ । पहिला त आफूले गरेका गल्ती-कमजोरी जनतालाई भन्नुपर्छ । अनि मात्र जनताबाट माया र समर्थन खोज्ने कुरा हुन्छ । अब रुपान्तरणलाई मुख्य अजेन्डा बनाएर जनतामा जाँदैछौं ।

हामी मैलिएका थियौं । अब सफा भएर आएका छौं भन्दा जनताले पत्याउने अवस्था छ ?

जनताबाट असाध्यै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । जनताको हामीप्रतिको आकर्षण, भरोसा र विश्वास बढेको देखिन्छ । हामी जनताकैमा बस्छौं । जनताकैमा खान्छौं । उहाँहरु जहाँ बस्नुहुन्छ, जस्तोमा सुत्नुहुन्छ हामीले त्यसै गरेका छौं । यसरी जनतासँगको एकाकारले हामीलाई बदलेको छ ।

राजनीतिक दलका यस्ता अभियान केही शुभचिन्तक र कार्यकर्तासम्म मात्रै पुग्ने, भुइँ तहका जनतासँग संवाद नहुने परम्परा थियो । त्यस्तै भइरहेको छ कि ?

हामीले त्यस्तो परम्परा तोडेका छौं । हामी शहीद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गको परिवार, पूर्वजनमुक्ति सेना र पूर्व पूर्णकालीन कार्यकर्ता, पहिले हामीलाई संरक्षण र माया गर्ने जनता र मजदूर, किसान, अझ मधेशका दलित, आदिवासी, मधेशी, मुस्लिम जस्ता समुदायसँग संवाद गरेका छौँ । अघिपछि जस्तै मान्छे जम्मा गर्ने, मञ्चमा उक्लिएर भाषण गर्ने र हिँड्नेमा सीमित छैन हाम्रो अभियान।

हामी प्रत्यक्ष जनतासँग साक्षात्कारमा छौँ । उहाँहरुका कुरा सुनिरहेका छौँ । माओवादी केही बिग्रियो, केही धुलोमैलो लाग्यो । अब हामी हाम्रो वर्ग, समुदायमा फर्कने संकल्प गरेका छौं । हामीले गरेको गल्तीलाई जनताले माफ गर्नुहुन्छ भन्ने विश्वास छ । जस्तो, बच्चाका निम्ति बाबु-आमाको जे भूमिका हुन्छ नि, गल्ती नै गरे पनि, तोडफोड गरे पनि, बिगारे पनि आफ्ना सन्तानप्रति जसरी मातृत्व, बात्सल्य प्रकट गर्नुहुन्छ, त्यस्तै ढंगको युवा, विद्यार्थी, विभिन्न पेसा र समुदायको पार्टीप्रति आकर्षण छ ।

तपाईंले सजिलोसँग भन्नुभयो । तर पटकपटक धोका पाएका मानिसले अलि बढी शंका गर्छन् भनिन्छ । जनताले यति सजिलै तपाईंहरूलाई विश्वास गरे त ?

कतिपयले भन्छन्, तपाईंहरू माफी माग्ने भनेर । हामीबाट जहाँनेर कमजोरी भएको छ, त्यो कुरा जनतासँग भन्छौं । ढाँट्ने, छल्ने, गल्ती-कमजोरी ढाकछोप गर्ने गर्दैनौँ । जनता हाम्रो लागि आदर्श हुन् । निर्णायक हुन् । अभिभावक हुन् । उनीहरु इतिहासका निर्माता हुन् र हाम्रो पार्टीका आधार पनि हुन् । उनीहरूलाई नभने कसलाई भन्ने ?

हाम्रो अभियान तल्लो वर्ग र समुदायमा केन्द्रित छ । त्यसैले सबैले सकारात्मक रुपमा लिएका छन् । किनभने, यहाँ (काठमाडौं) बसेर देखेको भन्दा फरक छ । एकदिन बिहानदेखि बेलुकासम्म हाम्रो अभियानमा हिंड्नुहोस् । त्यहाँ तपाईंले एउटा फरक अनुभूति गर्नुहुनेछ । हाम्रै शब्दमा भनेर, अलिकति फेसबुकमा हालेर, अलिकति सामाजिक सञ्जालमा भन्ने गरिएको भन्दा त्यहाँको अवस्था फरक छ ।

जुनसुकै पार्टीले जितेको पालिका होस्, हामी जाँदा उहाँहरू स्वागत, सम्मान गर्न र आफ्ना समस्या राख्न आउने गर्नुभएको छ । नजिकका वडा, पालिकाका प्रमुखले समेत आफ्ना आवश्यकता बताउने, समस्या राख्ने र भरोसा दिलाउने काम गर्नुभएको छ । पार्टी प्रवेशको पनि ठूलो लहर छ । माओवादीमा प्रवेश गर्नेमा सबैभन्दा बढी त वामपन्थी नै हुने भए । एउटा लामो राजनीतिक पृष्ठभूमि र संस्कार भएका डेमोक्रेटहरू समेत हजारौँको संख्यामा हाम्रो पार्टीमा प्रवेश गरिरहनुभएको छ।

पार्टी प्रवेशको त रोचक सवाल छ । दोस्रो संविधानसभाअघि पेरिसडाँडादेखि कोटेश्वरसम्म पार्टी प्रवेश गर्नेहरूको लाइन हुन्थ्यो । तर मतमा त्यो देखिएन । माओवादी तेस्रो पार्टी बन्यो । अहिले पनि यस्तै हो कि ?

अहिले हामी मत माग्न गएका छैनौं ।

तर, मतकै आशा त होला नि ?

हो, प्रतिस्पर्धाको राजनीतिमा जान्छौं । तर जुन कमिटीबाट आउनुभएको हो, त्यही कमिटीमा संगठित गर्ने गरी सचेत मान्छेको तप्का हाम्रो पार्टीमा आएको छ । पहिलेजस्तो भिड वा मास आएको होइन, हरेकले आफ्नो स्तरका कमिटी छोडेर यता आइरहेका छन् । यो सकारात्मक छ । यसले हामीलाई पनि उत्साहित गरिरहेको छ र, जनतामा पनि माओवादी सकिएको छैन भन्ने नयाँ विश्वास पैदा भएको छ ।

सजिलै रुपान्तरणको कुरा गर्नुभयो । १०-२० वर्षअघि काठमाडौं प्रवेश गरेकाभन्दा माओवादी नेतृत्वमा वर्ग उत्थान भएको छ । यहाँबाट फेरि सच्चिने गरी कुनै नीतिगत निर्णय गर्नुभएको छ कि ? कुनै कमिटी बनाउनुभएको छ कि ?

हाम्रो आफ्नो अनुशासन आयोग छ । लेखा आयोग छ । ती आयोग स्वतन्त्र र स्वायत्त छन् ।

ती त पहिला पनि थिए नि ?

होइन, थिएनन् । अनुशासन आयोग बनाएको एक दुई वर्ष मात्रै भएको छ । गत बैठकमा अलि बढी वर्ग उत्थान भएको कुरा उठेकोले सबैलाई सम्पत्ति विवरण बुझाऊ भनेको छ । हुन त पार्टीको एउटा तहको नेतृत्वले २०५२ सालबाटै सम्पत्ति विवरण बुझाइरहेका छौं । पहिले र अहिलेको तुलना गरे पनि हुन्छ । कसैको बढेको होला, कसैको घटेको होला । कसरी घट्यो, कसरी बढ्यो ? यस्ता कुरा हेर्छौं ।

विवरणमा धेरै नै सम्पत्ति भेटियो भने के गर्नुहुन्छ ?

छानबिन गर्छौं । कारबाही गर्छौं ।

यो तपाईंको सार्वजनिक प्रतिबद्धता हो ?

एकदम हो ।

तपाईंहरू जागरण चाहियो भनेर जनतामा गइरहनुभएको छ । अब त दलभित्र, नेतृत्वभित्र पनि आन्तरिक लोकतन्त्रको लागि एक प्रकारको जागरण ल्याउनुपर्ने बेला भएन र ?

छ । हामीले एक वर्ष अगाडि पहिलोचोटी विधान सम्मेलन गर्‍यौं । अब एक वर्षभित्र महाधिवेशन गर्दैछौं । यद्यपि, जनवादी केन्द्रीयता, लेनिनवादी संगठनात्मक पद्धतिबाट पार्टी संगठन चलाउँदा भए सहमति, नभए बहुमत-अल्पमत गरेर निर्णय टुङ्ग्याउने कुरा हुन्थ्यो नीतिमा पनि, नेतृत्वमा पनि । हरेक इस्युमा यस्तो थियो । तर अहिले चुनाव-चुनाव भन्ने कुरा अलि बढी उठ्यो । चुनाव त कुनै एजेन्डा होइन । केको निम्ति चुनाव, कुन वर्ग र विचारको निम्ति, कुन कार्यदिशाको निम्ति, कुन विचार र कार्यदिशा लिएको नेतृत्वप्रति भन्ने हुन्थ्यो । त्यो त छैन । अहिलेसम्म पनि हामीले हाम्रा प्रस्तावहरू एकमतले पास गरिरहेका छौं । अहिले पनि केन्द्रीय समितिको बैठकमा हामीले एकमतले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्‍यौं । यद्यपि, हाम्रा सुझाव, राय र आलोचना समेटेर तयार पारिएको छ ।

भिडिओ:

कहिलेकाँही एकमतले निर्णय हुनु राम्रो कुरा हो । तर कतै एकमत पैदा भएको पार्टीभित्र फरक मत राख्नेप्रति नेतृत्व असहिष्णु हुने अथवा दशकौंदेखि एउटै नेतृत्व हुँदा नेतृत्वमा प्राधिकारको अत्यधिक केन्द्रीकरण हुने भइरहेको होला । आम गुनासो के छ भने, एउटा राजा त फाल्यौं तर दलभित्रका हरेक नेताहरू नयाँ राजा अर्थात् दलपतिको रूपमा पैदा भए । विकल्प खोज्न दोस्रो पुस्ता तयार नै छैन । उनीहरूले पनि त्यो नैतिकता गुमाइसके !

त्यो होला । तर हामी कम्युनिष्ट पार्टी हौँ । हाम्रोमा जसको विचार उसको नेतृत्व भन्ने हुन्छ । अरु पूँजीवादी पार्टीभित्र विचारको बहसै गर्नुपरेन । त्यही भएर संगठनको मात्रै कुरा हुन्छ । अनि महाधिवेशन, सम्मेलन भनेका कमिटी चयन गर्ने, मतदानबाट टुङ्ग्याउने जस्तो हुन्छ । तर हाम्रोमा हामी विचार र कार्यदिशामा पनि बहस गर्छौं । हामी सशस्त्र जनविद्रोहबाट यहाँ आइपुग्यौं । त्यसपछि संविधान लेखनदेखि कार्यान्वयन हुँदै अब समाजवादमा जाने हाम्रो कार्यदिशा छ ।

हाम्रो संविधानमा लेखेको संविधानको आधार मात्रै होइन, कम्युनिष्ट पार्टीको आफ्नो कार्यदिशा पनि भएकोले समाजवादको आधार तयार पारेर समाजवादमा जाने भनेर हामीले गएको आठौं महाधिवेशनमा कार्यदिशा पनि पास गर्‍यौं । हामीले त्यसका निम्ति विचारको विकास पनि गर्नुछ, कार्यदिशाको परिमार्जन पनि गर्नुछ । अनि हामीले एक्काइसौं शताब्दीमा नेपाली मौलिकताको समाजवाद भनेका छौं ।

अब त्यसलाई मूर्तरुप दिन महाधिवेशन गर्ने भनेका हौँ । पार्टी नेतृत्वको हिसाबले अध्यक्ष कमरेडले त्यो प्रस्ताव ल्याउनुहुन्छ । त्यो ल्याइसकेपछि त्यसमा विमति भएर कसैले फरक मत ल्यायो भने एउटा ढंगको हुने भयो । अन्यथा प्रस्ताव उहाँले ल्याएपछि कार्यान्वयनमा जान्छ । हामी सहज ढंगले आएको पार्टी होइन । भूमिगत, सशस्त्र संघर्ष लगायतबाट …।

तपाईंले सशस्त्र संघर्ष सम्झाउनुभयो । युद्धकालमा आन्तरिक लोकतन्त्रको सन्दर्भमा २१औं शताब्दीको जनवाद नामको प्रस्ताव ल्याउनुभएको थियो । त्यसमा नेतृत्व, पार्टी, सरकार र सेनाबारे नयाँ प्रस्तावहरू थिए । तर प्रचण्ड ३५ वर्षमा नेतृत्व लिएको नेता अर्को ३५ वर्ष अझै पार्टी सत्तामा हुनुहुन्छ ?

तर, कार्यदिशा र त्यसको कार्यान्वयनमा अध्यक्ष सफल हुनुभएको छ । एउटा सफल नेता हुँदाहुँदै अर्को कसले गएर चलाउने त ? हामीले भनेको २१औं शताब्दीको जनवादबारे प्रस्तावमा पार्टी र सत्ताको कुरा बढी हो र युद्धकालमा भएको हुनाले सेनाको पनि । आलोपालोको सिद्धान्त अपनाउनुपर्छ, सधैं एउटा सत्तामा गइराख्ने र अर्को चाहिं पार्टीमा मात्रै गर्नुहुँदैन भन्नेछ । त्यो आलोपालोको एउटा सन्दर्भ चाहिं सरकार सञ्चालन गर्दा प्रधानमन्त्रीमा तीन पटक प्रचण्ड जानुभयो र एकपटक माओवादीबाटै बाबुरामजी जानुभयो । त्यसपछि मन्त्रीमा जाने चाहिं आलोपालो छ ।

हामीले यो महाधिवेशनसम्म पुग्दा थप विचारको विकास गर्नेभन्दा समग्रतामै विचारको विकास पनि गर्छौं । किनकि, यहाँसम्म हामी जसरी आएका छौं, त्यो केवल मार्क्सवाद, लेनिनवाद, माओवाद मात्रै होइन । नेपाली मौलिकतामा सिर्जनशील ढंगले त्यसको कार्यान्वयन गर्दै एक प्रकारले नयाँ जनवादी क्रान्ति हामीले पूरा गरेका हौँ । अब समाजवादी क्रान्तिमा जाने बेला थप विचारको विकास गर्नुपर्नेछ । कम्युनिष्ट पार्टी चल्ने विचारले हो ।

विचारको प्रश्नमा आउँला । तपाईंले अध्यक्ष प्रचण्ड सफल भन्नुभयो । तर एउटा नेता सफल हुने, पार्टी चाहिं मरिच चाउरिए जस्तो चाउरिने अवस्था छ । संविधान पनि सम्झौता नै गरेर बनाउनुभयो । यसरी नेता सफल, पार्टी असफल हुने अवस्था बन्यो नि ?

होइन, पार्टीको पछिल्लो अवस्थाको हामीले समीक्षा गर्‍यौं नि त । त्यसो भएर पार्टी साँघुरो हुँदा हामीबाट कमजोरी भयो भन्ने कुराको समीक्षा गर्‍यौं । कमजोरीको मुख्य जिम्मा त मुख्य नेतृत्वकै हो । उपलब्धिको पनि जिम्मा लिने कुरा हुन्छ, समस्याको पनि प्रमुख जिम्मेवार मूल नेतृत्व नै हुन्छ । त्यसैले अहिले रुपान्तरणको कुरा बाँकीका लागि हो, अध्यक्षका लागि होइन भन्ने होइन । त्यसैले त अहिले अध्यक्ष जनताको घरदैलोसम्म पुगिरहनुभएको छ नि ! यो हाम्रो रुपान्तरणको प्रक्रिया हो । यो अरुको टाउको दुःखाइभन्दा हाम्रो आवश्यकताको कुरा हो यो ।

मार्क्सवादीहरूले सचेत प्रयत्नको कुरा गर्छन् । अध्यक्ष प्रचण्ड र माओवादी केन्द्र हामी बिग्रियौं, सच्चिनुपर्छ भनेर सचेत प्रयत्न गरेर जनताकोमा जानुभएको हो कि सत्ताबाट बाहिरिनुपरेपछि ?

मान्छेले जसो पनि भन्छन् । हामी द्वन्द्ववादी हौं । भएका र नभएका दुवै कुराको हामी समीक्षा गर्छौं । पार्टी भनेको पनि विपरीतहरूको एकत्व हो भनेर हामी मान्छौं । त्यसैले हामी सचेत ढंगले गएको हो । अब हामी तीन/साढे तीन वर्ष पूरै जनतामा जाने हो र आफ्नो पार्टीलाई बलियो बनाउने, आफ्नो वर्ग र समुदायमा केन्द्रित हुने र आफूलाई रुपान्तरण गर्ने हो । पार्टी सानो भएकोमा कसैलाई दोष दिएका छैनौं । यो पार्टीको आन्तरिक कारण हो यो । त्यसैले रुपान्तरणको कुरा गरेका हौं ।

जनतामा जाने कुराको लामै पृष्ठभूमि छ । अध्यक्ष प्रचण्ड लाजिम्पाटतिर बस्दा पनि उहाँले जनतामा जाने भन्नुहुन्थ्यो । तर रुपान्तरण भएर देखाउन पार्टीले सकेन । यसपटक कसरी विश्वास दिलाउनुहुन्छ ?

हामी जनताको प्रतिक्रियाबाट उत्साहित छौं ।

अहिले युद्धको बेला दुःख पाएका नेता/कार्यकर्ता, शहीद-बेपत्ता परिवार, घाइते अपाङ्गहरूको मनोभाव कस्तो पाउनुभयो ?

माओवादी एकताबद्ध भएको हेर्ने उहाँहरूको चाहना छ । हामीले शहीदले देखेको सपनाको बाटोमा हिंड्ने संकल्प गरेका छौं । उहाँहरूले माया, सद्भाव, विश्वास र आफ्ना भावना राख्नुभएको छ । सकारात्मक हुनुहुन्छ ।

शहीद परिवारकै आँगनमा टेकेर काठमाडौँ फर्किनुभएको छ र फेरि त्यतै फर्कने कुरा रहेछ । यहीबीचमा राजावादीहरूले प्रदर्शन गरे । त्यो प्रदर्शनले गणतन्त्रवादीको टेक्ने धरातल हल्लाइदिएजस्तो देखियो । राजावादीको सानोतिनो प्रदर्शनबाटै डराउनुपर्ने कति कमजोर गणतन्त्र ल्याउनुभएको रहेछ तपाईंहरूले ?

गणातन्त्र किन कमजोर ? कसैको हुकुम प्रमाङ्गीबाट हामीले संविधान लेखेको पनि होइन । परिवर्तन भएको पनि होइन । दशौं हजार जनताका छोराछोरीको त्याग, तपस्या र बलिदानको जगबाट ल्याएको गणतन्त्र हो । आम जनताको सहभागिताबाट, दुई/दुई चोटि संविधानसभाको निर्वाचन भएर जनप्रतिनिधि निकायले लेखेको संविधान हो । हो, यो सम्झौताको संविधान पनि हो । किनकि, संविधान हामीले मात्रै लेखेर लेखिंदैनथ्यो । कैयौं कुरामा सम्झौता गर्‍यौं, कैयौं कुरा नोट अफ डिसेन्टमा राख्यौं र नेपालमा एउटा युग परिवर्तनको संविधान त ल्यायौं नि ।

समाजवाद, साम्यवाद संविधानबाटै खोजेर त पाउने होइन । साढे दुई सय वर्षको सामन्तवाद, निरंकुशतन्त्र, वंशवाद, परिवारमा आधारित सामन्ती व्यवस्था अन्त्य गर्‍यौं र जनताको सबैभन्दा उत्पीडित वर्ग र समुदायको राज्यसत्तामा प्रतिनिधित्व र नेतृत्वलाई सुनिश्चित गर्दै अनि जनताप्रति उत्तरदायी र इतिहासमा पहिलोचोटि जनता सार्वभौम गराउने कुरा हामीले सम्पन्न गर्‍यौं । यो सानो कुरा होइन ।

राजनीतिक परिवर्तनको सापेक्षतामा आर्थिक, सामाजिक विकासको कुरा गर्नुपर्थ्यो, खासगरी आर्थिक समृद्धि र विकासको कुरा । त्यो पनि सामाजिक न्यायमा आधारित । भने जति सकिएको छैन । भएकै छैन भन्ने होइन । लामो समय सामन्तवादले नेतृत्व गरेको र अहिले १७/१८ वर्ष गणतन्त्र आएयताको विकास हेर्नुभयो भने भौतिक संरचनाको कुरा, जनशक्ति र मानवीय शक्ति विकासको कुरामा गुणात्मक हिसाबले अगाडि छौं । तर योभन्दा बढी आवश्यक छ ।

वृद्धि र विकास फरक कुरा होला । विकास त सापेक्ष कुरा होला । हामीले संसारसँग पदचाप मिलाउन सकिरहेका छौं कि छैन भन्ने होला । सँगै, आन्दोलनको बेला तपाईंहरूले नागरिकलाई रुमानी सपना देखाइदिनुभयो नि ?

गणतन्त्र-लोकतन्त्र आउनु चानचुने कुरा हो ? महिला, दलित, जनजाति, आदिवासी, मधेशी, मुस्लिम जस्ता उत्पीडनमा परेका समुदायको राज्यका निकायमा प्रतिनिधित्व सुनिश्चित गर्ने कुरा, समावेशी समानुपातिकको कुरा त्यो सामान्य हो ?

तर, त्यसको सापेक्षतामा हामीले आर्थिक विकास, सानै भए पनि औद्योगिकीकरण, कृषिको उत्पादकत्व, पर्यटन हाम्रो निम्ति एउटा बहुआयामिक र बाह्रै महिना चल्ने हाम्रा विशेषता छन् । जलस्रोतमा हामी सम्पन्न छौं । त्यसको विकास त यसबीचमा राम्रो भएको छ । जुन ढंगले गर्नुपर्ने हो त्यो पुगेन ।

म तपाईंलाई केही कुरा सम्झाउँछु । संघीयता ल्यायौं, सिंहदरबार घरघरमा पुग्यो भनेका छौं । तर निजामती विधेयक अलपत्र छ, संघीय शिक्षा विधेयक त्यस्तै छ । प्रहरीको कुरा त्यस्तै छ । युद्धको समय बलात्कारपीडित महिलाले १८ वर्षसम्म न्याय होइन, पहिचान पनि पाइरहेका छैनन् । संक्रमणकालीन न्यायको अवस्था त्यस्तै छ । जनताले साँच्चै गणतन्त्र आएको महुसस गर्न पाएका छन् त ?

देश स‌ंघीयतामा गइसकेपछि केही नै भएको छैन भन्ने होइन । धेरै काम भएका छन् । दोस्रो कुरा, शान्ति प्रक्रियाको सत्य निरुपण र बेपत्ता सम्बन्धी काम ६ महिनामा टुंग्याउने भनेर विस्तृत शान्ति सम्झौतामा उल्लेख गरियो तर गर्न सकिएन । त्यसको लागि हामी मात्र जिम्मेवार हुन्छौं ? स्टेकहोल्डर त अरु पनि छन् नि । स्टेक होल्डर चाहिं त्यसमा सहमत छन् । स्टेकहोल्डर बाहेकका यी परे हुन्थ्यो, यता परे हुन्थ्यो भन्नेको अवरोध हामीले बारम्बार भोगेका छौं । तर पनि हामीले के कुरा खोजेनौं भने बहुमत पुर्‍याएर यसलाई पास गरौं पनि भनेनौं ।

यो धेरै महत्वपूर्ण र संवेदनशील विषय हो । बहुमतले पास गरेर गर्ने राष्ट्रिय विषय मात्रै नभएर यसको अन्तर्राष्ट्रिय आयाम पनि हुने भएकोले सहमति भन्दा-भन्दा १६/१७ वर्षपछि गएर बल्ल त्यो ऐन पास गर्‍यौं । तर अब कार्यान्वयनको निम्ति आयोग बन्नुपर्नेछ । आयोग बन्न एउटा सिफारिस समिति त बन्यो तर त्यसले पनि कसैलाई सिफारिस गर्न सकेन । पदावधि सकिएको ३/४ महिना भइसक्दा अझै आयोग बनेको छैन । अब हामीले के गर्ने ? त्यसैले यो हाम्रो मात्रै हातको कुरा थिएन । त्यसैले त हामीले सकेन भन्यौं ।

तर, तपाईंले सबै चिज ठिकठाक छ भनिरहँदा कुनैबेला प्रजा/रैतीबाट सार्वभौम नागरिक बनेका मान्छेहरू फेरि म प्रजा नै बन्छु भनेर सडकमा जानुपर्ने अवस्था कसरी बन्यो ?

हिजो नेपाली क्रान्ति मौलिक ढंगले कार्यान्वयन भयो । जनताको अभिमतद्वारा संविधानसभामा ९९ प्रतिशतभन्दा पनि बढी, करिब-करिब शतप्रतिशत मान्छे गणतन्त्रको पक्षमा भएपछि शान्तिपूर्ण ढंगले घर गए । अन्यथा के हुन्थ्यो भने, अरु देशको क्रान्ति हेर्नुभयो भने कि मारिने कि भाग्ने हो नि !

म अन्तरिम सरकारमा पनि थिएँ । गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । कृष्णप्रसाद सिटौला गृहमन्त्री हुनुहुन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी छोड्ने कुरा भयो । गणतन्त्र घोषणा भयो । हामीले शान्तिपूर्ण ढंगले वहिर्गमन होस् भन्यौँ । पूर्वराजाले पनि जनताको अभिमत मान्छु भनेर घोषणा गरेकाले निर्मल निवास, नागार्जुन, गाडी, सुरक्षा सबै दिएर बडो सदासयतासहित पठायौं । जनताको अभिमत मान्छु भनेर हार्दिकतापूर्वक स्वीकारेको तपाईं-हामी सबैले देखेका हौं । तर अहिले १७-१८ वर्ष हुँदा फेरि निरंकुशताको ग्रन्थी रसाउँछ भन्ने कुरा कसले सोच्छ ?

हाम्रो संविधानमा भौगोलिक अखण्डतासहित अपरिवर्तनीयमध्येको गणतन्त्र पनि हो । अहिले संविधानको अपरिवर्तनीय विषयलाई लिएर सडकमा आउने कुरा यदि निरंकुशतन्त्र भएको हुन्थ्यो भने तिनीहरू धेरै पहिले नै जेलमा जानुपर्थ्यो, दण्डित हुनुपर्थ्यो वा देशै छाडेर भाग्नुपर्थ्यो । हामीले ल्याएको लोकतन्त्रमा त मान्छेले आफ्नो विचार राख्न पाउनुपर्छ भन्ने ग्राउन्ड दिएको कुरालाई दुरुपयोग गर्ने हो भने क्षम्य हुँदैन ।

पूर्वराजा लोकतन्त्रले दिएको स्वतन्त्रता र मर्यादा मिचेर आए ?

हिजो जे कुराको स्वीकारोक्ति थियो, अहिले त्यसको आफैंले आफैंलाई उल्लंघन गरेका छन् । लोकतन्त्रको मैदानमा उनले आफ्नो कुरा राखून्, केही भएन । तर फेरि असम्भव र असंवैधानिक कुरा, नेपाली जनताले अस्वीकार गरिसकेको र संविधानमा लेखिसकेको कुराको विरुद्धमा आउन खोज्नु राम्रो होइन । हामीले लोकतन्त्रको अभ्यास गर, पार्टी खोल, चुनावमा आऊ, राष्ट्रपति होऊ वा प्रधानमन्त्री जे हुनु छ होऊ भनेकै छौँ त ।

यसो भनिरहँदा तपाईंहरूले गणतन्त्रवादी शक्ति सडकमा उतार्ने कार्यक्रम पनि राखिसक्नुभएको छ । तपाईंले प्रदर्शन गर्नुपर्ने थियो सरकार र संसदबाट तर, सडकमा प्रदर्शन गर्दै हुनुहुन्छ त्यो पनि १८ वर्षअघि अन्त्य गरेको राजतन्त्रविरुद्ध ?

तपाईं तथ्यभन्दा बाहिर जानुभयो । हामीले मधेशको अभियान केही दिन स्थगित गर्यौं । संसदमा पहिलोचोटि हाम्रो अध्यक्षले प्रमुख प्रतिपक्षी दलको हिसाबले सम्बोधन गर्नुभयो । संसदको पनि प्रयोग गर्‍यौं । त्यसपछि फेरि जनतालाई पनि सम्बोधन गर्छौं । यो त स्वाभाविक प्रक्रिया हो ।

त्यसो त, हामी आफूलाई अलि बढी जिम्मेवार किन ठान्छौं भने, गणतन्त्र माओवादीको एजेन्डा र दशौं हजारको सहादतबाट जनयुद्धमार्फत जनआन्दोलनसहितको सहमतिबाट आएको हो । त्यसैले हामी भन्छौं- गणतन्त्रबारे औंला उठाउने छुट कसैलाई छैन ।

गणतन्त्रबारे प्रश्न उठाउने छुट कसैलाई छैन भन्नुभयो । गणतन्त्र नि:शर्त व्यवस्था त होइन नि ?

गणतन्त्र त हाम्रो संविधानले अपरिवर्तनीय भनेको हो । जनतालाई सार्वभौम बनाएको पहिलो संविधान हो यो ।

कुनैबेला त राजतन्त्र पनि अपरिवर्तनीय नै थियो नि ?

थियो, तर टिक्यो त ? किनकि, त्यो निरंकुश, तानाशाही, वंशवाद, परिवारवाद लगायतका विकृति/विसंगतिको एउटा पुञ्ज थियो र जनताले त्यसबाट छुटकरा खोजे । तर छुटकारा पाउन दशौं हजारको बलिदान, हजारौंको जेलनेल, यातना, हजारौं बेपत्ता र एउटा ठूलो समय खर्चिएर यहाँ आइपुगेका हौं । त्यसैले अब समाज पछाडि फर्कंदैन । विकासको नियम पनि हो यो । त्यसैले प्रतिगामी प्रतिक्रान्तिकारीहरूले टाउको उठाउने दुस्साहस गरे भने जनतालाई खबरदारी किन नगर्ने ? उनीहरूलाई सचेत किन नगराउने ?

खबरदारी गर्ने नाउँमा अलि अगाडि संसदीय लोकतन्त्रको सामान्य अभ्यासविपरीत संसदका दुई दल मिले । अब गणतन्त्र जोगाउने भन्दै संसदका प्रमुख तीन दल मिल्ने प्रयास सुरु भएको हो ?

त्यो त तपाईं मिडियाहरुको कुरा हो ।

तपाईंको एकजना सांसदले सार्वजनिक रूपमा बोलेको कुरा हो नि ?

बोल्नुभयो होला । उहाँलाई केही लागेर बोल्नुभयो होला । तर हामी अहिले पनि सरकारमा जान इच्छुक छैनौं । हामी तीन वर्ष जनतामै गएर काम गर्छौं । गठबन्धन सरकार चलोस् भनेर हाम्रो अध्यक्षले संसदमै बोल्नुभएको छ ।

हामीले जनताको बीचमा पनि त्यो भनेका छौं । यसको अर्थ उहाँहरूले जे पनि गर्ने भन्ने होइन । उहाँहरू पाँचै वर्ष आफ्नै कारणले नटिक्नुहोला । अघिल्लो सरकारले गरेका काम उल्ट्याउने, बिचौलियाको हितमा सञ्चालित हुने, लोकतन्त्रको भरपूर उपयोग नगरी संसदमा छलफल गर्नुपर्ने समय भएको बेलामा पनि अध्यादेशबाट शासन चलाउन खोज्ने, त्यसका कन्टेन्टहरू माफिया र भूमाफिया लगायतका लागि हुने गरी ल्याउनु जस्ता कारणले हामीले त्यो पनि गलत भो भनेका छौं । सच्चिनुस् र चलाउनुस् भनेका छौं ।

तर, हरेक दिन महान्यायाधिवक्ताको काम छानबिनबाट दोषी देखिएकालाई मुद्दा नलगाउने निर्णय गर्ने काम भइरहेको छ । जसरी अध्यादेश आइरहेको छ र सरकारले काम गरिरहेको छ, त्यसले एकातिर जनतालाई निराश बनाएको छ भने अर्कोतिर प्रतिगामीहरूलाई टाउको उठाउने एउटा धरातल बनाइदिएको छ । यसको हामी भण्डाफोर गरिरहेका छौं ।

सँगै, गणतन्त्र हामीले उठाएको भए पनि समग्रमा राष्ट्रको र अहिले सत्तामा भएका दलहरुको पनि सहभागिता र सहमतिद्वारा गणतन्त्रलाई स्थापित गरेको हो । यसको रक्षाको निम्ति उहाँहरू पनि बोल्नुपर्छ । गणतन्त्रको रक्षाका लागि सबै शक्ति एक ठाउँमा आउनुपर्छ तर त्यसको अर्थ अर्थ अहिले भर्खरै सरकार बनाएर यताउता भन्ने हामीतिर छैन ।

एकातिर राजावादीहरूको ध्रुवीकरण बढ्यो भने त्यसको प्रतिक्रियामा गणतन्त्रवादी शक्तिहरूको पनि अर्को ध्रुवीकरण हुने होला नि ? यसले बिस्तारै सत्ता सहकार्यतिर लैजाला ? 

गणतन्त्रवादीहरूको ध्रुवीकरण हुनुपर्छ । तर त्यो सत्तासम्म पुग्नुपर्छ भन्ने छैन । सरकारले प्रतिगामी शक्तिले टाउको उठाउने वातावरण तयार गर्नुहुँदैन । अहिले अति विशिष्टलाई किन चाहियो सेवा सुविधा ? देश ग्रे लिस्टमा परेको छ, त्यसबाट छुटकारा पाउनु पर्दैन ? त्यता पो सोच्ने र छलफल गर्नुपर्छ र यसका लागि कैयौंका सेवा सुविधाहरू कटौती गर्नुपर्छ ।

तपाईंकै पार्टीका पूर्वप्रधानमन्त्रीहरू, पूर्व उपराष्ट्रपतिले हामी सेवा सुविधा लिन्नौं भनेर घोषणा गरेर पो यसलाई सच्याउन सकिन्थ्यो कि ? 

उहाँहरूले लिनुभएको छैन । एकजना राष्ट्रपति मेरै छेउमा बस्नुहुन्छ, एउटै टोलमा । तलपट्टि घर छ । रोडको नाम राष्ट्रपति मार्ग भनेर राखिएको छ तर, माख्लोपट्टि सरकारबाट सुविधा लिएर घरभाडामा बस्नुभएको छ । यो ढंगले किन गर्नुपर्‍यो ? त्यसैले अहिले त बरु सुविधा कटौती गर्ने बेला हो । किनकि हामी आर्थिक संकटमा छौं । जनतामा असन्तुष्टि छ । अझ जनतामा आक्रोश थप्ने काम गर्नहुन्छ ? विशिष्टहरूलाई सुरक्षा दिनुपर्छ ।

यसलाई माओवादीले एजेन्डा नै बनाएर अगाडि लैजान्छ ?

हामीले त भनिसक्यौं ।

यसो चर्चा चलेको बेला एकपटक भनिदिने अनि छोडिदिने ? 

होइन । हामी हाम्रो अध्यक्षलाई आफैं पाल्न सक्छौं । हाम्रो पार्टीले पाल्न सक्छ ।

अहिले पालिरहेको छ ? 

पाल्छ । उहाँ आफैं पनि सुकुम्बासी होइन । केही छ । सांसद हुनुहुन्छ, तलब आउँछ ।

भनेपछि पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँले केही सुविधा लिनुभएको छैन ? 

सेक्युरिटी बाहेक अरु लिनुभएको मलाई थाहा छैन । जनताले खान नपाउने, औषधि नपाउने, युवाहरूले देशभित्र रोजगारी नपाउने अनि एकथरि मानिसले चाहिं सुविधाको नाममा लिइरहने ? त्यसैले सुविधा लिनुहुँदैन भन्छु म ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -