५ चैत, काठमाडौं । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको छलफल राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्न तत्काललाई टरेको छ ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डसहितको बैठक राख्ने प्रयास गरेका थिए । यसका लागि थप पहलकदमी भने उनले आफ्ना विज्ञ सल्लाहकार अग्नि खरेलले लिएका थिए ।
जसअनुसार ३ चैतमा प्रचण्डलाई भेट्न खरेल खुमलटार नै पुगेका थिए । ‘विषय टीआरसी नै हो । प्रधानमन्त्रीले यो विषय छिटो टुंग्याउन चाहेको र तपाईंहरू बस्नुपर्यो भन्ने कुरा राखेको थिएँ,’ खरेलले अनलाइनखबरसँग भने, ‘उहाँको पनि कुरा सकारात्मक नै छ, बसेर टुंग्याउने भन्नुभएको छ ।’
प्रधानमन्त्रीका सल्लाहकार खरेलले खुमलटार नै पुगेर आग्रह गरेकाले हिजो (४ चैतमा) नै तीन नेताबीच बैठक हुने आश प्रधानमन्त्री ओलीले गरेका थिए । त्यसअनुसार आफ्नो दैनिक कार्यतालिका मिलाएका पनि थिए । आफ्ना सचिवालयलाई बैठक साँझ बस्न सक्ने जानकारी दिएका थिए ।
तर प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको सूचना बालुवाटार पुग्यो । यसपछि फेरि आजका निम्ति बैठक राख्ने तय भएको थियो । ‘हामीले हिजैदेखि कुरिरहेका छौं, उहाँको समय मिलेको छैन,’ बालुवाटार स्रोतले भन्यो ।
प्रचण्ड भने खुमलटारबाट बालुवाटार नगएर चितवन पुगेका छन् । ‘आज चितवन हुनुहुन्छ, अब त्यहीँबाट अभियानमा जोडिनु हुन्छ,’ प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने । उनका अनुसार १० चैत भन्दा अगाडि प्रचण्ड काठमाडौं आउने कार्यसूची छैन ।
हुलाकी राजमार्गमा चलिरहेको माओवादी जागरण अभियान स्थगित गरेर गत २४ फागुनमा नेताहरूसहित प्रचण्ड काठमाडौं आएका थिए । राजावादी गतिविधि बढेको भन्दै काठमाडौं आएपछि लगातारजसो बैठकमा प्रचण्ड सहभागी भए । पार्टी पदाधिकारी र समाजवादी मोर्चाका नेताहरूसँग छलफल गरेर आगामी १५ चैतमा राजधानीमा शक्ति प्रदर्शनको निर्णय भएको छ ।
यहीबीच प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसहितको बैठक राख्न चाहेका थिए । त्यसका निम्ति आफ्नो सचिवालयबाट समेत प्रचण्डसम्म सूचना पुर्याएका थिए । प्रचण्डको सचिवालयले भने यस्तो सूचनाको खण्डन गरिरहेको छ ।
यद्यपि माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा भने तीन नेताबीच बैठक राख्ने कुरा भएपनि कहिले बस्ने भन्ने नटुंगिएकाले यसपटक संभव नभएको बताउँछन् । ‘नेताहरू बस्दै नबस्ने, कुरै नगर्ने भन्ने हुँदैन । तर यसपटक बैठकको मिति र समयबारे कुरा भएको थिएन’, उनी भन्छन् ।
प्रधानमन्त्रीका सल्लाहकार खरेलसँग कुरा भइसकेको र प्रचण्ड फर्केपछि नेताहरूको बैठक हुनसक्ने सापकोटा बताउँछन् । हिजो स्वास्थ्य समस्या देखिएको र आज पूर्वनिर्धारित कार्यक्रम भएकाले चितवन जानु परेको माओवादी नेताहरु बताउँछन् ।
प्रचण्ड मधेशतिर लागेपछि ओली र देउवाबीच बालुवाटारमा साँझ छलफल भएको छ । स्रोतका अनुसार ओली र देउवाबीच टीआरसी, संविधान संशोधन कार्यदल बनाउने, सरकार सञ्चालन लगायतबारे छलफल भएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार खरेल भने हिजोआज हुन नसकेपनि प्रचण्ड काठमाडौं फर्केपछि तीन नेताको बैठक बस्ने बताउँछन् । ‘राजनीतिक दलहरू एउटा टुंगोमा पुग्नुपर्छ, त्यसका लागि नेताहरूको नकारात्मक कुरा छैन’, उनी भन्छन् ।