
– सन्तोष मिश्र
नेपालको राजनीतिक परिदृश्यमा जब जब सत्तासीनहरूले जनताका अपेक्षाविपरीत कदम चाले, तब-तब प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने गरेको छ। तर विडम्बना, अहिले प्रतिपक्षमा रहेका ठूला दलहरू नै मौन देखिँदा, सानो दल भएर पनि आम जनता पार्टी (आजपा) स्पष्ट धारका साथ आवाज बुलन्द गरिरहेको छ।
पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साह नेतृत्वमा आजपाले संसददेखि सडकसम्म सरकारलाई खबरदारी गर्ने अभियानलाई तीव्र बनाएको छ। सरकारको भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती र जनविरोधी नीतिहरूको कडा विरोध गर्दै, देश र जनताको हकहित विपरीत हुने हरेक गतिविधिलाई निष्पक्ष रूपमा बेनकाब गर्ने साहस देखाइरहेको छ।
सत्ता बाहिरका दलहरू किन मौन?
प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा सत्ताको बाहिर रहेका अरू दलहरू सरकारको निर्णय र गतिविधिहरूप्रति स्पष्ट रूपमा उत्रिन सकेका छैनन्। प्रश्न उठ्छ— किन? भ्रष्टाचारका पुराना मुद्दाहरू, व्यक्तिगत स्वार्थ, राजनीतिक समीकरण वा भोली आफूमाथि कारबाहीको डर? जे भए पनि, परिणामस्वरूप ठूला प्रतिपक्षी दलहरू नै मौन बस्दा आजपाले मात्र वास्तविक प्रतिपक्षी दलको भूमिकामा आफूलाई उभ्याइरहेको छ।
“सत्ताको गलत कामविरुद्ध आवाज उठाउन प्रतिपक्षमा रहनैपर्छ भन्ने छैन, तर प्रतिपक्ष भएर पनि मौन बस्नु जनता र लोकतन्त्रका लागि दुर्भाग्य हो,” अध्यक्ष साहले पटक-पटक भन्ने गरेका छन्।
संसदभित्र र बाहिर प्रखर आवाज
छोटो अवधिमा नै, आजपाले विभिन्न राष्ट्रिय मुद्दाहरूमा खुलेर आफ्नो अडान राख्दै आएको छ। चाहे त्यो अर्थतन्त्रको गिरावट, सरकारी निकायमा भ्रष्टाचार, वा जनताको मौलिक अधिकारमाथि आँच आउने निर्णयहरू हुन्— आम जनता पार्टी ले यी विषयमा सरकारलाई कटघरेमा उभ्याइरहेको छ।
सडकमा आन्दोलन गर्ने मात्र होइन, सदनमा पनि जनताको आवाजलाई बुलन्द पार्न आजपाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। ठूला दलहरूसँग संसदीय बहुमत छ, शक्ति छ, तर जनताका सवालमा चुप बस्ने प्रवृत्तिले जनतामा वितृष्णा बढाएको छ। यही मौकामा आजपा जनताको वास्तविक मुद्दामा केन्द्रित रही अगाडि बढ्दै छ।
सानो भए पनि बुलन्द आवाज
प्रतिपक्ष दलको संख्या कम हुनु ठूलो कुरा होइन, मुख्य कुरा प्रतिपक्ष कति स्पष्ट छ, कति इमानदार छ र कति प्रभावकारी रूपमा सरकारको गलत क्रियाकलापविरुद्ध लडिरहेको छ भन्ने हो। आजपाले सत्ता बाहिरको अन्य दलहरूको निष्क्रियताबीच, आफ्नो सानो संख्यालाई बाधक नभई जनताको वास्तविक आवाजलाई बुलन्द पार्ने हिम्मत देखाएको छ। यही कारणले नेपालको आम जनता पार्टी हाल सानो भए पनि, सशक्त प्रतिपक्षको भूमिकामा उभिन सफल देखिएको छ।