२४ फागुन, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप टी-२०आई शृंखलामा आज चौथो दिनका खेलहरू हुँदै छन् ।
नेपालले आफ्नो चौथो खेलमा नामिबियासँग खेल्दै छ । युगाण्डा र हङकङको खेल पनि छ । नेपालको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ ।
नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङसँग २ रनले परााजित भएको थियो ।
नामिबियाले पहिलो खेलमा नेपाललाई हराएपनि युगाण्डा र हङकङसँग पराजित भएको थियो । अंकतालिकामा युगाण्डा र हङकङ ४-४ अंकसहित पहिलो र दोस्रोमा छन् ।
नेपाल र नामिबिया २-२ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । नेपालले यसपछि फागुन २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।
यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट