देउखुरी (दाङ) । यहाँको घोराही उपमहानगरपालिका–६ का गाउँ बस्तीका सडक विस्तार हुँदा स्थानीयलाई सुविधा भएको छ ।
चैनपुर–अघरा सडक वर्षौँदेखि ‘ग्राभेल’ मात्र थियो। अहिले पक्की नालासहितको सडक विस्तारले गाउँलेलाई हिँडडुल गर्न सजिलो भएको हो ।
सो सडकमा पक्की नाला र सडक विस्तार सकिएको छ । घोराही उपमहानगरपालिका–६ अघराका रमा घर्ती घोराही बजार पुग्न आधा घण्टा पैदल हिँडेपछि मात्र गाडी भेट्ने ठाउँमा पुग्नुहुन्थ्यो । अहिले गाउँको सडक नालीसहित विस्तार भएपछि घरमै अटोरिक्सा आउने गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारले पूर्वाधार विकासमा जोड दिँदै गाउँलाई सडक सञ्जालमार्फत जोड्ने काम तीव्र रुपमा अघि बढाएका कारण सहज भएको उहाँले बताउनुभयो ।
सडक विस्तार भएसँगै गाउँघरको जीवनशैलीमा परिवर्तन आएको उहाँको भनाइ छ । गाउँघरमा उत्पादन भएका कृषिजन्य उत्पादन सजिलै सहरसम्म पुर्याउन सकिने र आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।
अघरा–जजरागाउँ सडकमा पक्की नाला निर्माण र सडक विस्तार सकिएको छ । सडक सञ्जालको विस्तारले शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको स्थानीय चन्द्रिका शर्मा बताउनुहुन्छ । वर्षामा हिलो र हिउँदमा धुलो उड्ने भएकाले बालबालिकालाई विद्यालय पुग्न असजिलो थियो । हाल सडक बिस्तार भएसँगै सबैलाई सजिलो भएको उहाँले बताउनुभयो । गाउँमा सञ्चार, विद्युत्, खानेपानीका धारा घरघरमा पुगेका छन् ।
घोराही उपमहानगरपालिका–६ का अध्यक्ष विष्णुराम आचार्यले वडाभित्र सडक नपुगेका स्थानमा नयाँ ट्रयाक खोल्ने र भएका सडकमा स्तरोन्नति गरिरहेको बताउनुभयो । स्थानीय सरकारले स्थानीयस्तरमा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ ।
त्यसैगरी आव २०७९/८० मा १० किमी र आव २०८०/८१ मा १८ दशमलव ८० किमी सडक कालोपत्रे भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सात वर्षमा कूल दुई सय १७ दशमलव २५ किमी सडकको ग्राभेल तथा स्तरोन्नति गरिएको छ । त्यसैगरी एक सय ६८ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम गरिएको छ ।
उपमहानगरपालिकाले ७ मिटरका सडकहरूमा नालासहित कालोपत्रे गरिरहेको र नालासहित कालोपत्रे गर्दा ढल निकासमा सहयोग पुग्ने चौधरीले बताउनुभयो ।रासस