Monday, March 10, 2025
घरसमाचारन्यायाधीशले विवेकपूर्ण तरिकाले न्याय पर्ने गरी निर्णय गर्नुपर्छ:  प्रधानन्यायाधीश राउत

न्यायाधीशले विवेकपूर्ण तरिकाले न्याय पर्ने गरी निर्णय गर्नुपर्छ:  प्रधानन्यायाधीश राउत

काठमाडौँ ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय पर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज ‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्घाटन गर्नुहुँदै उहाँले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो । 

“महिला न्यायाधीशको उपस्थितमा गौरव गरिरहँदा न्यायको स्वच्छता, विवेकपूर्ण निर्णय जरुरी छ”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “न्यायको उपभोक्तालाई न्याय पर्ने गरी, न्यायालयको गरिमा र  मर्यादालाई ध्यानमा राखेर काम गर्न जरुरी छ ।” उहाँले महिला न्यायाधीशलाई घर, परिवार, न्याय सम्पादनको काम गर्नुपर्ने जिम्मेवारी भए पनि मेहनत गरेमा निःसन्देह सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपालको प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पछिल्लो तीन वर्षमा महिला न्यायाधीशको उपस्थित राम्रो हुँदै गएको र महिला न्यायाधीशमा क्षमता, साहस र अध्ययन जरुरी भएको बताउनुभयो । उहाँले न्यायिक निर्णय गर्दा न्याय पर्ने गरी निर्धक्क भएर गर्नुपर्ने र त्यसका लागि महिला न्यायाधीश अब्बल हुनुपर्नेमा जोड दिनुभयो । 

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले न्यायको सेवा दिने बेलामा महिला न्यायाधीश मात्रै संवेदनशील हुन्छन्, भन्ने नभए पनि महिला न्यायाधीशको उपस्थित महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले क्षमताको प्रश्न आउँदा महिला न्यायाधीशको मात्रै बढी आउने भएकाले क्षमता अभिवृद्धि, अध्ययनमा बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले गुणस्तरीय न्यायका लागि यस्ता सम्मेलन जरुरी भएको र न्याय सम्पादनमा समेत सहज हुने बताउनुभयो । न्यायाधीश समाज नेपालका महासचिव टेकनारायण कुँवरले न्यायिक क्षेत्रमा महिला सहभागिता र न्यायालयमा लैङ्गिक समानता दिलाउन आवश्यक छलफल गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । 

सम्मेलनमा ५० जना देशभर कार्यरत महिला न्यायाधीश र १० जना पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीश गरी ६० जनाको सहभागिता रहेको छ । सम्मेलनमा प्रथम महिला प्रधानन्यायाधीश कार्कीलाई न्याय क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रधानन्यायाधीश राउतले सम्मान गर्नुभएको थियो ।

सम्मेलनमा न्यायपालिकामा समावेशीता र महिला न्यायाधीशको प्रतिनिधित्व, चुनौती र सम्भावनाका विविध विषयमा छलफल भइरहेको छ । यसअघि, गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -