२४ फागुन, काठमाडौं । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।
घोराहीमा शनिबार भएको फाइनल खेलमा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवललाई ३-१ को सेटमा हराउँदै मणिमुकुन्दले उपाधि जितेको हो । कडा प्रतिष्पर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५–१४,२७–२९,२५–१९ र २५–२० को जित निकाल्दै उपाधि हात पारेको हो ।
पहिलो सेट मणिमुकुन्दले जित्दा दोस्रो सेट न्यु होराइजन स्पोट्र्स क्लबले जितेको थियो। त्यसपछि लगातार दुई सेट जित्दै मणिमुकुन्दले खेल आफ्नो कब्जामा परेको थियो ।
उपाधिसँगै मणिमुकुन्दले दुई लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । उपविजेता बनेको न्यू होराईजनले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
प्रतियोगितामा रोयल सिस्ने युवा क्लव तेस्रो भएको थियो। प्रतियोगितामा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।