२३ फागुन काठमाडौ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको समय पनि गुज्रिएको छ ।
प्रधानमन्त्री ओलीले समितिका सदस्यलाई मंगलबार बोलाएर बुधबार ५ बजेसम्म सहमति गरेर नाम सिफारिस गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले दिएको समय समय पनि तीन कट्यो । तर छनोट समितिले नाम सिफारिस गरेको छैन ।
‘केयूको सर्च कमिटीलाई उम्मेदवारहरूको प्राप्ताकंसहित कुलपतिसमक्ष प्रतिवेदन ल्याउन दिएको समय सकियो । अहिलेसम्म पनि नाम आएको छैन,’ प्रधानमन्त्री ओलीका एक सचिवालय सदस्यले भने ।
सहमति नभए उपकुलपतिका उम्मेदवारले पाएको प्राप्ताङ्क ल्याउन प्रधानमन्त्री ओलीले भनेका थिए । अब अहिलेसम्मको प्रक्रिया खारेज गर्ने वा के गर्ने भन्नेमा प्रधानमन्त्री ओली पुगेका छन् ।
गत २ र ३ फागुनमा सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता सकिएर नाम सिफारिस गर्ने समयमा समिती सदस्यहरूबीच मत नमिलेपछि विलम्ब भएको हो ।
समितिमा केयूका संस्थापक उपकुलपति सुरेशराज शर्मा, डा.अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।
सदस्यले आआफ्नो उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने अडान लिएपछि नाम सिफारिस हुन नसकेको केयूका अधिकारीहरू बताउँछन् । तर समितिका सदस्यहरूयसबारे बोल्न चाहँदैनन् ।