बेइजिङ, फाल्गुन १९ – चीन भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलसँग चीनले “बेल्ट एन्ड रोड इनिसिएटिभ” (बीआरआई) अनुदान परियोजना नभएको स्पष्ट पारेको छ।
बेइजिङस्थित चिनियाँ कूटनीतिज्ञ तथा रेनमिन विश्वविद्यालयका प्राध्यापक डा. सिलु सहितका अधिकारीहरूले बीआरआई अनुदान नभई सहकार्यमा आधारित परियोजना भएको जानकारी गराएका छन्। उनीहरूले नेपालले सहुलियतपूर्ण ब्याजदरमा ऋण लिएर पूर्वाधार विकासमा उपयोग गर्न सक्ने सुझाव दिए। साथै, चीन सरकारका केही शर्तहरू हुने र ती सम्झौताको क्रममा स्पष्ट पारिने पनि उल्लेख गरे।
ऋण लिएर आत्मनिर्भर बन्नुपर्ने कोइरालाको धारणा
चिनियाँ पक्षलाई जवाफ दिँदै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाल अनुदानभन्दा ऋण लिन इच्छुक रहेको धारणा राखिन्। उनले देशको आत्मसम्मान, स्वाभिमान, राष्ट्रिय स्वाधीनता, समृद्धि तथा नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन ऋण उपयुक्त विकल्प हुन सक्ने बताइन्।
उनका अनुसार बीआरआई कार्यान्वयनसँगै पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, कला तथा संस्कृति जस्ता क्षेत्रहरूको चौतर्फी विकासमा योगदान पुग्नेछ। साथै, यसले नेपाली कामदारका लागि चीनमा रोजगारी सिर्जना गर्ने र नेपालमै चिनियाँ लगानी बढाउने वातावरण बनाउने उनको तर्क छ।
कोइरालाले बीआरआईलाई पूर्ण रूपमा अनुदानमा मात्र खोज्नु नेपाललाई विकासको अवसरबाट वञ्चित गर्ने र यस परियोजनालाई असफल पार्ने मनसायसहितको सोच भएको बताइन्।
बीआरआईबारे थप स्पष्टता आवश्यक – बर्मा लामा
नेपाली कांग्रेस नेता बर्मा लामाले बीआरआई परियोजनाबारे अझ स्पष्ट हुनुपर्ने भन्दै नेपाली जनताले बुझ्ने गरी चीनले थप स्पष्टीकरण दिनुपर्ने आवश्यकता रहेको बताए।
प्रतिनिधिमण्डलमा नेता किरण यादव, बर्मा लामा, देवराज चालिसे, उज्वल बराल लगायतका कांग्रेस नेताहरू सहभागी थिए।