Monday, March 3, 2025
घरसमाचारटोखामा गोली हानेर समातिएका गुड्डु लाल मोहम्मद प्रकरणका भारतीय सुटर

टोखामा गोली हानेर समातिएका गुड्डु लाल मोहम्मद प्रकरणका भारतीय सुटर

अस्पतालमा उपचाररत् गुड्डु पटेल । तस्वीरः नेपाल प्रहरी


१८ फागुन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको छ ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार, टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर हुन् ।

प्रकरणका फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताए ।

उनका अनुसार, प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेको थियो । यद्यपि, स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएको बस्नेतले बताए ।

‘उनलाई अहिले उपचारका लागि अस्पताल लगेका छौं’, एसएसपी बस्नेतले अनलाइनखबरसँग भने ।

पहिले प्रहरीले हतियार ओसारपसारमा संलग्न सामान्य व्यक्तिलाई मात्र समातेको तर, नाइकेसम्म पुग्न नसकेको भन्दै आलोचना भएको थियो ।

मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय प्रहरीले उनीबारे चासो राख्दै पटकपटक हस्तान्तरण गरिदिन नेपाल प्रहरीका अधिकृतहरुलाई अनुरोध गरेको थियो ।

मोहम्मदले आफू मारिनु एक हप्ता अगाडि मात्र सुरक्षा चुनौति रहेको भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए । तर, स्थानीय प्रहरीले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएको थिएन ।

पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद मारिनुअघि गोठाटारमा गार्मेट उद्योग चलाइरहेका थिए ।

के थियो घटना ?

सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए ।

गोठाटारमा गार्मेन्ट उद्योग चलाइरहेका उनी त्यो दिन फ्याक्ट्रीका लागि आवश्यक प्लास्टिक लिन ग्राहक रामप्रसाद गौतमको बा ६ च ५१५२ नम्बरको कारमा जोरपाटी गएका थिए ।

लाल मोहम्मद मारिएको स्थान । अनलाइनखबर अर्काइभ ।

फर्किएर आउँदा साढे ६ बजेतिर फ्याक्ट्री अगाडि मोटरसाइकलमा कुरेर बसेका दुई सुटरले उनलाई नढल्नुञ्जेल गोली हानेका थिए । पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा यसमा दुई जना भारतीय सुटर प्रयोग भएको खुलेको थियो ।

तीमध्ये एक जना गुड्डुलाई प्रहरीले अहिले गोली हानी पक्राउ गरेको हो । मोहम्मदलाई गोली हानेपछि चार राउण्ड गोली समेत भएको एउटा पेस्तोल छाडेर उनी भागेका थिए ।

त्यसबेला प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनमा पटेललाई भारतीय नागरिक भनिएको छ । भारतको रक्सौल बिहार घर भएका उनी अन्दाजी ४०/४५ वर्षको भएको त्यसबेलाको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

त्यसबेला जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको जाँचमा गुड्डु पटेल र राजु भनिने दिने पटेल घटनास्थल नजिकै रहेको कोशी पारि गेस्ट हाउसमा बसेको खुलेको थियो ।

त्यहाँ बस्ने प्रबन्धक नितिन मदान नामक व्यक्तिले मिलाइदिएका थिए ।

उनीहरुलाई मोहम्मद हत्याका लागि सुपारी दिने बब्लु पासवानलाई १६ वैशाख २०८१ मा जिल्ला प्रहरी कार्यालय, पर्साले गोली हानी पक्राउ गरेको थियो । त्यसबेला उनको साथमा लागूऔषध ब्राउन सुगर र गोली बरामद भएको भनिएको थियो ।

प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार, सुमी भनिने सुस्मिता स्याङ्तान र मेरिना भन्ने ममता तिवारीले मोहम्मदको गतिविधिबारे लामो समयदेखि रेकी गरिरहेका थिए ।

त्यसको जानकारी सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत उनीहरुले भारतीय नागरिक पासवानलाई पठाइदिने गरेका थिए ।

त्यसपछि पासवानको निर्देशनमा दुई जना सुटर काठमाडौं आएका थिए । उनीहरुलाई वीरगञ्जका मोहराम मियाँ र अर्का एक नाबालकले पेस्तोल काठमाडौंसम्म ल्याइदिएका थिए ।

उनीहरुलाई ४० हजार नेपाली रुपैयाँ दिने सर्तमा पासवानले काठमाडौं जाने भनेको बयानका क्रममा खुलेको थियो ।

‘मलाई २ थान म्याग्जिनसहितको पेस्तोल, एउटा पेस्तोल गरी ३ वटा र २६ राउण्ड गोली प्लास्टिकमा राखेर पठाइदिएका थिए’, मियाँले भनेका छन्, ‘त्यसपछि म वीरगञ्ज बसपार्कबाट काठमाडौं आउने रात्री बसको टिकट काटेर काठमाडौं आएको थिएँ ।’

घटनास्थल नजिकै बरामद भएको थियो चस्मा

मियाँलाई पासवानले दुई पटेलको फोटो समेत पठाइदिएका थिए । त्यसक्रममा तस्वीरमा भएको चस्मा समेत प्रहरीले कोशीपारी गेष्ट हाउसमा त्यसबेला भेटिएको थियो ।

‘घटनास्थलमा मोहम्मदलाई गोली प्रहार गर्दा सीसी टीभी फुटेजमा देखिएका व्यक्तिलाई नै पक्राउ परेका दुई जनाले पेस्तोल र गोलीका राउण्ड दिएका छौं भनेका थिए’, रायसहितको प्रतिवेदनमा भनिएको छ, ‘त्यसलाई समर्थन गर्दै होटलमा बस्ने व्यक्ति दिनेश र गड्डु पटेल भएको बयानका क्रममा सुस्मिता स्याङ्तानले पनि भनेका छन् ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -