Friday, February 28, 2025
घरसमाचारसमृद्धिको जनअपेक्षा पूरा गर्न कांग्रेससँग मिलेका हौं : एमाले महासचिव

समृद्धिको जनअपेक्षा पूरा गर्न कांग्रेससँग मिलेका हौं : एमाले महासचिव

१६ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीसँगको सहकार्यबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षसहित कांग्रेससँग सत्तासहकार्य गरिएको बताएका छन् ।

एमाले पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले माओवादीसँगको सहकार्यले समृद्धिको सपना साकार पार्न नसकिएपछि दुई ठूला दल मिल्न बाध्य भएको बताएका हुन् ।

संविधान जारी भएपछिको पहिलो निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । जनताले झन्डै दुईतिहाइ मत दिएपछि दुई पार्टी मिलेर बलियो सरकार बनेका थिए । त्यसैक्रममा दुई पार्टी एकतासमेत भएको थियो र नेकपा बनेको थियो । तर, त्यस्तो सरकार पनि साढे तीन वर्षभन्दा लामो समय टिक्न सकेन ।

सोही प्रसंग उठाउँदै एमाले महासचिव पोखरेलले कमजोर धरातलमा माओवादीसँग एकता गरिएकाले त्यसबेलाको सरकारले पनि काम गर्न नसकेको उनको भनाइ थियो ।

माओवादीसँगको पार्टी र सत्तासहकार्य दुवै गलत सावित भएपछि विकासको जनअपेक्षा पूरा गर्न कांग्रेसँग मिलेर सरकार बनाइएको उनको भनाइ छ ।

‘विसं २०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन,’ महासचिव पोखरेलले भने, ‘कमजोर धरातलमा गरिएको एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो ।’

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन पनि दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए ।

‘मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको छ । अब हाम्रो समय अलमलमा बित्दैन । हाल देखिएका समस्या समाधान गर्न काम भइरहेको छ । नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको छ,’ महासचिव पोखरेलको भनाइ छ, ‘लगानीको वातावरण तयार भएको छ । ब्याजदर घटेको छ । पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ । मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ ।’

उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताए । ‘गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ । त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौं,’ उनले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -