Thursday, February 27, 2025
घरसमाचारजुम्लामा २० करोड लगानीमा ५ वटा पक्की पुल निर्माण हुँदै

जुम्लामा २० करोड लगानीमा ५ वटा पक्की पुल निर्माण हुँदै

जुम्ला । जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पुल निर्माणमा जोड दिएको छ । 

स्थानीय तह सञ्चालनपछि गाउँ गाउँमा सडक पुगे पनि पुल नहुँदा प्रयोग विहीन बनेका सडकमा गाडी गुडाउन र नागरिकको दैनिकीलाई सहज बनाउन कार्यालयले पुल निर्माणमा जोड दिएको हो । 

जिल्लाका विभिन्न ठाउँमा निर्माण हुने गरी तीन वटा पुलको ठेक्का खोलिएको छ । जसमा दुई वटा पक्की पुल निर्माण भइसकेका छन् । पूर्वाधार विकास कार्यालय जुम्लाको विवरणअनुसार कनकासुन्दरीलाई सदरमुकामसँग जोड्ने भैसेडी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । गुठिचौरका ग्रामीण बस्ती जोड्ने पक्की पुल अन्तिम चरणमा पुगेको छ । 

साथै पातारासीको लुम, कनकासुन्दरीको न्याउरीघाट र हिमा गाउँपालिकाको मोफ्ला जोड्ने पुल निर्माणका लागि ठेक्का खोलिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंहले बताउनुभयो । 

उहाँका अनुसार नयाँ निर्माण हुने ३ वटा र निर्माण भइसकेका २ वटा पुल निर्माणका लागि झण्डै २० करोड ७ लाखभन्दा बढी बजेट खर्च हुने भएको छ । जसमा २०७९ असार २९ गते सम्झौता भई निर्माण सुरु भएको कनकासुन्दरीको भैँसेडी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । उक्त पुल निर्माणका लागि ४ करोड ३२ लाख ६३ हजार रुपैयाँ खर्च भएको थियो । ३० मिटर लम्बाइको उक्त पुल निर्माणपछि कनकासुन्दरीबासीलाई आवतजावतमा सहज भएको छ । भने प्रसिद्ध कनकासुन्दरी मन्दिरको दर्शन गर्न आउनेलाई समेत सहज हुने भएको छ । पुल निर्माणपछि कनकासुन्दरी जुम्ला सदरमुकामसँग समेत जोडिएको छ । 

कनकासुन्दरी ४ का वडाध्यक्ष धनमानसिंहले भैसेडी पक्की पुल निर्माणपछि दुर्गम साहुबाडा, धोबीघाट, चौकी, मुसेधान्नी, तली लेकपोर, माझगाउँ लेकपोर, कोट लगायतका गाउँका नागरिकलाई सदरमुकाम आउन जान समेत सहज हुने बताउनुभयो । उक्त पुल हुँदै बजार आउन निकै छोटो पर्ने भए पनि बीचको खण्डमा बजेट अभावले सडक निर्माण हुन सकेको छैन । 

त्यस्तै, जुम्ला र डोल्पा जोड्ने सडक खण्ड अन्तरर्गत गुठिचौरमा पनि पक्की पुल निर्माणको ९८ प्रतिशत काम सकिएको छ । ३ करोड ७६ लाख ३५ हजार लागतमा निर्माण भएको उक्त पुलले गुठिचौरका दुर्गम बस्तीलाई समेत यातायातमा जोड्न टेवा पुग्ने छ । कार्यालयका अनुसार २५ मिटरको सो पुल ९८ प्रतिशत काम सम्पन्न भइसकेकाले सुचारु गर्ने तयारी छ । 

जिल्लाका पातारासी, कनकासुन्दरी र हिमाका दुर्गम बस्तीमा सहज यातायात पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ तीन वटा पुल निर्माणका लागि ठेक्का लगाइएको छ । जसमा हिमा गाउँपालिका वडा नंं ३ को मोफ्ला लगायतका दुर्गम गाउँलाई राजमार्गमा जोड्न ९० लाख लगानीमा मोटरेबल बेलिब्रिज बन्ने गरी ठेक्का आह्वान भइसकेको छ । कर्णाली प्रदेश सरकारले भर्खरै स्रोत सुनिश्चित गरेपछि उक्त पुल निर्माण प्रक्रिया अघि बढेको हो ।

यता कनकासुन्दरी गाउँपालिका वडा नं. १ को न्याउरी घाटमा २५ मिटर लामो पक्की पुल बन्ने छ । उक्त पुल निर्माणका लागि ५ करोड ४५ लाख बजेटको ठेक्का भई निर्माण कम्पनीसँग सम्झौता समेत भइसकेको छ । भने उता पातारासी गाउँपालिकाको लुममा पनि पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । पुलको काठेपूलबाट केही महिना अघि एक जना मोटरसाईलसहित खसेर मृत्यु भएको थियो । जग्गा विवाद टुङ्गिएपछि ४० मिटर लामो पक्की पुल निर्माण हुने भएको छ । लुममा पुल निर्माणका लागि ५ करोड ६४ लाखको टेण्डर आह्वान भएको छ । 

लुम र न्याउरीगाड पुल एउटै निर्माण कम्पनी (एमएस–एनएस–एमएनएस–एमसी) जेभीले जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंह जिल्लाका विभिन्न ठाउँमा नयाँ निर्माण हुने पुलको कामलाई अघि बढाउन ठेकेदारलाई ताकेता दिएको बताउनुहुन्छ । 

“भैसेडी पुल सञ्चालनमा आइसकेको छ । गुठिचौर पुल सुचारु गर्ने तयारी छ ।” उहाँले भन्नुभयो, “न्याउरीघाट र लुम पुलको काम ठेकेदारको कारण केही बिलम्ब भएपनि काम भइरहेको छ । भने उता हिमाको मोफ्ला पुलको भर्खर ठेक्का खोलेका छौ । सबै ठाउँमा निर्धारित समयमै संरचना बनाउने गरी हाम्रो प्रयास रहन्छ ।”

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -