१४ फागुन, काठमाडौं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन डुओ’ र्यापिड चेस प्रतियोगिताको उपाधि नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले जितेका छन् । उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जाड्दै सफलता हात पारेका हुन् ।
व्यक्तिगत खेल भएपनि चेसमा सामूहिक भावना बलियो बनाउन आयोजित एक दिने प्रतियोगितामा प्रवीर केसी र अनमोल राईको टिम गोथम नाइट्स ७ अंकसहित दोस्रोमा रह्यो । यसमा प्रवीरले ४ खेल जिते भने अनमोलले ३ खेलमा सफलता हात पारे ।
स्वीस प्रणालीअुसार ५ राउन्डमा सञ्चालित प्रतियोगितामा समय १० मिनेटसँगै १० सेकेन्ड इन्क्रिमेन्ट तोकिएको थियो । नाइट्स ग्याम्बिट ६ अंकसहित तेस्रो भयो । यो टिमका लियोन महर्जन र शुभ तुलस्यानले समान ३ खेलमा जित हात पारे ।
सिद्धार्थ जेसी श्रेष्ठ र युग युसी श्रेष्ठको टिम फायर एन्ड आइसले बेस्ट नेम अवार्ड जित्यो । प्रतियोगितामा १६ टिम सहभागि थिए । प्रत्येक जितमा २ अंक, बराबरीमा १ अंक दिइएको थियो भने हारमा कुनै अंक थिएन ।
एक रेटेड र एक अनरेटेड खेलाडीको टिम बनाइएको हिमालयन डुओमा उपाधि विजेता नाइटमेर कजिन्सले ५ हजार, उपविजेता गोथम नाइट्सले ३ हजार र तेस्रो भएको नाइट्स ग्याम्बिटले २ हजार रुपियाँ ट्रफी तथा मेडल प्राप्त गरे ।