राधेश्याम साह/
रौतहट/रौतहटको गौरमा आयोजित प्याब्सन कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधि मोनास्टिक इन्टरनेशनल एकेडेमी, गौर-५ ले दोस्रो पटक हात पार्न सफल भएको छ।
बुधबार गौर राइस मिल ग्राउन्डमा सम्पन्न फाइनल खेलमा मोनास्टिक इन्टरनेशनल एकेडेमीले जी. स्टार बोर्डिङ स्कुललाई ४८ रनले पराजित गर्दै उपाधि उचालेको हो। प्रतियोगिताकै बलियो टिम मानिएको जी. स्टार बोर्डिङ स्कुललाई हराउँदै मोनास्टिकले पुनः आफ्नो प्रभुत्व कायम गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मोनास्टिक इन्टरनेशनल एकेडेमीले निर्धारित २० ओभरमा १२२ रन बनायो। जवाफमा जी. स्टार बोर्डिङ स्कुल १७ ओभरमै ७४ रनमा समेटिँदै पराजित हुन पुग्यो।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू:
म्यान अफ द म्याच: साहिल अन्सारी (मोनास्टिक इन्टरनेशनल एकेडेमी)
म्यान अफ द सिरिज तथा उत्कृष्ट बलर: साजिद अन्सारी (मोनास्टिक इन्टरनेशनल एकेडेमी)
प्रतियोगिताको उद्घाटन गौर नगरपालिकाका मेयर शम्भु साह र प्याब्सन संघ गौर नगर समितिका अध्यक्ष जमिल अख्तर ले संयुक्त रूपमा गरेका थिए। गौर नगरका करिब एक दर्जन निजी विद्यालयहरू सहभागी रहेको यस प्रतियोगितामा युवा खेलाडीहरूले उत्कृष्ठ प्रदर्शन गरेका थिए।