काठमाडौं । बलिउड अभिनेत्री तथा युट्युबर प्रजक्ता कोली र नेपाली युवक वृशांक खनालबीच विवाह भएको छ । इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनीहरूले विवाह बन्धनमा बाँधिएको जनाएका छन् ।
उनीहरूबीच मंगलबार भारतको महाराष्ट्रस्थित ओलेन्डर फार्म्स लक्जरी रिसोर्टमा विवाह भएको हो । उनीहरूलाई मनीषा कोइराला, वरुण धवनसहितका बलिउड सेलेब्रिटीले बधाई दिएका छन् ।
अनिता डोंग्रेले तयार पारेको डिजाइनमा बेहुलाबेहुली सजिएका थिए । दुलहीले पारिजातको फूलबाट प्रभावित सुनौलो लेहेंगा लगाएकी थिइन् । दुलहाले आइभोरी सेरवानी पहिरिएका थिए ।
प्रजक्ता ‘मस्ट्ली सेन’ नामक युट्युबरको रुपमा समेत चर्चित छिन् । यसवर्ष रिलिज भएको बलिउड फिल्म ‘जुगजुग जियो’मा समेत उनको अभिनय छ ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरूले गत असोजमा अमेरिकामा इन्गेजमेन्ट गरेका थिए । सेप्टेम्बर २०२३ मा अमेरिकाको पश्चिम भर्जिनिया घुम्न गएको बेला वृशांकले प्रजक्तालाई प्रेम प्रस्ताव राखेका थिए ।
वृशांकले अमेरिकामा कानुन व्यवसाय गर्दै आइरहेका छन् । काठमाडौं घर भएका वृंशाक मुम्बईमा रहँदाखेरि नै प्रजक्तासँग साथी बनेका थिए । प्रजक्ताले ‘जुगजुग जियो’बाहेक विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन् ।