१३ फागुन, बुटवल । रुपन्देही शुद्धोधन गाउँपालिका–१ बेलवामा एक बिघा खेतमा लगाइएको बन्दा बिक्री हुन नसकेपछि किसान खेतमै नष्ट गर्ने तयारीमा थिए ।
तरकारी खेतीको ‘हब’ मानिएको उक्त गाउँमा एकैचोटि उत्पादन धेरै भएकाले बन्दाले बजार र लागत मूल्यसमेत पाउन नसक्दा किलोको कहिले ३ रुपैयाँ त कहिले २ रुपैयाँ थोकमा बेच्न किसान बाध्य थिए ।
लागत मूल्य पनि नपाएर बिक्री गर्नुभन्दा बरु खेतमै नष्ट गर्दा खेतलाई मल हुने भन्दै किसानहरू राममिलन लोध, शिवकरण मल्लाह, उमेश मल्लाह र अध्या मल्लाहले अन्दाजी १ सय क्विन्टल भन्दा बढी बन्दा फलेको खेत जोतेर नयाँ तरकारी लगाउने तयारी गरेका थिए ।
यो जानकारी बुटवलको दीप बोर्डिङ स्कूलका प्राचार्य टीकाराम न्यौपानेले पाएपछि उनले राममिलन लोधलाई फोन सम्पर्क गरी आफ्नो विद्यालयले प्रतिकिलो ५ रुपैयाँका दरले ३ हजार किलो बन्दा खरिद गरिदिने वचन दिँदै नष्ट नगर्न आग्रह गरे ।
यसका लागि उनले बुटवल–८ का अध्यक्ष यज्ञप्रसाद पंगेनीसँग सहकार्य प्रस्ताव गरे । वडाध्यक्षले १ हजार ५ सय किलो बन्दा वडाका तर्फबाट खरिद गरिदिने भन्दै न्यौपानेको आग्रह सहजै स्वीकार गरे ।
अनि, किसानले सोमबार २ हजार किलो र आज मंगलबार १ हजार क्विन्टल बन्दा विद्यालयमा ल्याइदिए ।
२५ हजार रुपैयाँमा खरिद गरिएको बन्दा विद्यालयमा अध्ययनरत २ हजार ५ सय विद्यार्थी र २ सय बढी शिक्षक शिक्षिकालाई निःशुल्क वितरण गरिएको प्राचार्य न्यौपानेले बताए ।
‘किसानले बन्दागोभी खेतमै नष्ट गर्न लागेको जानकारी पाएपछि विद्यालय र वडा मिलेर खरिद गरिदिएका हौं,’ प्राचार्य न्यौपानेले भने, ‘कृषिप्रधान मुलुकमा किसानले बजार र उचित मूल्य पाउने वातावरण बनाउन विद्यालयहरूको पनि दायित्व हुनुपर्छ, यसबाट किसानलाई राहत र अन्यत्र अनुशरण गर्न सकारात्मक सन्देश जान सक्छ ।’
हरेक वडामा विद्यालय सञ्चालनमा रहेकाले वडा र विद्यालय मिलेर स्थानीय उत्पादन खरिद गरिदिने हो भने किसानले आफ्ना उत्पादन फ्याँक्न वा नष्ट गर्नुपर्ने अवस्थामा धेरै हदसम्म कमी आउने वडाध्यक्ष पंगेनीले बताए ।
बन्दा खरिदसँगै विद्यालयले तरकारी खेती गर्दै आएका चार किसानलाई दोसल्ला र कदरपत्रले सम्मान समेत गरेको छ । किसानलाई हौसला दिँदै कृषि पेसामा टिकाइराख्न राज्य र निजी क्षेत्रले किसानको उचित सम्मान र प्रोत्साहन गर्न आवश्यक रहेको प्राचार्य न्यौपानेले बताए ।
विद्यालय र वडा कार्यालयले खेर जान लागेको बन्दा खरिद गरिदिएपछि आफूहरूलाई राहत र हौसला मिलेको राममिलन लोधले बताए ।
‘लागत पनि नउठ्ने मूल्यमा बेच्नुभन्दा खेतमै नष्ट गर्दा मल हुन्छ भनेर जोत्न ठिक्क परेका बेला स्कुलले चार जना किसानको ३ हजार किलो बन्दा खरिद गरेर हौसला दिएको छ,’ अर्का किसान उमेश मल्लाहले भने, ‘यस्तो काम सबै वडा र स्कुलले गर्ने हो भने किसानले मूल्य पनि पाउने र नबिकेर फ्याँक्नुपर्ने अवस्था आउने थिएन ।’
जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईले कृषि उत्पादनले बजार नपाएर निरुत्साहित भएको अवस्थामा निजी विद्यालय र वडा कार्यालयले किसानको उत्पादन खरिद गरेर प्रोत्साहन गरेको विषय देशभरिका लागि अनुशरणीय विषय भएको बताए ।