उसो त राजेश हमाल अर्ती दिने मान्छेमा पर्दैनन् । उनी आफूले जानेको कुरा अरुलाई भन्ने भन्दा पनि स्वयम् अनुसरण गरिरहेका हुन्छन् । चाहे त्यो खानपानको कुरा होस् वा तन्दुरुस्तीको । नियमित व्यायाम, शुद्ध र सन्तुलित खानपानसँगै अभिनेता हमाल अध्ययनमा मग्न हुने गर्छन् । अनुशासित जीवनयापनका लागि राजेश हमाल आफैँमा एक अनुकरणीय पात्र हुनसक्छ ।
उनले जे बोल्छन् त्यो चोटिलो र मननयोग्य हुने नै भयो । केही समयअघि उनले ‘हामी नेपालीहरू कम पोषिलो, विषादीयुक्त खानेकुरा खाएर पनि कसरी बाँचिरहेका छौं’ भनी रोचक किस्सा सुनाएका थिए ।
अभिनेता हमालले सारमा यस्तो भनेका थिए, ‘पहिले पहिले हामी आफ्नै माटोमा, आफैँ श्रम गरेर उब्जाएको खानेकुरा खान्थ्यौँ । हाम्रो थालको खानेकुरा कहाँबाट कसरी उत्पादन भएको भन्ने कुरा थाहा हुन्थ्यो । तर, अहिले स्थिति त्यस्तो छैन ।’
उनी थप्छन्, ‘हाम्रो भान्सामा पाकिरहेको खानेकुरा, हामीले खाइरहेको खानेकुरा कहाँबाट आएको, कसरी उत्पादन भएको ? थाहापत्तो हुँदैन । हामी स्वस्थ रहनका लागि फलफूल, दूध, सागपात खानुपर्छ भनिरहेका हुन्छौं । तर, ती खानेकुराहरू कति शुद्ध होला ? हामीलाई थाहा हुन्न । खासमा बजारका खानेकुराहरू ढुक्कले खान सकिने खालका छैनन् । खानेकुरामा हामी रामभरोसमा बाँचिरहेका छौँ ।’
यसपाली उनले स्वस्थ, शुद्ध र ताजा खाना खान प्रेरित गर्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका छन् । भिडियोमा उनी कुनै मनोरम ग्रामिण भेगमा देखिन्छन् ।
उनको अघिल्तिर एक गिलास मोही, उसिनेको आलु, उसिनेको अण्डा, कोदोको रोटी, साग, मुला र अचार देखिन्छ ।
अभिनेता हमाल सो खानेकुरा देखाउँदै भन्छन्, ‘पाउरोटी खान छाड्नुहोस्, बन खान छाड्नुहोस् । शुद्ध कोदोको रोटी खानुहोस् । बारीमा उमारेको साग खानुहोस् । आलु पनि आफ्नै बारीमा उमारेको खानुहोस्, बोक्रैसँग । ल्याक्टोज इन्टलरेन्सलाई गोली मारिदिनुहोस्, शुद्ध भैँसीको दूध खानुहोस् । हाम्रो डिएनएमा दूध पचाउने तागत छ ।’