११ फागुन, काठमाडौं । स्वास्थ्य प्रतिकुलताका कारण पछिल्ला दिनमा आराम गरिरहेका संग्रौला नागरिक आन्दोलनमा सकेसम्म पुगिरहन्छन् । उनको नियमित लेखन भने निकै घटिसकेको छ ।
पछिल्लो समय उनीसहित केही लेखकमाथि यूएसएआईडीमार्फत ‘डलर’ लिएर किताब लेखेको प्रचार भइरहेको छ । यही पछिल्लो डलर–प्रसंगका सन्दर्भमा उनलाई यसैको सेरोफेरोमा अनलाइनखबरका बसन्त बस्नेतले गरेको वार्ता :
नेपालका बुद्धिजीवी, लेखक, कलाकारले डलर खाए भन्ने हल्ला सामाजिक सञ्जालमा व्याप्त छ । त्यसमा तपाईंको पनि तस्वीर देखियो । तपाईंले डलर खाएको हो ? हो भने के प्रयोजनका लागि खाएको हो ?
मेरा लागि यो नितान्त नयाँ र चाखलाग्दो विषय हो । मलाई भारु खाएको आरोप त अगणित लागेको हो । मैले खाएका भनिएका सबै भारु नोट एकत्रित गरिँदा १४ हजार लिटर पानीको मेरो भूमिगत ट्यांकी टनाटन भरिँदो हो ।
योग्यता नपुगेर होला सायद, मलाई डलर खाएको आरोपचाहिँ लागेको थिएन । अहिले लाग्यो । अहिले मलाई डलर खाएको आरोप लगाउनेहरू पहिले मलाई भारु खाएको आरोप लगाउनेहरू नै हुन् । यसमा कुनै सन्देह छैन ।
भारु भक्षणबाट डलर भक्षणमा मेरो स्तरवृद्धि गरिदिने कृपाकारी आरोप–सर्जकहरुप्रति मेरो सहृदय धन्यवाद छ । रोचक कुरा के छ भने यसअघि व्यक्तिव्यक्तिलाई खुद्रा आरोप लाग्थ्यो, अहिले अनेक व्यक्तिलाई झ्याप्पै थोक आरोप लागेको छ । त्यो थोकको एक खुद्रामा म परेछु ।
अन्य लेखकहरुलाई झैं मलाई यूएसएआईडीको अनुदानमा पुस्तक लेखेको आरोप छ । यूएसएआईडी पुस्तक लेख्न पनि अनुदान दिँदो रहेछ, मेरालागि यो नितान्त नूतन आविष्कार हो । दुर्भाग्यवश, त्यो अनुदान रकम अहिलेसम्म मेरो हातमा परेको छैन । आरोपकर्मी ज्ञाताहरु स्वयंले बीचैमा हजम गरे कि, म जान्दिनँ ।
यति लामो लेखकीय जीवनमा अखबार वा पुस्तक प्रकाशनले लेख वा पुस्तक लेख्नुअघि आजको मितिसम्म मलाई कहिल्यै एक पैसो दिएको छैन । लेखेपछि मात्र आनासुकी ज्याला पाउनु मानौं मेरो लेखकीय नियति हो । यूएसएआईडीको लेखन–अनुदान, अग्रिम रुपमा, त्यो पनि डलरमा मैले नपाउनु भावीले छैटीमा मेरो ललाटमा नलेखिदिएरै त होला !
यूएसएआईडीको लेखन–अनुदान, अग्रिम रुपमा, त्यो पनि डलरमा मैले नपाउनु भावीले छैटीमा मेरो ललाटमा नलेखिदिएरै त होला !
अन्य पक्षको सिर्जन–वृत्तिमा मैले जम्मा दुईवटा किताब लेखेको छु । एउटा हो— बाइस थुँगा फूल, अर्को आमा र यमदूतहरु । बाइस थुँगा फूल ‘सेभ द चिल्ड्रेन यूके’को वृत्तिमा लेखियो । बाइस थुँगा फूल बाइस अपाङ्ग बालबालिकाका संघर्ष र सफलताका उज्याला कथा हुन् । आमा र यमदूतहरु मार्टिन चौतारीको सिर्जन–वृत्तिमा लेखिएको हो ।
यो सिर्जनवृत्तिमा नखत थिएन, धुलिखेलस्थित हाई भ्यू रिजोर्टमा गाँसबासको प्रबन्ध मिलाइएको थियो ।
आमा र यमदूतहरु नरपीडक गरुड पुराणको कठोर समीक्षा हो । यी दुबै पुस्तक लेखनको अन्तरकथासहित भुँडी पुराँणबाट प्रकाशित भएका छन् । ट्रम्प महोदयका कृपाले यूएसएआइडी पुनःजीवित भई पुस्तक लेख्न अनुदान प्राप्त भएमा म अवश्य लेख्नेछु । लेखन अनुदान यूएसएआईडीको हुनेछ, लेखनदृष्टि र जीवन–अनुभव मेरो हुनेछ ।
तपाईंले एकपल्ट यूएसएडमा काम गर्दागर्दै कम्युनिस्ट किताब अनुवाद गरेको कुरो अन्तर्वार्तामा भन्नुभएको थियो । अब त ट्रम्पले युएसएड नै बन्द गराइदिए होइन ?
यसबारे मैले राजकुमार बानियाँसँगको वार्तामा र अन्य अनेक सन्दर्भमा पनि चर्चा गरेको छु । मैले काम गरेको यूएसएआईडीको नियुक्ति र दानापानीमा होइन । बन्दीपुरका मेरा मित्र चीज श्रेष्ठ नेपाल स्टडिज नामक संस्था चलाउनुहुन्थ्यो । त्यो विदेशीहरुलाई नेपाली भाषा सिकाउने संस्था थियो ।
चीज विभिन्न विदेशी नियोगबाट प्याकेज लिएर पढाउने शिक्षक भर्ती गर्नुहुन्थ्यो । त्यही भर्ती अन्तरगत मैले यूएसएआईडीका गोरा हाकिमहरुलाई एक वर्ष भाषा सिकाएँ । सिकाउन मैले यूएसएआइडीको अड्डामै जानुपर्थ्यो । मैले दिनमा दुईजनालाई सिकाउनु पर्थ्यो ।
एकजनालाई बिहान ८ देखि १० बजेसम्म, अर्कोलाई दिउँसो १ देखि ३ बजेसम्म । बीचमा तीन घण्टा खाली हुन्थ्यो । त्यो खाली समयमा मेले यूएसएआईडीको विशाल पुस्तकालयको एक गोप्य कुनामा लुकेर माओको ग्रन्थ अनुवाद गरेँ । गोरा हाकिमहरुले देखे मेरो भाषा पढाउने दैनिक ज्यालादारी काम चेट् होला कि भनी मलाई डर लागिरहन्थ्यो । धन्न अजात ट्रम्पले थाहा पाएनन्, र मेरो दानापानीको धन्दा बच्यो ।
डलर, युरो, भारु, युआन, येन खाएर नेपालको राष्ट्रिय सार्वभौमिकता, सम्प्रभुता र राष्ट्रिय सुरक्षा नै खतरामा पर्नेगरी, अझ हाम्रो गौरवशाली इतिहास नै नामेट गर्न उक्साउने खालका विचार यहाँ व्यक्त हुने गर्छन् भन्ने कतिपय गनेचुनिएका विद्वानको भनाइबारे तपाईंको प्रति–भनाइ के छ ?
को हुन् यी ‘गनेचुनिएका विद्वान्हरू’ ? यस्ता विचार व्यक्त गर्नेहरुमा मैले चिनेका पात्र दुईथरी छन् । ती हुन्, भुइँफुट्टा सर्वज्ञानीहरु र वंशतन्त्रका भक्तहरु ।
अपवादलाई छाडेर, यी भुइँफुट्टाहरु बौद्धिक र सांस्कृतिक प्रदूषणका संवाहक र प्रसारक हुन् । अनि वंशतन्त्रका भक्तहरु ? जनचेतनाको धक्काद्वारा इतिहासको चिहानघारीमा सेलाइएको वंशतन्त्रलाई पुनःजीवित गर्न वंशतन्त्रका यी भक्तहरु हत्ते हाल्छन् ।
यी घुर्की लगाउँछन्, यी धक्कु लगाउँछन् । यी ध्वाँस दिन्छन्, सडकमा एकाध सय मान्छे बटुलेर यी लुते गर्जन गर्छन् । यी रुन्छन्, यी चिच्याउँछन् । यी मृत वंशतन्त्रको जयगान गर्दै ‘गणतन्त्र मुर्दावाद’ भन्छन् । यी संघीयता र धर्मनिरपेक्षतालाई सत्तोसराप गर्छन् ।
गणतन्त्रले देश डुबाउने भो, देश जोगाउन वंशतन्त्र चाहियो भनी लोकका चित्तमा भय पैदा गर्न यी गर्नुसम्म यत्न गर्छन् । तर न गणतन्त्रको जग हल्लिन्छ, न इतिहासको चिहानबाट वंशतन्त्र बौरिन्छ । फलतः वंशतन्त्रका भक्तहरु पराजय, हताशा, हीनता र कुण्ठाभावले ग्रस्त हुन्छन् ।
र, मनोविकारयुक्त मुद्रामा यी वंशतन्त्रविरोधी विचार र पैरवीकारहरुलाई अनर्गल गाली, आरोप र भर्त्सनाले विभूषित गर्छन् । यिनले अहिले उच्चारण गरेको डलर भक्षणको कल्पित कथा यही मनोविकारको कुत्सित अभिव्यक्ति हो ।
गणतन्त्रले देश डुबाउने भो, देश जोगाउन वंशतन्त्र चाहियो भनी लोकका चित्तमा भय पैदा गर्न यी गर्नुसम्म यत्न गर्छन् । तर न गणतन्त्रको जग हल्लिन्छ, न इतिहासको चिहानबाट वंशतन्त्र बौरिन्छ ।
अन्यद्वेषी अन्ध राष्ट्रवाद र भ्रान्तिकारी प्रियतावाद वंशतन्त्रका यी भक्तहरुका वैचारिक रोग हुन् । यी रोग गणतन्त्र पक्षधर दलहरुमा पनि सल्किएका छन् । यस अर्थमा वंशतन्त्र यी वैचारिक संक्रामक रोगको जननी र विस्तारक दुबै हो ।
अतीतको अतिरञ्जित गौरवगान, वर्तमानको वैचारिक भ्रष्टीकरण र भविष्यको निर्मम बधको चेष्टा यी वंशतन्त्रका भक्तहरुका परिचायक विशेषता हुन् । जीवनको उद्र्धगामी गति र प्रगति वंशतन्त्रका यी भक्तहरुका लागि भयकारी तन्व हुन् । यो भयले यी दीनदुःखी भक्तहरु जीवन्त वर्तमानदेखि भागेर मृत विगतका अँध्यारा सुरुङको शरण पर्छन् । यदाकदा सुनिने यिनका अनर्गल प्रलाप, आरोप र स्रापहरु यही असान्दर्भिक र असन्तुलित मनोदशा वा मनोविकारका उपज हुन् ।
वंशतन्त्रका भक्तहरु सकारात्मक र रचनात्मक सोच तथा अग्रगामी एवम् प्रगतिशील दृष्टिमा टाट पल्टिएका छन् । अस्तित्वको लडाइँमा यी दीनहीन टाटहरुको एकमात्र हतियार घृणा हो । घृणा यिनको दर्शन हो, घृणा यिनको सिद्धान्त हो । घृणा नै यिनको नैतिक मूल्य हो । अहिले वंशतन्त्रसँग असहमत वागी लेखक र बौद्धिकहरुमाथि डलर भक्षणको बहानामा यिनको यही घृणाको ओइरो लागेको छ ।
राजनीति भाँडियो भनेर नेतालाई गाली गरेको त सुनिन्थ्यो । अचेल समाज भाँडियो भन्ने कुरो सुनिन्छ, यसो गर्नुमा विद्वानहरू पनि कम जिम्मेदार छैनन्, तिनले आफ्नो स्वतन्त्र विचार होइन, अरु कसैको प्रायोजित डलरे बहकाउमा क्षणिक लाभ हेरेर बोल्छन् भन्नेहरू बढेका बढ्यै छन् । सामाजिक सन्जालले तिनलाई झन् बढाइदिएको छ । के भन्नुहुन्छ ?
तपाईंले संकेत गनुभएका यी ‘विद्वान्हरू’ मेरो विचारमा प्रकारान्तरले वंशतन्त्रीय विचार वा विकारकै सन्तति हुन् । यिनमा कतिपय त वंशतन्त्रद्वारा पालित एवं पोषित ‘विद्वान्हरू’ होलान् । कतिपय तिनको हाहा होहोका पछि लाग्ने अराजक हावा होलान् ।
कतिपय जीवनका अनेक आकांक्षा अतृप्त भइ कुण्ठित भएका दिग्भ्रान्त तत्व होलान् । सत्य हो, सामाजिक सञ्जालको सामाजिक मर्यादाशून्य र सहज उपलब्धताले यस्ता तत्वहरुलाई अवश्यै बढाइदिएको छ ।
गणतन्त्रका नेताहरुमा वंशतन्त्रीय अहंकार, स्वेच्छाचार र ठालुगिरीको विचार र संस्कारको रोग सल्किएको छ । त्यसैले गाली गरिनँ । तिनले मनग्गे योग्यता आर्जन गरेका छन् । तर वंशतन्त्रीय कोणबाट नेताहरुलाई गाली गर्ने बहानामा गणतान्त्रिक व्यवस्थामाथि नै विष बमन गर्ने नकाम भइरहको छ ।
संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायत एजेन्डाका लागि नै डलर युरो आउने गरेको र नेपालको गणतान्त्रिक परिवर्तनलाई त्यसले बराल्नुसम्म बरालेको आलोचना छ नि ?
डलर कहाँबाट आयो ? डलर कसले ल्यायो ? डलर कसलाई बाँडियो ? डलर कसले खायो ? नूनको सोझो गर्न कसले के गर्यो ? यो सबको जानकारी मलाई छैन । यससम्बन्धी सप्रमाण जानकारी वंशतन्त्रभक्त आरोप–सर्जकहरुसँग अवश्य होला ! तिनलाई भनूँ—टुँडिखेलमा सहिद मञ्चमा उभिएर सप्रमाण घोषणा गर ।
अब कतैबाट डलर, युरो, युआन, भारु नलिई रुपियाँका आधारमा बाँच्ने, सोच्ने अवस्था कहिले आउला ? कि रुपियाँ पनि गलत हुन सक्छ ? वा समस्या डलर, भारु वा नेरुमा नभइ अरु नै केहीमा छ ?
यो निस्सन्देह गम्भीर प्रश्न हो । स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न भनेर जतिसुकै धाक लगाए पनि नेपाल यथार्थमा मागीखाने परनिर्भर देश हो ।
म ऋण लिन्नँ, अनुदान देऊ भनी शासकहरु विदेशी मालिकसामु हात पसार्छन् । अनुदानमा दायित्वबोधको दबाब हुँदैन । ऋणमा दायित्वबोधको दबाब हुन्छ । लिएको ऋण तिर्न उद्यम गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, आर्जन गनुपर्छ । म ऋण लिन्नँ, अनुदान देऊ भन्नु अल्छीको अकर्मण्य प्रवृत्तिको द्योतक हो । ट्रम्प महोदायले अनेक आर्थिक सहायता कटौती गर्दै जाँदा कतिपय स्वाभिमानी र कर्मशील नेपालीले खुशी व्यक्त गरेको मैले पढें।
ठिक हो, अनुदान पाइने र भिख माग्ने श्रोतहरु सुकेपछि कि नेपाल आफैं उद्यम गरी ठाडो शिर पारेर आफ्नै खुट्टामा उभिन यत्नशील हुन्छ, कि नेपाल कसैको ‘सिक्किम’ वा ‘तिब्बत’ बन्छ ? रोज्ने हामी नेपालीले हो ।