१२ फागुन, काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरण अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय अध्यापन पेसामा संलग्न रहँदै आएका थिए । अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।
अख्तियारको दाबी अनुसार सिलवालले नागरिकतामा भएको जन्ममिति विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए ।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको नागरिकताको प्रतिलिपिमा जन्ममिति २२ कात्तिक २०१६ रहेको तर त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन २०१५ रहेको अख्तियारको दाबी छ ।