करिब दश वर्ष अगाडि भारतको लखनऊबाट कत्थक नृत्यमा स्नातकोत्तर गरेर नेपाल फर्केपछि नम्रता केसीले सरुभक्तको खण्डकाव्य ज्यानमायामाथि एउटा नृत्य नाटिका बनाउँदै थिइन् । त्यतिबेलाका सक्रिय अनि आत्मीय कला पत्रकार कला अनुरागी (अहिले उहाँ शोधार्थी हुनुभएको छ र यो हामीलाई एकदमै मन परिरहेको छ) ले एउटा अन्तर्वार्ता गर्दा नम्रताले भनेकी थिइन्– ‘डान्स र ड्रामा मिलेपछि म्याजिक हुन्छ !’
नेपाली मौलिक लोक नाट्य परम्परामा नृत्य र नाट्य जतिसुकै मिले तापनि हामीले गरिरहेको आधुनिक रंगमञ्च अभ्यासमा नृत्यलाई कथावाचनसँग नजोडेर सौन्दर्य तत्वका रूपमा मात्रै प्रयोग गरिंदै आएको सन्दर्भमा ‘डान्स र ड्रामा’ मिलाएर जादु गर्ने सपना देखेकी एउटी केटी रंगकर्मीको साथी र साक्षीको रूपमा यो यात्राको एउटा मीठो संस्मरण समीक्षा अतिशयोक्ति नलाग्ला, त्यसै पनि लेख्नु त छँदैछ ।
– – –
विश्वप्रसिद्ध भारत रंग महोत्सवको २४औं संस्करणका लागि छानिएका अन्तिम नाटकहरूको सूचीमा ‘जून– मोर द्यान अ फे(इ)री टेल’ को नाम पनि छ है भनेर आदरणीय रंगकर्मी देव न्यौपाने दाइले सुनाउँदा म सुदूरपश्चिम बझाङ जिल्लाको मष्टा गाउँपालिकामा कचहरी नाटक देखाएर काठमाडौं फर्किंदै थिएँ । सुसमाचार नै भएतापनि मेरा लागि यो खबर एउटा सुखद् र दुःखद् आश्चर्यको सम्मिश्रण बनेको थियो । दुःखद् हुनुको कारण थियो आफूले लेखेको र अत्यन्तै आशा गरेको अर्को एउटा नाटक नछानिनु (सायद आफैंले लेखेको भएर अत्यन्तै आशा गरेको हुनसक्छ) ।
खबर सुखद् आश्चर्य बन्नका लागि आवश्यक तथ्यहरू त धेरै अनि छर्लङ्गै थिए । ‘जून– मोर द्यान अ फे(इ)री टेल’की परिकल्पनाकार तथा निर्देशक नम्रता केसी मेरो रंगमञ्च अनि जीवनकै सहयात्री हुनु मात्रै खुशीको एउटा प्रसंग थिएन, म स्वयम् उक्त गीति नृत्य नाटिकाको निर्माता हुनु र दुई वर्षअघि नृत्य नाटिका निर्माण र मञ्चनका क्रममा बनेका अनेक अविस्मरणीय पलहरू आँखाभरि झल्झल्ती आउनुले खुशी पनि आँखाबाटै खस्न खोजिरहेको थियो । उसो त रंगकर्मीहरू अलि बढी नै भावुक हुन्छन् तर पनि आधिकारिक इमेल नआइसकेको हुनाले खुशी प्रकट गर्ने हतारो देखाउन मनले मानिरहेको थिएन ।
– – –
भारतमा २५ वर्षअघि अन्तर्राष्ट्रिय नाटकहरू देखाउने मेलाको रूपमा सरकारी तवरबाट शुरू भएको भारत रंग महोत्सवप्रति संसारभरिकै रंगकर्मीहरू आकर्षित छन् । विश्वका उत्कृष्ट नाट्य विद्यालयहरूमध्येको एक भनेर दाबी गरिने राष्ट्रिय नाट्य विद्यालयको आयोजनामा हुने महोत्सवमा सहभागी हुन युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिकादेखि एशियासम्मका देशहरूबाट आवेदन आउने आयोजकले बेलाबेला बताइरहन्छन् ।
नेपालबाट शुरुआती समयमा सुनील पोखरेल र अनुप बरालका नाटकहरू सहभागी हुने गरेको महोत्सवमा पछिल्लो समय थुप्रै युवा निर्देशकका नाटकहरू छनोट अनि मञ्चन हुन थालेका छन् ।
सायद यसै कारण हुनसक्छ, भारत रंग महोत्सवमा सहभागी हुन नेपाली रंगकर्मीहरूले आवेदन दिने क्रम बढेको छ । र, यही कारण हुन सक्छ, भारत रंग महोत्सवलाई पहिलो पटक भारत बाहेक दुई देशहरू नेपाल अनि श्रीलंकामा पनि आयोजना गरियो ।
२४औं भारत रंग महोत्सवमा नेपालबाट छानिएका दुई प्रस्तुतिहरू मध्ये दिया मास्केको निर्देशनमा बनेको ‘कथा कस्तूरी’ समेत दुई वटै नाटक महिला निर्देशकहरूबाट पर्नुले समकालीन नेपाली रंगमञ्चमा अर्को तरंग ल्याएको थियो । छानिएका दुवै नाटकहरूमा भेटिएको अर्को एउटा समानता थियो– कथावाचनका लागि गीत–संगीत र नृत्यको प्रधानता । बहुजातीय सांस्कृतिक अनुष्ठानको जगमा बनेको मौलिक नेपाली नाट्य परम्परा हेर्ने हो भने संगीत र नृत्यसँगै गरिने कथावाचन नेपाली नाटकको एउटा प्रमुख मौलिक तत्वको रूपमा देखिन्छ ।
भलै, हाम्रो रंगमञ्चको व्यावसायिक धारमा र दर्शकहरूको नाटक हेर्ने अवधारणामा संवाद र यथार्थवादी अभिनय प्रधान हुने आधुनिक युरोपेली नाट्यशैलीको प्रभाव छ, पछिल्लो समय नेपाली नाटकहरूमा मौलिकताको खोजी भइनैरहेको छ । विभिन्न जातजातिका मिथकीय कथाहरू मञ्चमा ल्याउनेदेखि लिएर संस्कृतिमा भएका सामाजिक समस्याहरूमाथि नाटक मार्फत छलफल गराउनेसम्मका प्रयत्नहरू नेपाली रंगकर्मीबाट हुँदै आएका छन् ।
यही कसीमा हेर्दा दिया मास्केको नाटक ‘कथा कस्तूरी’ले नयनराज पाण्डेद्वारा लिखित कथा सर्पदंशमा आधारित भएर पश्चिम नेपालमा बसोबास गर्ने आदिवासी सपेरा जातिहरूको कथालाई रैथाने संगीत, नृत्य र कथावाचन मार्फत देखाएको थियो भने नम्रता केसीको ‘जून– मोर द्यान अ फे(इ)री टेल’ले विश्वप्रसिद्ध सिन्द्रेलाको कथालाई गीत, संगीत र नृत्यको कलेवरमा पुनर्कथन गरेको थियो । महोत्सवअन्तर्गत यी दुवै नाटक भारत र नेपालमा मञ्चन गरिए ।
यी दुई नाटकसँगै यसपालि भारत रंग महोत्सवमा अन्य दुई नेपाली नाटकहरू प्रदर्शन भए । सुनील पोखरेलको निर्देशन रहेको ‘गच्छामि’लाई नेपाल भारत रंग महोत्सवको आयोजक प्रस्तुतिको रूपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले काठमाडौं र दिल्लीमा मञ्चन गर्यो भने अन्तिम समयमा आएर छनोटको सूचना दिइएको नर्वे र नेपालको सहकार्यात्मक प्रस्तुति रहेको रामहरि ढकालद्वारा लिखित निर्देशित नाटक ‘गुलाफ’ भारतको दिल्ली र जयपुरमा मञ्चन भए ।
भव्य मञ्च सहितको प्रेक्षागृहमा सजाइएका नाट्य उपकरण तथा सामग्रीहरूसँगै प्रवेशद्वारहरूमा बनाइएका रंगोली तथा जीव–जनावरका मूर्तिहरू अनि लस्करै टाँसिएका नाटकका पोस्टरहरूले महोत्सवको रौनक बढाएको थियो ।
संयोग हुनसक्छ, यी दुई नाटकबीचको समानता भने तथागत बुद्धको जीवन र दर्शनसँग गाँसिएका थिए । ‘गच्छामि’ले बुद्धको बारेमा सुनिएको परम्परागत जीवनीको कथा भन्थ्यो भने ‘गुलाफ’ले बुद्धपत्नी यशोधराको दृष्टिकोणबाट बुद्धको जीवनीमाथि प्रश्न गर्थ्यो । यसरी समग्रमा हेर्दा २४औं भारत रंग महोत्सवमा नेपालले मूल रूपमा दुई वटा कुरा प्रस्तुत गर्यो– बुद्ध अनि उनको जीवन र यहाँको गीत–संगीत अनि नृत्यमा आधारित मौलिकताउन्मुख तर आधुनिक नाट्यशैली ।
– – –
आयोजकबाट आधिकारिक इमेल आउँदा ‘जून– मोर द्यान अ फे(इ)री टेल’लाई भारतको गोरखपुर र नेपालको काठमाडौंमा मञ्चन गर्ने खबर आउँदा हामी रुनु न हाँस्नु भएका थियौं । यसभन्दा अघि भारत रंग महोत्सवमा छनोट हुने नाटकहरूले दिल्ली लगायत भारतको अर्को कुनै शहरमा मञ्चनको अवसर पाउने गरेकोमा हामी त्यसरी नै आशातीत थियौं । आवेदन दिंदादेखि नै आशा गरिएकाले होला, हाम्रो कलात्मक प्रस्तुतिलाई एउटा अन्तर्राष्ट्रिय महोत्सवमा भन्दा बढी भारतीय रंगमञ्चका हस्तीहरू पढेको नेशनल स्कुल अफ ड्रामामा देखाउने अवसरका रूपमा हामीले लिएका थियौं ।
व्यावसायिक नेपाली रंगमञ्चको मूलप्रवाहमा नअटाइसकेका हाम्रा नृत्य कलाकारहरू पनि सोही कारणले बढी उत्साहित थिए । तर अचानक त्यो अवसर छैन भनेर भनिदिंदा हामी रनभुल्लमा परेका थियौं । काठमाडौंमा यो प्रस्तुति हामीले लामै समय देखाइसकेका थियौं र प्रशस्तै दर्शकहरू (धेरै रंगकर्मीहरू बाहेक)ले यसलाई हेरिसकेका थिए । नेपालसँग सिमाना जोडिएको गोरखपुरमा प्रस्तुति देखाउन हामीलाई समस्या थिएन तर सधैं दिल्ली जाँदा रेल चढ्न जाने ठाउँको रूपमा मात्र चिनिएको त्यो भूमिमा एउटा यस्तो नाटक देखाउन लिएर जानुथियो जुन नाटकलाई स्वयम् नेपाली नाट्यकर्मीहरूले हेरिसकेका थिएनन् । यसरी एउटा अनावश्यक वैधानिकताको खोजीले हामीलाई रन्थनाएको थियो ।
त्यसबाहेक महोत्सवमा सहभागी हुँदा सधैं पाइने गरेको सेवा–सुविधामा पनि कटौती गरेको सुन्दा बाँदर र कान्छाबाउको अनुहार जोडिएको एउटा नेपाली उखानले सताइरहेको थियो । ‘हामीले हाम्रो सृजना प्रस्तुति गर्ने अवसर पाएका छौं, योभन्दा सुन्दर कुरा कुनै स्थान, सेवा वा सुविधा हुन सक्दैन’ अन्योलताकै बीचमा बसेको तयारी बैठकमा नाटककी निर्देशक नम्रता केसीले भनिन्, ‘मलाई लाग्छ गोरखपुर र काठमाडौंका दर्शकहरूको भागमा यो नाटक परिसक्यो, अनि कुनै पनि असल कलाकारले दर्शकको भाग खोस्दैनन् ।’ असल कलाकार बन्ने उत्साह यस्तो भइदियो, एस्थेटिक डान्स स्टुडियोको २५ सदस्यीय टोली जोरजामले नाटकको तयारी गर्न थाल्यो ।
हरेक कुरा हुँदा त्यसले पार्ने प्रभावको दुई पक्ष हुन्छ । गोरखपुरमा प्रस्तुति लिएर जानु त्यस्तै एउटा अवसर बन्यो जहाँ हाम्रा लागि सकारात्मक असरहरूको तौल बढी थियो । विशेष मेरा लागि, कुनै पनि स्थानलाई लिएर हेरिने एकपक्षीय दृष्टिकोणलाई बदल्न यसले सघाउ पुर्यायो । अगाडि भनिए झैं भारतका समृद्ध शहरहरू जान रेल चढ्ने ठाउँको रूपमा मात्रै मैले चिनेको यो ठाउँमा नाटक गर्न जाँदै गर्दा सोही शहरको सांस्कृतिक, सामाजिक र पर्यटकीय समृद्धता देख्न पाउनु एउटा अभूतपूर्व अवसर थियो ।
रेल स्टेशनभन्दा अलि पर रहेको नौकाबिहार भनेर चिनिने रामगढ ताल यस शहरका थोरैमध्ये एक आकर्षण केन्द्र रहेछ । हाम्रा लागि भने त्योभन्दा आकर्षणको केन्द्र थियो– त्यसै तालको किनारमा रहेको योगीराज बाबा गम्भीरनाथ प्रेक्षागृह एवं सांस्कृतिक केन्द्र जहाँ स्थानीय नाट्यकर्मीहरूको समूह अभियान थिएटरको सक्रियतामा पहिलोपल्ट भारत रंग महोत्सवको आयोजना भइरहेको थियो । अभियान थिएटरका निर्देशक श्रीनारायण पाण्डेको संयोजकत्वमा भइरहेको महोत्सवका सक्रिय कार्यकर्ताहरूमा अधिकांश स्थानीय युवायुवती थिए जो नाटक र अभिनयप्रति ज्यादै समर्पित थिए ।
समूहका कलाकारहरूले सृजना गरेका विभिन्न प्रतिस्थापन कला, पेन्टिङ, फोटो प्रदर्शनीबाट त्यहाँका नाट्यकर्मीहरू कति सृजनशील र मिहिनेती छन् भन्ने थाहा हुन्थ्यो । भव्य मञ्च सहितको प्रेक्षागृहमा सजाइएका नाट्य उपकरण तथा सामग्रीहरूसँगै प्रवेशद्वारहरूमा बनाइएका रंगोली तथा जीव–जनावरका मूर्तिहरू अनि लस्करै टाँसिएका नाटकका पोस्टरहरूले महोत्सवको रौनक बढाएको थियो ।
मिडिया कभरेजका सन्दर्भमा पनि गोरखपुर उदार नै रहेछ । हामीले नाटक प्रस्तुत गरेको अर्को बिहान हामी नेपालतर्फ प्रस्थान गरिसकेका थियौं । नेपाल आइपुगेर ह्वाट्सएप चेक गर्दा स्थानीय आयोजकले पठाएका हाम्रा नाटक सम्बन्धी स्थानीय अखबारमा छापिएका समाचार तथा फोटो फिचरहरूको लामो लिस्ट देखिन्थ्यो ।
संख्या उल्लेख्य नभए पनि गोरखपुरमा विविध किसिमका दर्शकहरूको कमि देखिएन । नाटकलाई समालोचनात्मक रूपमा कसरी हेर्नुपर्छ भन्ने चेत भएका देखि मञ्चतिर नभई दर्शकदीर्घातिर फर्केर प्रतिक्रिया दिन उत्सुक दर्शक कलाकारहरूको उत्साह देखेर नेपाली कलाकार भावविह्वल भइहाले । ‘स्ट्याण्डिङ ओभिएसन’ लगायत कलाकार निर्देशकले सोचेभन्दा बढी प्रशंसा र मानसम्मान ‘जून– मोर द्यान अ फे(इ)री टेल’ले पायो ।
उसो त प्रेक्षालयभित्र नाटक हेर्ने अनुशासन भने नेपालको भन्दा फरक पनि देखिएको थियो । दर्शकहरू नाटकको बीचमै निर्वाध आउजाउ गरिरहनु र फोटो पत्रकारहरूले फ्ल्यास प्रयोग गरेर फोटो खिच्नुले कतिपय शालीन दर्शकहरूलाई बाधा पुर्याइरहेको भान हुन्थ्यो, भलै कसैले विरोध गरेनन् । ठूलो प्रेक्षागृह र कम दर्शक भएर हुनसक्छ, प्रत्यक्ष मञ्चन भइरहेको नाटकलाई भिडियोकल मार्फत ‘प्रवद्र्धन’ गर्ने कार्यमा संलग्न पछिल्लो पंक्तिमा बसेका दर्शकहरू भेट्नु पनि हाम्रा लागि नौला अनुभव रहे ।
मिडिया कभरेजका सन्दर्भमा पनि गोरखपुर उदार नै रहेछ । हामीले नाटक प्रस्तुत गरेको अर्को बिहान हामी नेपालतर्फ प्रस्थान गरिसकेका थियौं । नेपाल आइपुगेर ह्वाट्सएप चेक गर्दा स्थानीय आयोजकले पठाएका हाम्रा नाटक सम्बन्धी स्थानीय अखबारमा छापिएका समाचार तथा फोटो फिचरहरूको लामो लिस्ट देखिन्थ्यो । एकदमै प्रशंसा गरिएका फरक–फरक शीर्षकका ती समाचार फिचरहरूको मूल आलेख भने लगभग उस्तै रहेछ । सायद आयोजकले पठाएको प्रेस विज्ञप्तिलाई जस्ताको तस्तै छापेको भएर होला, सबैजसो मिडिया सामग्रीमा एउटै गल्ती भेटिन्थ्यो– कलाकारहरूको नाम ।
सरकारी तवरबाट विरलै गरिने यस किसिमको कार्यक्रमका उल्लेख्य प्रभाव र सुधार्नुपर्ने पक्ष दुवैका विषयमा मिडियाले मन खोलेर लेखिदिए ‘नाटक हेर्ने र गर्ने’ दुवै संस्कार बसाउन सजिलो हुन्छ ।
पछिल्लो समय नाटकमा थपिएका केही कलाकारहरूको नाम (जसलाई हामीले आयोजकको अनुरोधमा थप तीनपटक पठाएका थियौं)को सट्टा हामीले आवेदन गर्दा पठाएका नामहरूलाई आयोजकले बाँडेछन् र मिडियाकर्मीहरूले पनि नाटक सकिएपछि कलाकार परिचयको खण्डमा बस्न नभ्याएर हुनसक्छ, आयोजकले जे पठायो त्यसैलाई छापेछन् । आजकल नेपालमा पनि नाटक समीक्षा गर्न नभ्याएको खण्डमा आयोजकले पठाएको प्रेस विज्ञप्ति सार्ने क्रम बढिरहेको देख्न सकिन्छ । यसले सृजनात्मक रंगकर्म र पत्रकारिता दुवैलाई हानि गर्छ भन्ने त जगजाहेर नै छ । यद्यपि, नेपाली पत्रकारिताले रंगमञ्चलाई जुन आकारको स्पेस दिइरहेको छ, त्यही आकार–प्रकारको गम्भीरता र संवेदनशीलता पनि दिने नै छ भन्ने आशा गर्न सकिन्छ ।
महोत्सव अन्तर्गत नै काठमाडौंमा भएको प्रस्तुति हाम्रो लागि विशेष अर्थको रह्यो । आयोजकले हामीसँग नै सल्लाह गरेर नामलाई नेपालीकरण गरिदिएको थियो । ‘जूनः परिकथा मात्रै होइन’ भनेर आयोजकले नै भनिदिएपछि सायद यसपटक दर्शकहरूलाई यसले उत्सुकता जगाएको थियो, त्यही भएर हुनसक्छ राष्ट्रिय नाचघरको प्रेक्षालय यसपटक खचाखच थियो । खासगरी अघिल्लो पटक छुटेका थुप्रै नेपाली रंगकर्मीहरूले महोत्सवमा यो नाटक हेरे र प्रतिक्रिया दिए । पहिल्यै हेरेकाहरू पनि दोहोर्याउन–तेहेर्याउन नाचघरमा जम्मा भएका थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाल भारत रंग महोत्सव नाम दिइएको काठमाडौंको कार्यक्रमप्रति केही रंगकर्मीहरू तथा सांस्कृतिक अभियन्ताहरूको फरक मत भएतापनि यसमा मञ्चन भएका तीन नेपाली र तीन भारतीय नाटक हेर्ने दर्शकको अभाव भएन । राष्ट्रिय नाट्य विद्यालय, नयाँदिल्लीको रिपोर्टरी क्लब भनेर चिनिने रंगमण्डलको प्रस्तुति तीनै वटा भारतीय नाटकहरू बेजोडका थिए । सायद तिनका बारे विस्तृतमा नेपाली मिडियाले लेखे वा लेख्ने नै छन् । दोस्रो दिनको भारतीय नाटक हेरिसकेपछि कलाकारको सम्मानमा ताली बजाएर नबसी घर जान हतार गर्ने दर्शकहरूले ‘नाटक हेर्ने संस्कार नदेखाएको’ भनेर कुलपतिको गुनासो भेटेको प्रसंग धन्न कतै आएन ।
‘डान्स र ड्रामा मिलेपछि हुने जादु’ वास्तवमै कस्तो हुन्छ थाहा छैन । तर त्यसले अपार आश्चर्य देखाउनुका साथै सम्भावनाका केही खुड्किलाहरू पक्कै देखाउँछ होला ।
तर सरकारी तवरबाट विरलै गरिने यस किसिमको कार्यक्रमका उल्लेख्य प्रभाव र सुधार्नुपर्ने पक्ष दुवैका विषयमा मिडियाले मन खोलेर लेखिदिए ‘नाटक हेर्ने र गर्ने’ दुवै संस्कार बसाउन सजिलो हुन्छ । खासगरी, काठमाडौंमा मञ्चन भइसकेका नाटकहरू फेरि काठमाडौंमा नै देखाउनुको सट्टा तिनलाई अन्यत्र पठाएर थप विदेशी नाटकहरू (भारत र श्रीलंकाका) ल्याएर देखाउन सकिएको भए वा नेपाली नै नाटक देखाउँदा पनि त्यसमा भारतीय कलाकारहरूलाई दर्शकको रूपमा उपस्थित गराउन सकेको भए त्यसले सही अर्थमा सांस्कृतिक आदानप्रदान र अन्तरक्रियालाई बढावा दिन्थ्यो । किनभने नेपालको (र प्रायः अन्य देशहरूको पनि) सन्दर्भमा यस्ता आग्रहहरू रंगकर्मी भएर लेख्नुभन्दा मिडियाको तर्फबाट उठ्दा ज्यादा ‘समभावना’ प्रकट हुने सम्भावना हुन्छ ।
– – –
‘डान्स र ड्रामा मिलेपछि हुने जादु’ वास्तवमै कस्तो हुन्छ थाहा छैन । तर त्यसले अपार आश्चर्य देखाउनुका साथै सम्भावनाका केही खुड्किलाहरू पक्कै देखाउँछ होला । यो महोत्सवसँगै राष्ट्रिय नाट्य विद्यालयको एउटा च्याप्टर नेपालमा खोल्ने भन्ने पहल गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र यसकी कुलपति निशा शर्मा लागेका छन् । स्वयम् आफ्नो नाटक लिएर महोत्सवमा उपस्थित राष्ट्रिय नाट्य विद्यालयका निर्देशक तथा प्रसिद्ध कलाकार चित्तरञ्जन त्रिपाठीले त्यो दिशातर्फ जान सकिने संकेत गरेका छन् । दुई देशको सरकारको संलग्नता चाहिने भएकाले तत्कालै क्याम्पस नै खोल्न सकिएन भने पनि आफ्नोतर्फबाट पहल गरेर कार्यशाला तथा तालिमहरू ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।
जाँदाजाँदै उनले नेपालको रंगमञ्चमा प्रदान गरिने जुनसुकै शिक्षाले पनि मौलिक महत्व चैं बोकेकै हुनुपर्ने बताएका छन् । त्यसबाट नेपाली रंगमञ्च शिक्षाको क्षेत्रमा पक्कै पनि सकारात्मक असरको आशा राख्न सकिन्छ । खुशी हुने अर्को एउटा पर्याप्त कारण त यो पनि हो !