१ फागुन, काठमाडौं । गत वर्ष २० फागुनमा काठमाडौं भृकुटीमण्डपमा हजारौं कवाडी व्यवसायी सडकमा आए । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृह अगाडि कवाडी व्यवसायी, संकलकहरूले नाराबाजी गर्दै आन्दोलन गरे ।
कारण थियो– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ ।
महानगरले नगर प्रहरी बलमार्फत सूचना टाँस्दै, माइकिङ गर्दै कवाडी संकलन केन्द्र भत्काउन थाल्यो । कवाडी संकलन केन्द्रमा डोजर चलाउन थालेपछि उनीहरू आन्दोलनमा आए । त्यसयता पाँच पटकभन्दा बढी आन्दोलन गरिसकेका छन् ।
अहिले फेरि यही विषयमा महानगर प्रहरी र कवाडी व्यवसायी आमनेसामने भएका छन् । काठमाडौं टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप समेत भयो । झडपमा दुवै पक्ष गरी पाँच जना घाइते भए । घाइते हुनेमा तीन जना कवाड व्यवसायी र दुई जना नगर प्रहरी छन् ।
कवाडी गोदाम हटाउन पुगेको काठमाडौं नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको थियो ।
नगर प्रहरी टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगर नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोतल प्रहार गरेको र आत्मरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।
तर, काठमाडौं महानगर प्रहरीलाई नागरिकमाथि लौरो चलाउने अधिकार नरहेको भन्दै सार्वजनिक स्थानबाट विरोध भएको छ ।
‘मलाई ठोक्न दे सरकार ! अपराध हैन ?,’ फुटपाथ व्यवसायीका लागि आन्दोलन गरेका अभियान्ता ईः ले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्छन्, ‘लौरो पनि बोक्न नपाउने नगर प्रहरीले निरन्तर कानुनी क्षेत्राधिकार उल्लंघन गरी अराजकता मच्चाउँदा सरकार, गृहमन्त्रीको मौनसमर्थन किन ? यो परिस्थिति कानुन पालना नगर्दा र कवाडी व्यवसायप्रति वर्गीय हेयदृष्टि राख्दा सिर्जना भएको स्पष्ट छ ।’
संसद्मा उठ्यो विषय
कवाडी व्यवसायी र महानगरको झडपपछि संसद्मा समेत यो विषयले प्रवेश पाएको छ । आइतबार संसद्मा आमजनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसद साहले कवाडमा काम गर्ने मजदुरमाथि सांघातिक हमला गरेर काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् ।
यस्तै नेपाली कांग्रेस सांसद नगिना यादवले काठमाडौं महानगरले कवाड व्यवसायीमाथि अराजक गतिविधि भइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले कवाड व्यवसायीमाथि भइरहेका यस्ता गतिविधि रोक्नसमेत आग्रह गरिन् । कर तिरेर व्यवसाय सञ्चालन गर्दै आउँदा पनि महानगरले कवाड व्यवसायीलाई तोडफोड, सामान जफत गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
यस्तै सांसद अमेशकुमार सिंहले पनि काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि अत्याचार गरेको भन्दै संसद्मा कुरा उठाउँदै आएका छन् ।
महानगर मेयर बालेन साहलाई ‘हिटलर’ को संज्ञा दिँदै सोमबार संसद्मा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर साहले नाजीवादी शैलीमा गरिब र विपन्नमाथि अन्याय गरिरहेको बताए ।
‘काठमाडौं महानगरका मेयरले हिटलर शैलीमा दिनदहाडै कवाड व्यवसायीमाथि डोजर चलाएर गरिब मजदुरलाई घाइते बनाएका छन् । जर्मनीमा लोकतान्त्रिक प्रक्रियाबाटै नाजीवादको उदय भए जस्तै मेयर साह तानाशाह बनेर निस्किएका छन् । बालेनको गतिविधिले जर्मनीको हिटलर, इटालीको मुसोलिनीको याद आएको छ,’ उनले भने ।
लोकतन्त्रले जनताको अधिकार र सुरक्षा ग्यारेन्टी गरेको हुन्छ भन्दै सांसद सिंहले त्यसैका लागि राज्यको परिकल्पना गर्ने गरिएको बताए ।
उनले काठमाडौं सबै नेपालीको राजधानी भएको भन्दै सांसद सिंहले संसद् भवन, सिंहदरबार, रामशाहपथको सर्वोच्च अदालत, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास भत्काएर देखाउन चुनौती दिए ।
जनमतको विरोध
जनमत पार्टीले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई ज्यादती गरेको भन्दै भर्त्सना गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै जनमतले संविधानले देशको कुनै पनि भागमा पेसा रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता दिएको प्रति महानगरलाई स्मरण गराइएको छ ।
व्यवसायीहरूमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गर्ने र आतंक मच्चाउने काम महानगरले गरेको जनमतले आरोप लगाएको छ ।
हामीसँग छलफल नै भएन, अब प्रतिकार गर्छौं : कवाडी व्यवसायी
कवाडी व्यवसायी महासंघ अध्यक्ष रहेको सञ्जय साह कलवार अहिले काठमाडौं महानगरले हटाइरहेको कवाडी व्यवसायीका पक्षमा वकालत गर्दै प्रतिकारको नेतृत्व गरिरहेका छन् ।
कवाडी व्यवसायी महासंघ अध्यक्ष सञ्जय साह कलवार काठमाडौं महानगरभित्र १ लाख कवाडी व्यवसायी रोजगार भएको भन्दै महानगरले उनीहरूको अधिकार खोस्न नमिल्ने बताए ।
उनले काठमाडौं महानगरले छलफल नै नगरी डोजर आतंक मच्चाएको बताए । ‘हामी दर्ता भएर कर तिरेर संकलन गर्न तयार छौं, तर मेयरले कुरा सुन्नुपर्छ,’ कलवारले भने ।
उनले काठमाडौं महानगरभित्र १ लाख कवाडी व्यवसायी रोजगार भएको भन्दै महानगरले उनीहरूको अधिकार खोस्न नमिल्ने बताए ।
‘अस्थायी संरचना बनाएको छ, नक्सा पास छैन भन्ने विवाद छ । त्यो त छलफल गर्नुपर्यो नि ! सिधै आएको छ, डोजर चलाएको छ । मान्छे कुट्न त पाइन्न नि !,’ उनले भने ।
कलवारले अब काठमाडौं महानगरले धरपकड गरे प्रतिकार गर्ने सुनाए । ‘अब हामी पनि चुप लागेर बस्दैनौं, हाम्रो ८ सय संकलन केन्द्र छ । जहाँ भत्काउँछ, त्यहीँ बनाउँछौं । सबै एकजुट भएर प्रतिकार गछौं,’ उनले भने ।
कवाडी संकलन केन्द्र नराख्न माग नै छ : महानगर
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कवाडी संकलन केन्द्र राख्न नहुने भन्दै स्थानीयको गुनासा आएको बताए ।
काठमाडौं महानगर प्रवक्ता नवीन मानन्धरले नक्सा पासविना, अनुमति नलिइकन र बस्तीलाई असुरक्षा महसुस हुने गरी कवाडी संकलन केन्द्र सञ्चालन गर्न नपाइने बताए ।
‘संकलन गर्न रोक लगाएको छैन तर व्यावसायिक र घना बस्तीमा संकलन केन्द्र बनाउन पाइँदैन भनेर व्यापक गुनासो आयो, त्यही अनुसार निर्णय गरेर अहिले हटाएका हौं,’ मानन्धरले अनलाइनखबरसँग भने, ‘हामीले कवाडी करका विषयमा आर्थिक ऐनमै ल्याएका छौं । सोही अनुसार संकलन हुन्छ । तर, कुरा के हो भने अहिले जुन किसिमको समस्या आइरहेको छ, त्यो संकलन केन्द्रको कारण हो ।’
नक्सा पासविना, अनुमति नलिइकन र बस्तीलाई असुरक्षा महसुस हुने गरी कवाडी संकलन केन्द्र सञ्चालन गर्न नपाइने उनले बताए ।
‘हाम्रो पालिकाभित्र कवाडी संकलन केन्द्रमा कहिले आगलागी, कहिले चोरीका टन्नै केश आइरहेको छ । महानगरभित्र असुरक्षित ढंगले निर्माण गरेको संकलन केन्द्र हटाउने छौं,’ उनले भने ।
मानन्धरले नगर प्रहरीले आत्मरक्षा गर्दा झडपको स्थिति आएको बताए । ‘अवैध ढंगले सञ्चालनमा रहेको संकलन केन्द्रमा महानगर प्रहरी पुग्दा झगडा भएको हो,’ उनले भने ।
जनादेश अनुसार नै काम गरेका हौं : बालेन सचिवालय
मेयर बालेन साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले महानगरभित्र कवाडी संकलन केन्द्र राख्न नहुने निर्णय जनादेश भएको बताउँछन् ।
कवाडी संकलन केन्द्रका कारण असुरक्षा, होहल्ला आएको भन्दै वडा सदस्य, वडाध्यक्षहरूले नै आवाज उठाउँदै आएपछि नगरसभाले नै निर्णय गरेको बताए ।
चालु आर्थिक वर्ष २०८१/८२ लाग्नु अगाडि काठमाडौं महानगरका वडाहरूले सूचना निकालेर आफ्नो वडाभित्र कवाडी संकलन केन्द्र नराख्न भनिरहेका थिए ।
‘हाम्रो नगरसभाले नै कवाडी संकलन केन्द्र हटाउने निर्णय गरेको हो । त्यहीँ अहिले महानगरका सम्बन्धित विभागले काम गरिरहेका हुन्,’ उनले भने, ‘कवाडी करमा पनि पुरानो ठेक्काको समय सकिन लागेको भन्दै महानगर आफैंले कवाड संकलन गर्न खोजेको बताए ।

काठमाडौं महानगर प्रहरीका एक कर्मचारीका अनुसार अहिले महानगरले १ सयभन्दा बढी संकलन केन्द्र भत्काइसकेको छ ।
‘३२ वटै वडामा कतै पनि कवाडी संकलन केन्द्र राख्न नदिने नै हाम्रो नीति हो, त्यही अनुसार अहिले सुरुमा माइकिङ गरेर हट्न भन्ने र नमाने डोजर चलाइरहेका छौं,’ एक नगर प्रहरी अधिकृत भन्छन् ।
नीति नै आवासीय क्षेत्र बाहिर
चालु आर्थिक वर्ष २०८१/८२ लाग्नु अगाडि काठमाडौं महानगरका वडाहरूले सूचना निकालेर आफ्नो वडाभित्र कवाडी संकलन केन्द्र नराख्न भनिरहेका थिए ।
वडाको सूचना
तर, महानगरले चालु आव कवाडी व्यवसाय दर्ता/नवीकरण गर्नेबारे सार्वजनिक सूचना निकाल्दै आवासीय क्षेत्रमा नराख्ने उल्लेख गर्यो ।
महानगरले ३० कात्तिकमा जारी गरेको सूचनामा छ ‘महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता/नवीकरण गर्ने सम्बन्धमा महानगरको आर्थिक ऐन, २०५१ मा कवाडी संकलन केन्द्र (आवासीय क्षेत्रबाहेक) भन्ने व्यवस्था भएको हुँदा चालु आव २०८१/८२ देखि महानगर क्षेत्रभित्रका आवासीय केन्द्रमा दर्ता/नवीकरण नहुने र आवासीय क्षेत्र बाहेक मात्र दर्ता/नवीकरण हुने हुँदा सोही अनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्न महानगरभित्रका सम्पूर्ण कवाडी व्यवसायीलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
अहिले महानगरले सोही नीति अनुसार धमाधम एक्सन लिइरहेको छ ।