काठमाडौं । भारतीय कमेडियन समय रैनाले आफ्नो पडकास्ट शो ‘इन्डियाज गट लेटेन्ट’लाई लिएर चलिरहेको विवादमा स्पष्टीकरण दिएका छन् । उनले शोका सबै भिडियो युट्युबबाट हटाइएको बताएका छन् । आफ्नो उद्देश्य दर्शकलाई हँसाउनुमात्र रहेको उनको प्रष्टीकरण छ ।
यसबारे चलिरहेको प्रहरीसहितका एजेन्सीले गरिरहेको अनुसन्धानमा आफूले सघाउने वचन समेत उनले दिएका छन् । उनी लेख्छन्, ‘अहिले जे भैरहेको छ, यो सबैलाई सम्हाल्न मलाई कठिन भएको छ । मैले आफ्नो युट्युव च्यानलबाट ‘इन्डियाज गट लेटेन्ट’ का सबै भिडियोलाई हटाएको छु । मेरो उद्देश्य मानिसलाई हँसाउने मात्र थियो । निष्पक्ष रूपमा छानबिनका लागि म सबै निकायसँग सहकार्य गर्न तयार छु ।’
यो घटनामा रणवीर अल्लाहबादियाले पनि माफी मागेका छन् । रैनाले चलाउने उक्त पडकास्टमा अभिभावक लक्षित अश्लिल र भद्दा टिप्पणी भएपछि इन्टरनेटमा यो एपिसोड भाइरल भएको थियो । होस्ट मात्र नभएर त्यहाँ पुगेका ३० पाहुनाविरुद्ध पनि महाराष्ट्र, पश्चिम बंगालसहितका भारतीय राज्यमा मुद्दा दायर भएको छ ।
प्रहरी, महिला आयोग, मानवअधिकार आयोगले पनि मुद्दा दायर गर्दै उपस्थितीको लागि पत्र काटेका छन् । संसदमा समेत चर्चा भएको छ भने गृहमन्त्री अमित शाहलाई पत्र लेखिएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले समेत यसको विरोध गरेका छन् । अहिले युट्युवले उक्त शोका सबै भिडियो हटाएको छ । विवाद चर्किएपछि रैनाले गुजरात लगायतका राज्यमा गर्ने भनिएका शो रद्द भएका छन् ।
‘इन्डियाज गट लेटेन्ट’ स्ट्यान्डअप कमेडियन समय रैनाको शो हो । विवादित भनिएको एपिसोड ८ फेब्रुअरीमा युट्युबमा रिलिज भएको थियो । यो शोमा बोल्ड कमेडी सामग्री छ । यस शोका विश्वभर ७३ लाखभन्दा बढी सब्सक्राइबर छन् । यस शोमा आमाबाबु र महिलाको बारेमा यस्ता कुरा भनिएको थियो, जुन सार्वजनिक मिडियामा उल्लेख गर्नु उपयुक्त हुँदैन ।