काठमाडौँ । पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुरु गरेको एचपीभी खोप अभियान छैटौँ दिनसम्म आइपुग्दा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
दुई साता लामो अभियानका क्रममा १७ लाख किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर, छोटो अवधिमै अभियानले प्रगति हासिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै लाग्न नदिन सजगताका उपाय अपनाउने नीतिअन्तर्गत शुरु अभियानले राम्रो गति लिइरहेको भन्दै स्वास्थ्यकर्मीहरूप्रति आभार प्रकट गर्नुभएकाे छ ।
‘क्यान्सरको जोखिम कम गर्न निरोधात्मक अन्तर्गत किशोरीहरूको जीवनरक्षाको यो पवित्र अभियानलाई यति महत्वपूर्ण उचाइमा ल्याइपुर्याउन साथ दिनुहुने स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेवीका, सञ्चारमाध्यमलगायत सम्बद्ध सबैलाई हार्दिक आभार,’ मन्त्री पौडेलले भन्नुभयो ।
मन्त्री पौडेलले अबको बाँकी दिन खोपबाट छुटेका तथा विद्यालयबाहिर रहेका किशोरीहरू खोप लगाउन नछुटुन् भन्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहने उल्लेख गर्दै आफ्नो वरपरका छुटेकाहरूलाई खोप लगाउने कार्यमा पनि तपाईँको सकारात्मक सहयोग अपेक्षा गरेको उल्लेख गर्नुभएकाे छ ।
विश्व क्यान्सर दिवसको दिन गत माघ २२ गतेबाट शुरु गरिएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप दिइएको छ ।