Tuesday, February 11, 2025
घरसमाचारसिंहदरबार भित्र सेवाग्राहीका लागि चल्नेछन् बिजुली गाडी, खरिद प्रक्रिया अघि बढ्यो

सिंहदरबार भित्र सेवाग्राहीका लागि चल्नेछन् बिजुली गाडी, खरिद प्रक्रिया अघि बढ्यो

सिंहदरबारको दक्षिण गेट । फाइल फोटो


२९ माघ, काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र सेवाग्राहीको सुविधाका लागि सटल सर्भिस सुरु गर्ने भएको छ । त्यसका लागि दुई थान विद्युतीय गाडी किन्ने प्रक्रिया अघि बढाइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले सिंहदरबारको मुख्य गेटबाट काम विशेषले विभिन्न मन्त्रालयसम्म जाने सेवाग्राहीका लागि सटल सर्भिस सुरु गर्न लागिएको बताए । सटल सेवा सुरु गर्नका लागि गृह मन्त्रालयको वार्षिक बजेटमा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैले मन्त्रालयले क्याटलग सपिङ विधिबाट दुई थान विद्युतीय सटल/कार्ट खरिद गर्नका लागि आज सार्वजनिक सूचना प्रकाशित गरेर प्रस्ताव आह्वान गरेको छ । तर कति सिटको गाडी खरिद गर्न लागिएको हो भन्ने व्यहोरा सूचनामा उल्लेख गरेको छैन ।

मन्त्रालयका प्रवक्ता तिवारीले त्यस्ता गाडी अहिले ‘यहाँको बजारमै उपलब्ध नभएकाले अहिले सिट खुलाउन नसकिएको’ बताए ।

मन्त्रालयको सूचनामा लेखिए अनुसार इजाजतप्राप्त उत्पादक वा अधिकृत बिक्रेताले यो आजको मितिबाट १० दिनभित्र सिलबन्दी प्रस्ताव दर्ता गर्न सक्नेछन् । निवेदनका साथ २०८०/८१ को करचुक्ता वा म्याद थप गरेको प्रमाणपत्रको प्रतिलिपि, आधिकारिक स्पेसिफिकेसन, गुणस्तर, मूल्य र सुविधासहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न हुनुपर्ने छ ।

यो सेवा सुरु भए सिंहदरबारभित्र प्रवेश गर्ने गेटपास पाएका सेवाग्राहीले निःशुल्क गाडी सुविधा पाउने छन् ।

सिंहदरबारको परिसर ठूलो भएकाले हिँडेर मन्त्रालय र कार्यालयसम्म पुग्न गाह्रो हुने र कतिपयलाई त्यहाँसम्म पुग्ने बाटोसमेत थाहा नहुने भएकाले समस्या हुने गरेको छ । त्यसैले दुई थान साना विद्युतीय गाडी खरिदको प्रक्रिया सुरु गरिएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -