२८ माघ, काठमाडौं । युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर गौशालामा एक युवकमाथि लुटपाट भएको छ । लुटपाटको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका १८ वर्षीय परबेश अन्सारी, सोही ठाउँका १८ वर्षीय नजमुदिन अन्सारी, गोरखा नगरपालिका–१३ का १८ वर्षीय जनेद हुसेन र चितवनको पिप्ले घर भएकी १९ वर्षीया रश्मी क्षेत्री छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
यो समूहले २४ माघको राति साढे १० बजेतिर इटहरी घर भएका एक युवकलाई लुटपाट गरेको आरोप छ । युवती प्रयोग गरी गेस्टहाउस जाने भन्दै भन्दै एकान्त स्थानमा लगेर केटाहरु बोलाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।
ती युवकको मोबाइल, पर्स, घडी यो समूहले लुटेर लगेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । पक्राउ परेकाहरलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।