नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक वर्षमा ६२ प्रतिशत प्रगति गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश बहादुर अधिकारीले उजुरी फर्छ्यौटमा साउनदेखि हालसम्म ६२ प्रतिशत प्रगति हासिल गरेको बताउनुभयो ।
गत बर्ष ८३.८३ प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिनुभयो । नेपालगञ्ज कार्यालयको कार्य क्षेत्र लुम्बिनीका बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला हुन् । चालू आर्थिक बर्ष २०८१र८२ मा सम्पर्क कार्यालय नेपालगञ्जमा २७९ वटा उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोज ३१, कार्तिक २८, मङ्सिर ३७, पुसमा ४० र माघ महिनामा ३१ उजुरी दर्ता भएका छन् ।
कार्यालय प्रमुख अधिकारीको सभापतित्व एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाँकेका स्थानीय पालिका प्रमुखलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अधिकारीले हालसम्मको कार्य सम्पादन अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ बाट दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ । प्रमुख अतिथि अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाब चन्द्र मौर्यलाई पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले भ्रष्टाचारलाई सामाजिक रोगको संज्ञा दिँदै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सुशासन प्रवर्द्धनका लागि सबै इमान्दार र गम्भीर बन्नुपर्ने मन्त्री अग्रवालको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तव्य ब्यक्त गर्दै सदाचार र सुशासन प्रवर्द्धनका लागि सबै प्रतिबद्ध भए मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिनेमा जोड दिनुभएको थियो । वक्ताहरूले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
यस वर्ष ‘भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी, सुशासन प्रवर्द्धनमा सबैको जिम्मेवारी भन्ने मूल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवस मनाइँदैछ ।