२८ माघ, जनकपुरधाम । मधेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको तीन पुस्ते सम्पत्ति शुद्धीकरण आवश्यक रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसमा आयोगको क्षेत्रीय कार्यलय बर्दिबासले जनकपुरधाममा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै सभामुख मण्डलले सम्पत्ति शुद्धीकरणसँगै भ्रष्टाचारीलाई जन्मकैदसम्मको सजायको व्यस्था हुनुपर्ने बताए ।
‘लाखौं कमाएको हुन्छ। महिना वर्षदिनको जेल सजायको व्यवस्था छ । त्यसले भ्रष्टाचार गर्नेहरू डराउँदैन। जन्मकैदसम्मको साजयसम्मको कानुनमा व्यवस्था हुनुपर्छ’ सभामुख मण्डलले भने। कानुन बाझिने गरी निर्माण हुँदा पनि त्यसले भ्रष्टाचार बढाएको उनको उनले बताए । भ्रष्टाचारले समाजमा असमान्ता र विद्रोहको भावना जागृति गरिरहेको सभामुख मण्डलको भनाइ थियो।
कार्यक्रममा प्रमुख अतिथि रहेका मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह अहिलेको तलबभत्ताले कर्मचारी र पदाधिकारीलाई समान्य लाउन खान, तथा छोरीछोरीलाई पढाउन नै सकस भएकाले भ्रष्टाचार बढेको धारणा राखे। उनले कम्तिमा खान लाउन पुग्ने गरी तलबको व्यवस्था भए भ्रष्टाचार नियन्त्रण हुन सक्ने बताए ।
उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेलले के कारणले भ्रष्टाचार बढेको भन्ने कुराहरू पत्ता लगाएर त्यही अनुसार सरकार अघि बढ्नु पर्ने तर्क राखे । समाजमा भ्रष्टाचार सर्वस्वीकार्यताले पनि बढेको हुन सक्ने उनको भनाइ छ ।
अख्तियारका बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङको अध्यक्षतामा भएको कर्यक्रममा मधेश सरकारका प्रमुख सचिव मदन भुजेलले पनि आफ्ना धाणा राखेका थिए । कार्यक्रममा मधेशका मन्त्रालयका सचिव, वभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूको सहभागिता थियो ।