२७ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंको कालिमाटी क्षेत्रको सडक ३ असार २०८० मा राताम्य थियो । कारण थियो– बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीले गोलभेँडा सडकमा फ्याक्नु ।
बिक्री हुन छाडेको भन्दै किसान र व्यापारीले कालिमाटी फलफूल तथा तरकारी बजार परिसरदेखि कालिमाटी मूल सडकसम्म गोलभेँडा फ्याँकेका थिए ।
त्यो बेला कालिमाटी क्षेत्रमा करिब ५० हजार किलो गोलभेँडा सडकमा फ्याँकेर ‘गोलभेँडा होलिडे’ गरिएको थियो ।
त्यसको दुई महिनापछि बजारमा गोलभेँडा आउने क्रम रोकियो । नेपाली उत्पादनको सिजन सकिएपछि भारतीय गोलभेँडा उच्च मूल्यमा उपभोक्ताले किन्न बाध्य भए ।
ठ्याक्कै त्यही बेला नेपाली सस उद्योगहरू कतिपय बन्द हुने अवस्था आएको भन्दै भारतबाट चर्को मूल्यमा गोलभेँडा आयात समेत भएको थियो ।
२० माघ २०७९ मा स्वदेशी तरकारीले उत्पादन अनुसार लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानले नारायणगढ पुल्चोकमा तरकारी फालेर विरोध जनाए ।
तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढमा गोलभेँडा, काउली, बन्दा, परबल लगायत तरकारी फालेर आन्दोलन गरियो ।
त्यस्तै घटना वैशाख २०७८ मा पनि भयो । तत्कालीन समयमा कोरोना भाइरस महामारीले गर्दा निषेधाज्ञाका कारण बारीमा भएको उत्पादनले बजार नपाएको भन्दै मकवानपुर, काभ्रे, चितवन लगायत विभिन्न स्थानका किसानले हजारौं किलो काउली उखेलेर फाले । बजार जान नपाउने भएपछि तरकारी उखेलेर त्यो बेला किसानले अन्नबाली लगाएका थिए ।
फागुन २०७७ मा पश्चिम नवलपरासीमा गोलभेँडाले बजार नपाएको भन्दै बर्दघाटका किसानले बर्दघाट नगरपालिका परिसरभित्रै फालिदिएर विरोध जनाए ।
बिक्री हुन छाडेको भन्दै किसान र व्यापारीले कालिमाटी फलफूल तथा तरकारी बजार परिसरदेखि कालिमाटी मूल सडकसम्म गोलभेँडा फ्याँकेका थिए ।
स्थानीय किसानका उत्पादनले बजार नपाउने र भारतीय आयातित गोलभेँडा खुलेआम बिक्री हुने गरेको भन्दै उनीहरूले नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा फालेर विरोध जनाएका थिए ।
यसैगरी माघ २०७५ मा चितवनका किसानले बन्दा र मुला बारीमा डोजर चलाए । बजार नपाएको र पाएर बेच्दा लगानी पनि नउठ्ने भन्दै किसानले बारीमै डोजर चलाएर नष्ट गरेका थिए ।
र, यो वर्ष पनि समस्या उही
यति लामो समयदेखि किसानले भोगिरहेको समस्या फेरि यसपालि पनि देखिएको छ । अहिले देशका विभिन्न स्थानका किसानले बारीमै काउली खेर फालिरहेका छन् ।
किलोको २० रुपैयाँभन्दा बढी लागत पर्ने काउली ५ रुपैयाँभन्दा सस्तोमा बेच्नुपरेपछि काउली बारीमै जोत्न थालेका हुन् ।
काभ्रेकी किसान फम्फा पराजुलीले त किसानको दुःखलाई गीतको भाका हाल्दै काउली फँडानी गरिरहेको भिडियो आफ्नो सामाजिक सञ्जालमा राखेकी छन् ।
राखौं भने दुई दिनलाई टिक्दैन
बेचौं भने १० रुप्याँमा बिक्दैन
खेती गरेर, खेती गरेर
के बेच्नु तरकारी झोला भरेर…
झट्ट सुन्दा यो कुनै समयको चर्चित लोकदोहोरी गीतको भाखा जस्तै भए पनि पराजुलीको पीडाले दैनन्दिन खेतीपातीमा हाडछाला खियाउने किसानको प्रतिनिधित्व गर्दछ ।
मकवानपुर भीमफेदी गाउँपालिकाका किसान शिव रुम्बाले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा किसानहरू यो देशमा कसरी टिक्ने भन्दा काउली र मुला खेर गएको बताए ।
उनले साँवा पनि नउठ्ने गरी तरकारी खेर गएको भन्दै खेती गर्दा घर नै बन्धकी राख्नुपर्ने स्थिति रहेको बताए ।
यो समस्या अहिले काभ्रेकी पराजुली र मकवानपुरका रुम्बालाई मात्र होइन, अधिकांश स्थानका काउली किसानको समस्या देखिएको छ । गत साता भरतपुर–२४ केरुङ ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडका सेयर सदस्य किसानबाट उत्पादित काउलीले बजार मूल्य नै नपाएपछि बारीमै ट्याक्टर लगाएर जोत्न बाध्य भएका थिए ।
‘किसानको छैन क्यालेन्डर, राज्यको भर’
कृषि बजार विज्ञ अभिनाश सिलवाल प्रत्येक वर्ष कृषि बजारमा किसानले पाउने समस्याबारे किसान आफैं पनि सचेत हुनुपर्ने बताउँछन् ।
‘स्टोरेज गरेर समय बढाउन सकिएला तर किसानले पनि आफ्नो क्यालेन्डर मेन्टेन गर्नुपर्छ । एउटै सिजनमा सबै किसानले तरकारी निकाल्दा बजारमा भाउ नपाउने समस्या हुन्छ,’ सिलवाल भन्छन् ।
किसानले कुनै पनि तरकारी वा फलफूल लगाउँदा त्यसको कच्चा उत्पादन मात्रै बेच्नेभन्दा वैकल्पिक उत्पादन के हुन्छ भनेर सोच्नुपर्ने उनको सुझाव छ ।
‘अहिले काउली, मुलाले बजार पाएको छैन । तर, काउली खेतमा जोत्ने होइन, चाना बनाउने, गुन्द्रुक बनाउने वा त्यसबाट के उत्पादन हुन्छ, त्यो पनि बनाउने । त्यतातर्फ सोच्नुपर्छ,’ उनले भने ।
किसानका लागि राज्यले केही गर्छ भनेर बस्दा किसानलाई नै समस्या पर्ने भन्दै उनी वार्षिक क्यालेन्डर अनुसार खेती गर्नुपर्न, क्षमता अनुसार आफैंले भण्डारण गरेर बजारमा उत्पादन ल्याउनुपर्ने बताउँछन् ।
किसानले कुनै पनि तरकारी वा फलफूल लगाउँदा त्यसको कच्चा उत्पादन मात्रै बेच्नेभन्दा वैकल्पिक उत्पादन के हुन्छ भनेर सोच्नुपर्ने कृषि बजार विज्ञहरूको सुझाव छ ।
काभ्रेका अगुवा किसान समेत रहेका चण्डेनी मण्डन साना किसान सहकारी संस्था अध्यक्ष सुमन नेपाल पनि तरकारीले बजार नपाउनुमा किसानले क्यालेन्डर मिलाउन नसकेको तर्क गर्छन् ।
‘अहिले एकैचोटि तरकारी निस्किनुमा क्यालेन्डर नमिलाइ रोप्नु पनि हो । बीउ राख्ने बेला नै ग्याप गरेर राखेको भए एकैचोटि काउली फुल्दैन थियो,’ उनी भन्छन्, ‘अहिले गाउँभरि काउली फुलेको छ । भाउ छैन, भोलि, पर्सि भाउ आउँछ तर तरकारी हुँदैन ।’
स्थानीय सरकारहरूले कोल्ड स्टोर बनाइदिएको भए काउलीको सिजन लम्ब्याउन सकिने उनको भनाइ छ ।
‘अहिले एकैचोटि बजार नपठाएर कम्तीमा १५ दिन अड्याउन सके अलि–अलि भाउ आउँथ्यो । यहाँ स्टोर गर्ने ठाउँ छैन । बरु अब सिन्की बनाउने, गुन्द्रुक बनाउने तर्फ किसानले सोच्नुपर्छ,’ उनी थप्छन् ।
यता, राष्ट्रिय कृषक समूह महासंघ संस्थापक अध्यक्ष उद्धव अधिकारीले सिजनमा उत्पादन हुँदा काउलीले मूल्य नपाएको बताए ।
‘अहिले काउलीको सिजन नै हो । फेरि, त्यही भएर पनि यस्तो भएको हो कि ?,’ उनी आकलन गर्छन्, ‘यसको समाधान भनेकै कोल्ड स्टोर र सरकारको अनुगमन पनि हो । ‘सिजन अनुसार मूल्य कम हुनु स्वाभाविक हो तर थोरै मूल्य पाउनु चाहिँ बिचौलियाको कारण पनि हो । उपभोक्ताले ३० रुपैयाँ किलो तिर्नुपरिरहेको छ । तर, किसानले १० रुपैयाँ पनि पाउँदैनन्, त्यही भएर किसान धेरै निराश भएका हुन् ।’
सरकारले शीतभण्डार बनाएर व्यवस्थित गरिदिए किसानले गरेको कृषि उत्पादन खेर नजाने तर्क उनको छ ।
‘उत्पादन भएका वस्तु कम्तीमा एक दुई महिना लम्ब्याउन सक्ने व्यवस्थित भण्डारण गृह सरकारले बनाउनुपर्छ । किसानले त्यहाँ राखेर पछि बेच्नु पर्दा उचित मूल्य पनि पाउँछन् । अहिले जस्तो स्थिति पनि हुँदैन,’ अधिकारीले भने ।
बजार बुझेर उत्पादन नहुँदा समस्या : कृषि मन्त्रालय
किसानले भोगिरहेको समस्याबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजार बुझेर किसानले उत्पादन गर्नुपर्ने बताउँदै आएको छ ।
‘अहिले देखिएको काउलीको समस्या सबैतिरको उत्पादन एकैचोटि निस्किएर हो । बजार बुझेर उत्पादन गरेको भए यस्तो अवस्था आउँदैन थियो,’ मन्त्रालयका प्रवक्ता मतिना जोशी वैद्य भन्छिन् ।
उनले काउलीलाई ५/७ दिनभन्दा बढी कोल्ड स्टोरमा राखेर बजार लैजान पनि त्यति सम्भव नहुने तर्क गरिन् ।
‘कोल्ड स्टोरमा काउली जस्ता तरकारी लामो समय राख्न पनि सम्भव हुँदैन । अब किसानले बजार नपाउँदा यसको वैकल्पिक उत्पादनबारे पनि सोच्नुपर्ने छ,’ उनले अनलाइनखबरसँग भनिन् ।
कोल्ड स्टोरमा राख्दैमा पछि भाउ पाइन्छ वा कृषि उत्पादन कोल्ड स्टोरमा राम्रै रहन्छ भन्नका लागि पनि धेरै कुराको ज्ञान हुनुपर्ने उनको भनाइ छ ।
‘सुन्तला, आलुजस्ता कृषि उत्पादन कोल्ड स्टोरमा राखेर होल्ड गर्न सकिन्छ तर यसको प्रयोजन जानिएन भने थप घाटा लाग्छ,’ उनले भनिन्, ‘कोल्ड स्टोरले कहीँ न कहीँ सहयोग त गर्छ नै तर मुख्य कुरा किसानले कृषि उत्पादन र यसको वैकल्पिक उत्पादन तथा बजार अध्ययन गरेर खेती गर्नुपर्छ ।’