रौतहट, माघ २७ – यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि फेरि पनि भ्रष्टाचारको आरोप लागेको छ। यसअघि विभिन्न पालिकामा कार्यरत रहँदा समेत उनले अनियमित क्रियाकलापमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
कटहरिया नगरपालिकामा रहँदा ठेकेदार सुनिल साहसँग मिलेर करोडौं रुपैयाँको अनियमितता गरेको आरोप लागेका जोशी चर्चित ‘आईफोन काण्ड’ मा समेत मुछिएका थिए। सोही कारण कटहरिया नगरपालिका विवादमा तानिएको थियो।
जोशीमाथि पटक–पटक सरकारी स्रोतको दुरुपयोग तथा अपारदर्शी टेन्डर प्रक्रियामार्फत आर्थिक अनियमितता गरेको आरोप लागेको छ। कटहरियामा १५० रुपैयाँ पर्ने किताबलाई ८०० रुपैयाँमा खरिद गरिएको विषयमा समेत उनको संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन्।
हालै यमुनामाई गाउँपालिकामा नियुक्त भएका जोशी कार्यालयमा हाजिर भएको १५ दिनमै मेयरलाई विभिन्न योजनाको प्रलोभन देखाएर अनियमित क्रियाकलापमा संलग्न हुन खोजेको दाबी स्थानीय कर्मचारीहरूको छ। “जोशी आएपछि कार्यालयमा अपारदर्शी निर्णयहरू हुन थालेका छन्,” नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।
यसअघि, छत्रदेव गाउँपालिकामा कार्यरत रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ४,४७,५०० रुपैयाँको भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। धनुषाको बटेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा आफ्नै कर्मचारीहरूबाट आक्रोशित भएर जोशीमाथि हातपातसमेत भएको थियो।
स्थानियहरूले पटक–पटक भ्रष्टाचारको आरोप लाग्दै आएका जोशीलाई तत्काल हटाउन माग गर्दै सम्बन्धित निकायसमक्ष दबाब दिन थालेका छन्। “यस्ता विवादास्पद अधिकृतलाई यत्रतत्र नियुक्ति दिनु विकास विरोधी प्रवृत्ति हो,” स्थानीय एक नेताले भने।
अब प्रश्न उठ्छ— पटक–पटक विवादमा तानिएका जोशीलाई किन निरन्तर जिम्मेवारी दिइन्छ? के प्रशासन भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूलाई जोगाउन तल्लीन छ? स्थानीय तहलाई पारदर्शी बनाउन सरकार कति संवेदनशील छ?
यस विषयमा जोशी स्वयं वा सम्बन्धित निकायको प्रतिक्रिया आएमा समाचार अपडेट गरिनेछ।