शरीरमा क्यान्सर छ/छैन, भए कुन ठाउँमा छ भन्ने पत्ता लगाउन पेट स्क्यान गर्नुपर्ने हुन्छ। हालसम्म नेपालमा तीन वटा निजी संस्थाले मात्रै पेट स्क्यान सेवा दिँदै आएका छन्। क्यान्सरको शंका लागेका व्यक्ति र आफूलाई क्यान्सर भए/नभएको परीक्षण गरी ढुक्क हुन समेत पेट स्क्यान सेवा आवश्यक हुन्छ।
क्यान्सर रोकथाम तथा नियन्त्रणमा पेट स्क्यानको महत्व धेरै हुन्छ।
पेट स्क्यानका लागि आवश्यक तत्व ‘आइसोटोप’ नेपालमा उत्पादन हुँदैन। आइसोटोप भारतबाट ल्याएर पेट स्क्यान गर्दा धेरै महँगो भइरहेको र प्रभावकारी समेत नभएको विज्ञहरू बताउँछन्। भारतका अस्पतालमा २०/२५ हजार भारुमा हुने परीक्षण नेपालमा ७५ हजारसम्म लिने गरिन्छ।
‘आइसोटोप’ नेपालमै उत्पादन भए यसको परीक्षण निकै सस्तो हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल बताउँछन् । नेपालमा सरकारी स्तरबाट भरतपुर क्यान्सर अस्पतालले आइसोटोप उत्पादनका लागि साइक्लोट्रोन मेसिनका साथै पेट स्क्यान मेसिन समेत ल्याउन लागेको डा. पोखरेलले जानकारी दिए।
स्रोत व्यवस्थापन भइसकेकाले चाँडै नै साइक्लोट्रोन मेसिनसहित पेट स्क्यान सेवा सुरु हुने विश्वास स्वास्थ्य सचिव डा. पोखरेलको छ। तर करिब एक दशक अघिदेखि नै बजेट छुट्याइने तर मेसिन नआएर बजेट फ्रिज हुँदै आएको छ।
यसैबीच निजी क्षेत्रबाट पनि साइक्लोट्रोन प्रविधि स्थापना गर्न लागिएको छ। अम्बर अर्बुद सेवाका अध्यक्ष धनबहादुर शेरचनको अनुवाइमा धादिङमा साइक्लोट्रोन मेसिन स्थापना गर्न लागिएको हो। मेटा हेल्थकेयर नेपाल, युनाइटेड इमेजिङ हेल्थकेयर र लङ्जेभस बिमटेक कम्पनी बीचको सहकार्यमा यो प्रविधि स्थापना गर्न लागिएको शेरचनले जानकारी दिए।
अबको ९ महिनामा उत्पादन आउने गरी योजना अगाडि बढाइने शेरचनको दाबी छ। जग्गासहित गरेर करिब एक अर्ब लगानी हुने आकलन गरिएको शेरचनले बताए।
के हो ‘साइक्लोट्रोन’ प्रविधि ?
बायोमेडिकल इन्जिनियर हरिराम दवाडीका अनुसार साइक्लोट्रोन भनेको एक विशेष खालको मेसिन हो। यसले क्यान्सरको पहिचान गर्न गरिने पेट स्क्यानका लागि आवश्यक तत्व उत्पादन गर्छ। पेट स्क्यान गर्दा मानिसको शरीरमा एक खालको झोल कुरा राखिन्छ। यो आइसोटोप मिसाइएको एक विशेष खालको झोल हो, जसलाई फ्लोरो अक्साइड ग्लुकोज(एफडीजी) भनिन्छ।
सुरुमा फ्लोरिन(१८) आइसोटोप उत्पादन गरी त्यसलाई ग्लुकोजमा मिसाएर शरीरमा राख्नका लागि तयारी ‘एफडीजी’ बनाइने दवाडीले बताए।
सुईको माध्यमबाट एफडीजी शरीरमा हालिन्छ। त्यसपछि जाँच गर्ने व्यक्तिलाई पेट स्क्यान मेसिनमा राखिन्छ। यदि शरीरको कुनै भागमा कोषका आसामान्य गतिविधि रहेछ भने त्यो मेसिनले देखाउँछ र क्यान्सर पहिचान हुन्छ।
यो तत्वको पूर्ण प्रभावकारिता उत्पादन भएको १०८ मिनेटसम्म मात्रै रहन्छ। त्यो भन्दा पछि काम नै नलाग्ने त होइन तर प्रत्येक १०८ मिनेटमा यसको प्रभावकारिता ह्रास हुने दवाडी बताउँछन्।
भारतबाट एफडीजी मगाएर परीक्षण गर्दा त्यो कति प्रभावकारी हुन्छ भन्ने टड्कारो प्रश्न रहेको दवाडी बताउँछन्।
कहिलेकाहीँ नेपालमा पेट स्क्यान गर्दा क्यान्सर नदेखिएको तर भारतमा गएर परीक्षण गर्दा देखिएको भन्ने बिरामी पनि भेटिन्छ। नेपालका चिकित्सकमा त्यो दक्षता नभएर वा यहाँका मेसिन राम्रो नभएरभन्दा पनि पेट स्क्यानमा प्रयोग हुने आइसोटोपकै प्रभावकारितामा ह्रास आएर त्यस्तो हुने गरेको दवाडीको भनाइ छ।
नेपालमै आइसोटोप उत्पादन भएपछि त्यस्ता समस्या कम हुने उनले बताए।
दवाडीका अनुसार यसको एक साइकल ४ देखि ५ घण्टाको हुन्छ। दिनमा ३ साइकलसम्म सञ्चालन गर्न मिल्छ। एक साइकलमा १० क्यूरी एफडीजी उत्पादन हुन्छ।
के छ बिरामीलाई फाइदा ?
साइक्लोट्रोन प्रविधि सञ्चालनका लागि स्थान छनोट भई चाँडै नै स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागमा प्रक्रिया अगाडि बढाउन लागिएको शेरचनले जानकारी दिए। उनका अनुसार धादिङको धुनिबेसी नगरपालिकामा उक्त प्रविधि सञ्चालनमा ल्याउन लागिएको छ।
आइसोटोप नेपालमै उत्पादन भइसक्दा अन्य थप ५/६ वटा संस्थाले पेट स्क्यान सेवा सुरु गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ।
आफूहरूले उत्पादन थालेपछि पेट स्क्यानका लागि नेपाली भारत गइरहनुपर्ने अवस्थाको अन्त्य हुने दाबी शेरचनले गरे। पेट स्क्यान गर्दा अहिले लिने गरिएको भन्दा ३५ देखि ४० प्रतिशतसम्म शुल्क घट्ने अनुमान छ। पछि धेरै मात्रामा उत्पादन हुन थालेपछि मूल्य झन् घटाइँदै जाने शेरचनले बताए।
‘एक त यहीँ सस्तोमा पेट स्क्यान सेवा उपलब्ध हुने भयो,’ शेरचनले भने, ‘अर्को भारत जान-आउन र उता गएर बस्न लाग्ने खर्च समेत बच्ने हुँदा नेपालीलाई दोहोरो फाइदा हुन्छ।’
सरकारी स्तरबाट साइक्लोट्रोन प्रविधि सञ्चालनमा आए भारतमा भन्दा सस्तोमा नेपालमै पेट स्क्यान सेवा उपलब्ध हुने स्वस्थ्य सचिव डा. पोखरेलको भनाइ छ।
सस्तोमै नेपालमा पेट क्यान सेवा प्राप्त हुँदा समयमै क्यान्सर पत्ता लगाउन र समयमै उपचार गर्न समेत सहयोग पुग्ने पोखरेलले बताए।
नेपालमा पनि क्यान्सरका लागि पेट स्क्यान सेवा अत्यावश्यक रहेको भक्तपुर क्यान्सर अस्पतालका रेडियोजोली विभाग प्रमुख डा. सुरेश महर्जन बताउँछन् ।
अहिले भारतमा पेट स्क्यानबिना क्यान्सरको उपचार नै नहुने अवस्था रहेकोमा नेपालमा सिटी स्क्यान, एमआरआईकै आधारमा उपचार भइरहेको डा. महर्जनले जानकारी दिए ।
‘साइक्लोट्रोन स्थापना भए त्यसले पेट स्क्यान सेवा सहज बनाउँछ,’ डा. महर्जन भन्छन्, ‘सरकारले पहिल्यै बजेट छुट्याएको हो तर अझै सेवा सुरु हुन सकेको छैन ।’
साइक्लोट्रोन स्थापना जसले गरे पनि नेपालमा पेट स्क्यान सेवालाई सहज बनाउने उनले बताए ।