२०८२ बैशाख १४ गते, आईतवार ०४:५२




नेपालगञ्ज । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु भएको चार दिनमै बाँके जिल्लामा ६५ प्रतिशत किशोरीलाई खोप लगाइसकिएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत नेपालगञ्ज, कोहलपुर, खजुरा र जानकीमा चार दिनमा १५ हजार ८ सय ८३ जना किशोरीलाई एचपिभी खोप लगाइएको छ ।

उहाँले ती चार पालिकामा लक्षित उमेर समूहका २४ हजार ५ सय ८९ किशोरीहरू मध्ये १५ हजार ८ सय ८३ जना अर्थात् ६५ प्रतिशतलाई खोप लगाइसकिएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकामा ६ हजार ६९ जना, कोहलपुरमा ५ हजार ८१ जना, खजुरामा ३ हजार ५७ जना र जानकीमा १ हजार ६ सय ७६ जना बालिकालाई एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो ।

जिल्लाका करिब ३७ हजार किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्यका साथ माघ २२ गतेबाट खोप अभियान सुरु गरिएको थियो । फागुन ६ गतेसम्म सञ्चालन गरिने सो अभियान अन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्