डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन
कपालका लागि सही स्याम्पु छनोट गर्नु एकदमै जरुरी हुन्छ । किनकी राम्रो स्याम्पुले कपाल झर्ने समस्या र चायाको समस्याबाट छुटकारा दिन्छ । साथै कपालको अन्य धेरै समस्याको समाधान गर्न सक्छ ।
राम्रो स्यापुको प्रयोगले सिल्की र चम्किलो कपाल पनि प्राप्त गर्न सकिन्छ । तर, कहिलेकाहीँ गलत स्याम्पुको छनोट र प्रयोगले कपाल सुन्दर र बाक्लो हुनुको सट्टा रुखो र पातलो हुन्छ । यसमा पाइने रसायनले कपाललाई हानि पुर्याउँछ । त्यसैले, आफ्नो कपालको बनावट अनुसार सही स्याम्पू छनोट गर्नु धेरै महत्त्वपूर्ण हुन्छ।
बजारमा धेरै स्याम्पू उपलब्ध छन्, जसले कपालको समस्या समाधान गर्ने दाबी गर्दछ । तर, तीमध्ये आफ्ना लागि कुन स्याम्पु उपयोगी हुन्छ त्यही छनोट गर्नुपर्छ ।
स्याम्पू किन्दा ध्यान दिनुपर्ने कुराहरु
स्याम्पू किन्दा सबैभन्दा पहिले कपालको प्रकारलाई ध्यानमा राख्नुपर्छ । उदाहरणका लागि, यदि कपाल तैलीय छ भने, यस्तो स्याम्पू प्रयोग गर्नुपर्छ जसले अतिरिक्त तेल हटाएर प्रकृतिक तेललाई नहटाई कपाललाई सुरक्षा प्रदान गरोस् ।
स्याम्पू किन्दा जसरी कपालको प्रकारलाई ध्यान दिइन्छ त्यसरी नै टाउकाको छालाको अवस्थालाई पनि ध्यान दिनुपर्छ । यदि टाउकाको चाया पर्ने समस्या छ भने पाइरिथियोन, केटोकोनाजोल वा सेलिसिलिक एसिड जस्ता सामग्रीहरू भएका स्याम्पू छनौट गर्नुपर्छ । जसले संवेदनशील टाउकोमा जलन हुनबाट जोगाउँछ ।
स्याम्पू किन्दा कपालको प्रकार मात्र नभई कपालको समस्यालाई पनि ध्यानमा राख्नुपर्छ । यदि कपाल धेरै रुखो भएको छ भने, रुखोपन नियन्त्रण गर्न आर्गन तेल वा केराटिनजस्ता सामग्रीहरू भएको स्याम्पू छनौट गर्नुपर्छ।
स्याम्पू किन्नुअघि एक पटक लेबल पढ्नुपर्छ । पीएच सन्तुलित स्याम्पू प्रयोग गर्नुपर्छ । यसले टाउकाको प्राकृतिक ओसिलोपन कायम राख्न मद्दत गर्छ, जुन टाउको र कपालका लागि स्वस्थ्यकर हुन्छ।
उच्च अल्कोहल सामग्री भएको स्याम्पू किन्नु हुँदैन। प्याराबेन, सल्फेड नभएको स्याम्पु किन्नु राम्रो हुन्छ ।
कस्तो कपालका लागि कस्तो स्याम्पू ?
सुख्खा कपालका लागि
खानामा पोषक तत्वको कमी, बढ्दो प्रदूषण, बदलिँदो मौसमको प्रभाव, विभिन्न हिटिङ मेसिनको कपालमा अत्याधिक प्रयोग र कपालमा तेल नलगाउने जस्ता कारणले कपाल रुखो र क्षतिग्रस्त हुन्छ । यस्तो रुखो कपालको समस्यालाई नियन्त्रण गर्न केराटिन स्याम्पू प्रयोग गर्नुपर्छ ।
केराटिन स्याम्पूमा भएको आर्गन तेलले कपाललाई पोषण दिन्छ र यसलाई प्राकृतिक चमक दिन मद्दत गर्छ ।
चिल्लो कपालका लागि
कपाल र टाउको प्राकृतिक रूपमा तैलीय हुनु महत्त्वपूर्ण हुन्छ । तर अत्यधिक तेलले कपाललाई च्याप–च्याप बनाउँछ । साथै धेरै तेलले डन्डीफोरको समस्या पनि हुनसक्छ। त्यसैले यस्ता समस्या भएमा टि ट्रि आयल पाइरिथियोन, चारकोल वा सेलिसिलिक एसिडजस्ता एक्सफोलिएटिङ सामग्रीहरू समावेश भएका स्याम्पू छनोट गर्नुपर्छ ।
चाया पर्ने समस्याका लागि
कतिपयको कपलामा चाँया पर्ने समस्या हुन्छ । त्यस्ता व्यक्तिले एन्टी–ड्यान्ड्रफ स्याम्पूको प्रयोग गर्नुपर्छ । बजारमा विभिन्न प्रकारका एन्टी–ड्यान्ड्रफ स्याम्पू उपलब्ध छन् ।
त्यसमध्ये आफूलाई उपयुक्त हुने स्याम्पू छनोट गर्नुपर्छ । एन्टी–ड्यान्ड्रफ स्याम्पूमा हुने टी ट्रि आयलले टाउको र कपालको आद्र्रता सन्तुलनमा बाधा नगरी चाया कम गर्न मद्दत गर्छ ।
हाँगा फाट्ने समस्याका लागि
विशेष गरी महिलाहरुको कपालमा हाँगा फाट्ने समस्या हुन्छ । यस्तो समस्या भएमा सोया प्रोटिनयुक्त र सल्फेट फ्रि स्याम्पू प्रयोग गर्नुपर्छ । स्याम्पूमा हुने सोया प्रोटिनले कपाललाई बलियो बनाउँछ । सल्फेट फ्रि भएको कारण कपाललाई पोषण दिन्छ र क्षतिबाट बचाउँछ।
कपाल झर्ने समस्याका लागि
कपाल झर्ने समस्या भएकाहरुले एन्टीहेयरफल स्याम्पू प्रयोग गर्नुपर्छ । बजारमा विभिन्न ब्रान्डमा एन्टी–हेयरफल स्याम्पू उपलब्ध छन् । त्यसमा रोजमेरी, प्याज र बायोटिनको गुण भएका स्याम्पु छनोट गर्नुपर्छ । प्याज, रोजमेरी र बायोटिनको गुणले कपाल बलियो बनाउँछ र कपाल झर्नबाट रोक्छ।
स्याम्पू लगाउने राम्रो तरिका
स्याम्पूलाई सिधै कपालमा लगाउनु हुँदैन यसले कपाललाई हानी पुर्याउन सक्छ । कपालमा सीधा स्याम्पु लगाउनुको सट्टा, पहिले पानीमा स्याम्पु मिसाउनुपर्छ अनि मात्र त्यसलाई कपालमा लगाउनु पर्छ । यसो गर्नाले स्याम्पुमा रहेको केमिकल पातलो हुन्छ, जसले कपालमा खासै नराम्रो प्रभाव पार्दैन।
कपाल धुन मनतातो पानी प्रयोग गर्नुपर्छ । धेरै तातो पानीले कपाललाई सुख्खा बनाउँछ र टाउकोमा क्षति पुर्याउँछ । पानीले कपाललाई भिजाएर त्यसपछि स्याम्पु लगाएर टाउकोमा बिस्तारै मसाज गर्नुपर्छ । यसले रक्तसञ्चार बढाउँछ र कपालको जरा बलियो बनाउँछ।
साथै कपालमा स्याम्पू लगाउनुअघि तेल लगाउनुपर्छ । यसो गर्नाले तेलले स्याम्पूमा रहेका केही कडा रसायनहरूलाई नरम बनाउँछ, जसले कपालमा नराम्रो असर गर्दैन ।
कपाललाई स्याम्पूले राम्ररी धोएपछि कन्डिसनर लगाउनुपर्छ । जसले कपाललाई नरम र मुलायम बनाउँछ । तर, कन्डिसनरलाई टाउकोको छालामा भने लगाउनु हुँदैन । कन्डिसनर लगाएर दुई मिनेट राखेपछि चिसो पानीले कपाल धुनुपर्छ ।